काठमाडौं । पर्यटन आगमनको मुख्य सिजन सुरु भएसँगै होटल तथा पर्यटन व्यवसायीहरू फेरि नयाँ संकटको सामना गर्न बाध्य भएका छन्। पछिल्लो समय अन्तर्राष्ट्रिय परिस्थितिका कारण ग्यास आपूर्तिमा देखिएको समस्या र बजारमा बढ्दो अनिश्चितताले व्यवसाय सञ्चालन गर्नै कठिन हुने अवस्था सिर्जना भएको व्यवसायीहरूले बताएका छन्।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालका अनुसार पर्यटनको मुख्य समयमै होटल व्यवसायीहरू अनेक चुनौतीसँग जुधिरहेका छन्। उनका अनुसार केही समयअघि भएको जेन जी आन्दोलन र प्रतिनिधिसभा निर्वाचनको प्रभावबाट व्यवसाय अझै पूर्ण रूपमा उकासिन नसकेको अवस्थामा अहिले फेरि ग्यास अभावको चिन्ताले व्यवसायीहरूलाई थप समस्यामा पारेको छ।
‘होटल तथा पर्यटन क्षेत्रमा दैनिक रूपमा प्रयोग हुने ग्यास नै अभाव हुन थालेपछि व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने चिन्ता बढेको छ,’ बरालले भने।
उनका अनुसार अहिलेको समय विशेषगरी भारतीय पर्यटक नेपाल आउने प्रमुख सिजन हो। भारतमा बढ्दो गर्मीका कारण धेरै भारतीय पर्यटक गर्मी छल्न नेपाल आउने गर्छन्। त्यससँगै नेपाली नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकहरूको घुमफिर पनि बढ्ने समय यही हो।
तर यही महत्वपूर्ण समयमा देखिएको संकटले पर्यटन व्यवसायलाई ठूलो असर पार्ने देखिएको उनले बताए।
बरालका अनुसार मध्यपूर्वमा भइरहेको इरान–इजरायल युद्धको प्रभाव नेपालसम्म परेको छ। अन्तर्राष्ट्रिय तनावका कारण आपूर्ति प्रणाली प्रभावित हुँदा देशभर ग्यास अभावको समस्या देखिन थालेको र त्यसको प्रत्यक्ष असर होटल तथा पर्यटन व्यवसायमा परेको छ।

त्यति मात्र नभएर मध्यपुर्ब र युरोपबाट आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले समेत पछिल्लो समय धमाधम होटेल बुकिङ क्यान्सिल गरिरहँदा झनै अन्योलता थपिएको व्यावसायिको भनाई छ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंले होटल तथा पर्यटन क्षेत्रका लागि छुट्टै व्यवस्था गरेर पर्याप्त ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
होटल सञ्चालनका लागि ग्यास अत्यावश्यक हुने भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर आपूर्ति सुनिश्चित गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ।
बरालका अनुसार जेन जी आन्दोलनको समयमा नै व्यवसाय प्रभावित भएका होटल व्यवसायीहरू अहिले फेरि नयाँ संकटले थप चिन्तित भएका छन्। ‘पर्यटन आउने मुख्य समयमा यस्तो समस्या देखिनु व्यवसायका लागि निकै पीडादायी भएको छ,’ उनले भने।
दुई तिहाइको सरकार बनेको अवस्थामा पनि व्यवसायी र सर्वसाधारणले स्थिर वातावरणको अपेक्षा गरेको भए पनि उल्टै नयाँ–नयाँ समस्या थपिँदै गएको उनले बताए।
त्यसैले पर्यटन क्षेत्रलाई असर पर्ने अवस्था आउन नदिन सरकारले तत्काल पहल गर्नुपर्ने व्यवसायीहरूको माग छ।
उनका अनुसार समयमै समाधान खोज्न नसके यसले होटल उद्योगसँगै समग्र पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने सम्भावना रहेको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्