काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट विश्राम लिनुपर्ने बताएका छन् ।
थापाले ओलीले अब सम्मानपूर्वक अध्यक्ष छोडेर विश्राम लिनुपर्ने स्पष्ट धारणा राखेका हुन् । ‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ । यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुनेछ । हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत के छ भने ओलीजीले अब बिश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ ।’
दुईपटक पार्टीको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओली पुनः नेतृत्व नछोड्ने पक्षमा छन् । जेनजी आन्दोलन पछि राजनैतिक दलका पुराना नेताहरुले नयाँलाई पद छोडिदिनुपर्ने दलहरुभित्रै तीव्र माग हुँदै आएको छ । बारम्बार उच्च पदमा रहेर नयाँलाई मौका नदिएका दलका शीर्ष नेताहरुप्रति तीव्र असन्तुष्टि बढ्ेका बेला एमालेमा पनि ओलीले विश्राम लिनुपर्ने माग उठिरहेको छ । ‘अब उहाँले प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ,’ थापाले भने ।
थापाका अनुसार, ओलीले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्न उद्दत छन् । ‘उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो । यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ, र पार्टीको सान्दर्भिकता नै घटाउँछ,’ नेता थापाले भने ।
थापाले नेपाली कम्युनिस्ट आन्दोलनका चार प्रमुख नेताहरूको सन्दर्भ दिँदै भने,‘नेपालका कम्युनिस्ट आन्दोलनका चार उचाइमा रहेका व्यक्ति हुन्—पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओली । पुष्पलाल पार्टीका संस्थापक भएकाले महान् नेता हुन । मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण नेता हुन् । मदन भण्डारी विचारका नेता हुन्, जसले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याए । र केपी ओली पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता हुन् ।’
पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता भनेर चिनिएका उनै ओली मूल विशेषतालाई नै त्यागेर उल्टो बाटोमा लागेको थापाको आरोप छ । थापाले भने, ‘जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ । ओलीजीले अहिले आफ्नै विशेषता लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ ।’
उनले ओलीको विकल्प आफूहरुले दिने उल्लेख गर्दै भने, ‘कुनैबेला ओलीजीको अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो तर त्यो सम्भव भयो । अहिले पनि नयाँ नेतृत्व सम्भव छ । हामी विकल्प दिन्छौं र पार्टीलाई जनताको बहुदलीय जनवादको मान्यताअनुसार अगाडि बढाउँछौं।’ एमालेभित्र संस्थापन र विस्थापनजस्ता प्रवृत्तिहरू हटाउनुपर्ने, पार्टीमा सबैको सम्मान हुने, कार्यकर्ताहरू सार्वभौम हुने वातावरण बनाउनुपर्नेमा थापाले जोड दिए । नेतृत्व परिवर्तन सहज ढङ्गले हुन सक्छ भन्ने विश्वासका साथ अघि बढेको थापाको पनि भनाइ छ ।
यस्तै, पूर्वराष्ट्रपति समेत रहेकी विद्या भण्डारीको सदस्यता विवादबारे उनले टिप्पणी गर्दै भण्डारीको सदस्यता विवादबारे पार्टीको निर्णय ‘विधानविपरीत’ रहेको बताए । ‘पार्टी विधानको धारा ९ अनुसार, कुनै विशेष जिम्मेवारीमा पठाइएको व्यक्तिको सदस्यता स्थगनको अवस्थामा रहन्छ र फर्किएपछि स्वतः सक्रिय हुन्छ । त्यसैले विद्या भण्डारीको सदस्यता नवीकरण मिलेन भन्ने निर्णय गलत छ,’ उनले भने, ‘एमालेजस्तो लोकतान्त्रिक पार्टीले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिनु गलत निर्णय हो । यस्तो निर्णयले पार्टीमाथि धब्बा लगाएको छ र लोकतान्त्रिक मूल्यमा प्रहार गरेको छ ।’
थापाले एमालेलाई फेरि जनताको आशा र विश्वासको पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याए ।






कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्