images
images
images

शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न कस्तो छ प्राधिकरणको पूर्वतयारी ?

images
images
images

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उहाँले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन् ।

सरकार एक्लैले यो चुनौती व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, संयुक्त राष्ट्र सङ्घीय निकाय, सञ्चार जगत्, स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रीच बलियो साझेदारी आवश्यक भएको बताए । ‘राहत मौज्दात, जीवन रक्षक सामग्री, न्यानो कपडा र खाद्यान्न भण्डारणमा साझेदारितालाई प्रोत्साहन गर्नुपर्छ’, उनले भने।

images

गृहमन्त्री अर्यालले शीतलहर र हिमपातजस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई वैज्ञानिक र प्रभावकारी ढङ्गबाट व्यवस्थापन गर्ने उद्देश्यले पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना जारी गरिएको स्पष्ट पारे । ‘सुरक्षा, जीविकोपार्जन, स्वास्थ्य सेवालगायत सूचकमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन् । मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व हो, प्राधिकरणको नेतृत्वमा जारी भएको कार्ययोजना कार्यान्वयनमा तीनै तह, गैरसरकारी संस्था, नागरिक समाजको भूमिका उत्तिकै महत्वपूर्ण छ ।’

प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले हिमपात र शीतलहरबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले दुई कार्ययोजना ल्याएको बताए । ‘सरोकारवालासँगको छलफलपछि तयार गरिएको यो कार्ययोजना मार्गदर्शन हो, यसआधारमा जिल्ला र स्थानीयस्तरमा योजना बनाउन सकिन्छ’, उनले भने। प्रमुख भट्टले शीतलहर र हिमपातबाट हुने मानवीय क्षति शून्य बनाउने जिम्मेवारी पूरा गर्नेगरी पूर्वतयारी र प्रतिकार्य गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे ।

पूर्वतयारी र प्रतिकार्यमा प्रजिअ सक्रिय

‘भर्चुअल’ माध्यमबाट छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारीहरुले शीतलहर र हिमपातको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरिएको जानकारी दिए । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शीतलहरबाट दुई हजार आठ सय ७७ घरपरिवार प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिँदै प्रभावितलाई कम्बल र दाउरा वितरण गर्ने तयारी गरिएको बताए ।

‘वन क्षेत्र कम भएकाले दाउराको अभाव छ, जाडोमा ‘टायर’ बाल्ने चलन रहेछ, यसपटक टायरको बिकल्प दिनेछौँ’ । शीतलहर र बाक्लो हुस्सुका हुनसक्ने सडक दुर्घटना रोक्न विशेष अभियान सञ्चालन गर्ने उनको भनाइ छ । विगतमा शीतलहरबाट बच्नका लागि मादक पदार्थ र लागुऔषध सेवन गर्ने गरेका पाइएको उल्लेख गर्दै उनले यस वर्ष यही मङ्सिर १५ देखि त्यसविरुद्ध पनि अभियान सञ्चालन गरिने बताए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शीतलहरबाट प्रभावित हुनसक्ने सङ्ख्या पहिचान गर्ने र स्थानीय कार्ययोजना निर्माणको काम थालिएको बताए । ‘डिभिजन वन कार्यालयको सहयोग र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा दाउरा वितरण गर्ने तथा राजमार्गमा सवारी दुर्घटना हुन नदिन सचेतना कार्यक्रम गर्ने तयारी गरेका छौँ’, उनले भने।

यस्तै, मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिमपातबाट जिल्लाको पर्यटन व्यवसाय प्रभावित हुने जनाउँदै पर्यटकलाई पथप्रदर्शन बिना त्यस्ता क्षेत्रमा जान नदिइने तयारी गरिएको बताए । ‘मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ हो, हिमपातका समयमा यहाँका स्थानीय प्रायः जिल्ला बाहिर रहने गरेका छन्, हिमपातमा फसेका पर्यटकको उद्धारलाई नै प्राथमिकता दिनुपर्छ’, उनले भने ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले जिल्लाको ७० प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने जानकारी दिँदै हिमपात पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिएको बताए ।

हिमपातबाट २९ र शीतलहरबाट २१ जिल्ला प्रभावित हुने

सरकारले हिउँदका महिनामा हिमाली तथा उच्च पहाडी र तराई/मधेसका जिल्लामा हुने हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ जारी गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिमरुप दिएको हो ।

कार्ययोजनामा हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र हिमपातबाट तराई/मधेसका २१ जिल्ला प्रभावित हुनसक्ने औँल्याइएको छ। कार्ययोजनामा ती जिल्लामा विशेष सावधानी र हिमपात तथा शीतलहरबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्न विशेष रणनीतिक कार्य समावेश गरिएको छ । सरकारले हिमपात र शीतलहरबाट हुनसक्ने सम्भावित क्षति तथा जनजीवनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय कार्य योजना जारी गर्न लागेको हो। प्राधिकरणका अनुसार हिमाली तथा उच्च पहाडी जिल्लामा सामान्यतयः मङ्सिरदेखि फागुनसम्म भारी हिमपात र तराई/मधेसका जिल्लामा शितलहरको बढी प्रभाव हुने गरेको छ ।

कोशी, मधेस, गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु शीतलहरबाट बढी प्रभावित हुने अनुमान गरिएको छ। कोशीका झापा, सुनसरी र मोरङ, मधेसका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, गण्डकीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शीतलहको प्रभाव पर्नेछ ।

उदयपुर, मकवानपुर, सिन्धुली र सुर्खेतमा पनि शीतलहरको सामन्य प्रभाव पर्न सक्ने अनुमान छ। कार्ययोजनाअनुसार हिमपातबाट कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी जिल्ला बढी प्रभावित हुने अनुमान छ। कोशीको ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, र भोजपुरको माथिल्लो क्षेत्र बढी प्रभावित हुने आकलन गरिएको छ । यस्तै बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ, गण्डकीको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ र कास्की तथा लुम्बिनीको रुकुमपूर्वमा हिमपातको प्रभाव पर्नेछ ।

कर्णालीको डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेलधुरा जिल्ला हिमपातबाट बढी प्रभावित हुने आकलन गरिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्