images images
images images
images

विदेश पठाउनु भनेको केवल एक विद्यार्थीलाई टिकट काटिदिनु मात्र होइन : महेशबाबु तिमल्सिना (अन्तर्वार्ता)

images
images

काठमाडाैं । पछिल्लो समय बाहिर अध्ययन गर्न जानेको संख्या बढ्दो छ। सन् २००७ बाट विद्यार्थीहरुलाई सुरक्षित र भरपर्दो रुपमा गन्तब्यमा पुर्‍याउँदै आएको कंगारु एजुकेशन फाउन्डेसको आफ्नै इतिहास छ । किन कंगारू एजुकेशन फाउन्डेसन नै राेज्ने ? केके छन् सुविधा,  विद्यार्थीहरुले पढ्न जान ध्यानुपर्ने कुरा, तयारी, भिसा प्रक्रिया लगायत विविध विषयमा कंगारु एजुकेशन फाउन्डेसनका कार्यकारी अधिकृत (सीईओ) महेशबाबु तिमल्सिनासँग कर्पोरेट समाचारका लागि गरिएको कुराकानीको सम्पादित अंशः

कंगारु एजुकेशन फाउन्डेसन कहिलेबाट सञ्चालनमा आयो,यसको उदेश्य र अहिलेको अवस्था बारे जानकारी गराइदिनुन ?

images

कंगारु एजुकेशन फाउन्डेसनको स्थापना सन् २००७ मा विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई सही र भरोसायोग्य परामर्श सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो। हाम्रो मुख्य काम विद्यार्थीलाई अंग्रेजी तयारी गराउने, त्यसपछि टेस्ट रिजल्ट आएपछि भिसा प्रक्रियामा सहयोग गर्ने हो। अस्ट्रेलिया सहित विभिन्न देशका विश्वविद्यालयसँग अधिकारिक रूपमा काम गर्न थालेको धेरै समय भइसकेको छ। म व्यक्तिगत रूपमा यो क्षेत्रमा सन् २००१ देखि सक्रिय छु।

हामीले संस्था सुरु गर्दा नेपालमा मात्र १०–१५ वटा कन्सल्टेन्सी थिए। इन्टरनेटको पहुँच सीमित थियो, र विश्वविद्यालयहरूसँग सम्पर्क गर्दा महिनौँसम्म पत्र कुरेर बस्नुपथ्र्यो। कलेज वा विश्वविद्यालयको अफर लेटर आउन पनि एक महिना लाग्थ्यो। त्यसबेला विद्यार्थीहरूलाई विदेश जाने देश, विश्वविद्यालय वा विषयबारे अहिले जत्तिकै विस्तृत जानकारी मिल्दैनथ्यो। सूचनाको अभाव भएकाले विद्यार्थीलाई निर्णय गर्न चुनौती थियो।

अर्को कुरा, त्यतिबेला कन्सल्टेन्सी सञ्चालनमा सरकारका स्पष्ट नियम–कानून थिएनन्। धेरैजसो कन्सल्टेन्सी मनमौजी ढंगले चल्थे। विश्वविद्यालय, दूतावास वा हाई कमिसनसँग प्रत्यक्ष रूपमा कुरा गर्न सजिलो थिएन, जसले भिसा नीति वा विद्यार्थी भर्ना प्रक्रियाबारे जानकारी पाउन कठिन थियो। त्यसैले त्यतिबेलाको सबैभन्दा ठूलो चुनौती ‘सूचनाको कमी’ नै थियो। तर कन्सल्टेन्सीको संख्या कम भएकाले सेवा दिन चाहनेका लागि राम्रो अवसर पनि थियो ।

नेपालबाट विदेश पढ्न जाने विद्यार्थी धेरै छन्। तर परामर्श लिएर गएकामध्ये धेरैले विदेश पुगेपछि पछुताएको, उचित सल्लाह नपाएको गुनासो गर्छन्, हैन?

विदेश पढ्न जाने निर्णय मूलतः विद्यार्थी र उनको परिवारको व्यक्तिगत निर्णय हो। कुन देश जाने, कस्तो स्तरको विश्वविद्यालय रोज्ने, कति खर्च गर्ने, र पढिसकेपछि कस्तो करिअर बन्ने यी सबै कुरामा विद्यार्थी र परिवार स्वयं पनि उत्तिकै सजग हुनुपर्छ, जति जिम्मेवारी कन्सल्टेन्सीको हुन्छ। हामीले विद्यार्थी र परामर्शदाताबीचको साझा समझदारीका आधारमा आवश्यक रिसर्च गरेर मात्रै सल्लाह दिने गर्छौं। विद्यार्थीका रुचि, योग्यता र भविष्यको योजनालाई ध्यानमा राखेर उपयुक्त विकल्प सुझाउने हाम्रो प्राथमिकता हुन्छ।

कहिलेकाहीँ विद्यार्थी गन्तव्य देश पुगेपछि वा कोर्स सुरु गरेपछि ‘यो कोर्स आफूलाई उपयुक्त रहेनछ’ भन्ने महसुस गर्न सक्छन्। यस्ता अवस्थामा हामीले सकेसम्म कोर्स परिवर्तन गरिदिने, समय थपिदिने वा अन्य आवश्यक सहयोग गर्ने प्रयास गर्छौं। तर, हामीले कहिल्यै विद्यार्थीलाई गलत सल्लाह वा प्रलोभनमा पारेर मार्गदर्शन गर्दैनौं।

अस्ट्रेलियामा रहेका हाम्रा तीन कार्यालयमार्फत विद्यार्थीलाई कुनै समस्या परे तत्कालाई सहयोग गर्ने व्यवस्था छ। समयमै सही जानकारी र समर्थन पाए विद्यार्थीहरू ठगिने वा पछुताउने अवस्था आउँदैन। त्यसैले, विदेश जान चाहनेले विश्वासिलो र जिम्मेवार कन्सल्टेन्सीबाट परामर्श लिएर गए भने दुःख पाउने अवस्थाको सिर्जना हुँदैन ।

तपाईंहरूले कुन–कुन देशमा विद्यार्थी पठाउनका लागि एमओयू साझेदारी गर्नुभएको छ?

हामीले प्रमुख रूपमा अंग्रेजी माध्यमका पाँच देशमा विद्यार्थी पठाउँदै आएका छौँ। जसमा अस्ट्रेलिया, अमेरिका, बेलायत,क्यानडा र न्युजिल्याण्ड रहेका छन् । यी सबै देशका विभिन्न कलेज तथा विश्वविद्यालयसँग एमओयू गरेर हामी नेपालमा उनका आधिकारिक प्रतिनिधि भएर काम गछौं। सेवा पहुँच विस्तारका लागि काठमाडौंको मुख्य कार्यालयका साथै पोखरा, चितवन, बुटवल, इटहरी, विराटनगर र दाङ  पनि शाखा कार्यालय सञ्चालन गर्दै आएका छौं भने  बिर्तामाेडमा शाखा थप्ने तयारीमा छाैं ।

गन्तव्य देशहरूले बेलाबेलामा भिसा नीति परिवर्तन गर्दा तपाईंहरूले विद्यार्थीलाई कसरी सहयोग गर्नुहुन्छ?

भिसा नीति परिवर्तन हुनु सम्बन्धित देशको शैक्षिक र आप्रवासन नीतिसँग जोडिएको विषय हो। उदाहरणका लागि, अस्ट्रेलियामा हरेक वर्ष आप्रवासनसम्बन्धी योजना सार्वजनिक हुन्छ, र त्यसकै आधारमा नयाँ नियम र निर्देशिका जारी गरिन्छन्। हामीले ती नियमलाई आधार बनाएर विद्यार्थीलाई आधिकारिक तथा सही जानकारी प्रदान गछौं ।

विश्वविद्यालयहरूसँग नजिकबाट समन्वय गर्ने भएकाले उनीहरूले पनि भिसा नीतिमा भएका परिवर्तनबारे समयमै सूचित गरिदिन्छन्। त्यस्तै, नेपाल र दिल्लीस्थित दूतावास (एम्बेसी) बाट पनि आवश्यक जानकारी लिई विद्यार्थीलाई मार्गदर्शन र सहजीकरण गर्दै आएका छौं।

नेपालमा कन्सल्टेन्सी धेरै छन्। सबैले आफूलाई उत्कृष्ट भन्छन्। सेवा लिन चाहनेले कुन कन्सल्टेन्सी राम्रो हो भनेर कसरी थाहा पाउने?

नेपालमा कन्सल्टेन्सीहरूको संख्या धेरै छ, तर कति सञ्चालनमा छन्, कति बन्द भइसके यसबारे सम्भवतः सरकारकहाँ पनि स्पष्ट तथ्यांक छैन। सरकारले अनुगमन र मूल्यांकन गर्ने प्रणाली नअपनाएकाले धेरै कन्सल्टेन्सी अहिले पनि ‘सेल्फ–रेगुलेसन’ अर्थात् आफ्नै आचारसंहिता र नैतिकतामा भर पर्न बाध्य छन्। इक्यान र ऐरिनेसन जस्ता संस्थाहरूले आचारसंहिता बनाएर सदस्य कन्सल्टेन्सीहरूलाई त्यसकै आधारमा व्यवसायिक सेवा दिन निर्देशन गरेका छन्। यस्ता संस्थामा आवद्ध कन्सल्टेन्सीले नियम पालना गर्ने भएकाले गलत परामर्श, झूटो प्रलोभन वा भिसा ग्यारेन्टीजस्ता समस्याको जोखिम निकै कम हुन्छ। कुनै गल्ती वा अनुशासनहीनता भए संघ–संस्थाले कारबाही पनि गर्छ।

हाम्रा लागि विदेश पठाउनु भनेको केवल एक विद्यार्थीलाई टिकट काटिदिनु मात्र होइन । उनको भविष्यसँग सम्बन्धित गम्भीर जिम्मेवारी हो। त्यसैले सही जानकारी, तथ्य र मार्गदर्शन प्रदान गर्ने सिद्धान्तमा हामी कहिल्यै समझौता गरेका छैनौँ। यही कारणले २० वर्षदेखि विद्यार्थी र अभिभावकले हाम्रो सेवामा विश्वास गर्दै आएका छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा विद्यार्थी र उनका अभिभावक स्वयम् पनि कन्सल्टेन्सी छान्दा सजग हुनुपर्छ। अहिले सूचना पर्याप्त छ कुन संस्था विश्वसनीय छ, कुन छैन । थाहा पाउन गाह्रो छैन। सही परामर्शदातालाई छानेमा समस्यामा पर्ने सम्भावना नगण्य हुन्छ।

अहिले सूचना धेरै भए पनि सबै सेवाग्राहीले सहज सेवा पाइरहेका छन् भन्ने ग्यारेन्टी छैन। धेरै विद्यार्थीले लिने शूल्कमा ठगिएको, लामो समयसम्म झुलाइएको, राम्रो स्थानमा नपठाइएको गुनासो गर्छन्, हैन?

विद्यार्थीले शूल्कमा ठगिने, लामो समयसम्म झुलाइने, वा राम्रो स्थानमा नपठाइने जस्ता समस्याहरू नआओस् भन्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा के भने कन्सल्टेन्सीले विद्यार्थीको तर्फबाट कलेजलाई तिर्ने शुल्क आफैं लिनु हुँदैन। सरकारले दिएको ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएपछि विद्यार्थीले आफ्नो शुल्क सीधै बैंकबाट गन्तव्य देशको कलेजको खातामा पठाउन पाउँछन्। आर्थिक कारोबार  सिधैं कलेजसँग गर्ने हो भने विद्यार्थी ठगिने सम्भावना नै हुँदैन। तर, धेरै विद्यार्थीलाई यो नियमबारे थाहा नहुन सक्छ, वा कतिपय कन्सल्टेन्सीहरूले यो जानकारी स्पष्ट रूपमा नदिएको हुन सक्छ। यस कुरामा कडाइ गरियो भने आर्थिक अनियमितताका घटना प्रायः हट्नेछन्।

नेपालबाट धेरै पैसा खर्च गरेर विदेश जाने विद्यार्थीहरू उतै पुगेपछि अलपत्र पर्नु, पढाइ सकेपछि पनि आफ्नाे विषयअनुसारको काम नपाउनुजस्ता गुनासो किन आउँछन् ?

यो समस्या धेरैजसो गलत सोचाइ र तयारीको अभावबाट सुरु हुन्छ। विदेश जाने विद्यार्थीले सबैभन्दा पहिले म कितिसम्म खर्च गर्न सक्छु? कुन देशको पढाइ मेरो क्षमता अनुसार पर्छ? भन्ने कुरा स्पष्ट बुझ्नुपर्छ। यहाँका धेरै कन्सल्टेन्सीले “उता गएपछि सबै ठिक हुन्छ” भनेर राम्रोसँग सलाह नदिई पठाइदिन्छन्। तर युकेजस्ता देशमा पढाइ निकै महँगो हुन्छ एक वर्षको पढाइमै ३० लाखभन्दा बढी खर्च लाग्न सक्छ। यदि विद्यार्थीले उता गएर काम गर्छु, त्यसैले फिस पनि सजिलै चल्छ भन्ने अपेक्षा राखेर गएको छ भने उताका कामका अवसरले त्यो अपेक्षा पुरा नदिँदा उनीहरू समस्यामा पर्छन्।
त्यसैले विदेश जाने निर्णय लिँदै गर्दा सबै तथ्य बुझेर, राम्रो ठाउँ र सही प्रक्रियाबाट गएमा यस्तो निराशा वा गुनासो आउने सम्भावना धेरै कम हुन्छ। अंग्रेजी भाषा कक्षा वा तयारीका विषयमा पनि कन्सल्टेन्सी आफ्नो प्रतिवद्धता इमानदार रूपमा पूरा गरेमा समस्या आउँदैन। हाम्रो संस्थाले त अधिकांश परामर्श सेवा निःशुल्क नै दिन्छ। हामीले केवल विश्वविद्यालयले तोकेको शुल्क मात्र लिन्छौं र विद्यार्थीलाई सकेसम्म कम खर्चमा, सही तरिकाले अघि बढ्न सहयोग गर्छौं।

हाम्रो कार्यशैलीमा सबैभन्दा महत्त्वपूर्ण कुरा प्रत्येक विद्यार्थीलाई छुट्टै केसको रूपमा लिएर काम गर्नु हो। सामान्य जानकारी दिनुभन्दा पनि उनीहरूको इच्छा, क्षमता, शैक्षिक पृष्ठभूमि, अंग्रेजी स्तर, र भविष्यमा आफूलाई कहाँ र कसरी देख्छन् भन्ने कुरा बुझेर मात्रै हामी परामर्श दिन्छौं। यसले विद्यार्थीलाई उपयुक्त निर्णय लिन सजिलो हुन्छ।

त्यसका साथै, काठमाडौं मात्र होइन, बाहिरका विभिन्न शहरहरूमा पनि हाम्रो शाखा कार्यालय भएकोले सेवामा पहुँच सहज छ। हाम्रा सबै परामर्शदाता सर्टिफाइड छन्,तीमध्ये धेरैजना विदेशमा पढेका अनुभवी व्यक्ति भएकाले विद्यार्थीले पहिलो दिनदेखि नै सही र विश्वसनीय मार्गदर्शन पाउँछन्। यसरी, उचित प्रक्रिया र प्रमाणित परामर्शदाताबाट सेवा लिने हो भने विद्यार्थीलाई ठगिने वा झुलाइने सम्भावना धेरै कम हुन्छ।

तपाईंहरु यो क्षेत्रमा दुई दशकदेखि हुनुहुन्छ। आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूलाई तपाईंहरू कसरी सहयोग गर्नुहुन्छ?

हामी त्यस्ता विद्यार्थीहरूलाई सकेसम्म अधिकतम छात्रवृत्ति दिलाउने प्रयास गर्छौं। यदि विद्यार्थी राम्रो पढ्न इच्छुक र योग्य छ भने, मेरिटको आधारमा कतिपय देशमा सय प्रतिशत छात्रवृत्तिमा जान सक्ने अवसर दिइन्छ।

विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउन सकून् भनेर हामी गाइड गर्ने, सहजीकरण गर्ने र परामर्श दिने काम गर्छौं। सरकारी छात्रवृत्तिका लागि पनि हामी परामर्श दिन्छौं। उदाहरणका लागि, अस्ट्रेलियाले हरेक वर्ष सरकारी छात्रवृत्ति पाउन इन्ट्रान्स परीक्षा लिन्छ, त्यतिबेला हामी यहाँका योग्य विद्यार्थीलाई तयारी गर्न आवश्यक परामर्श दिन्छौं। हाम्रो कन्सल्टेन्सी खर्च कम गर्न सकिने गरी गरिब र जेहेन्दार विद्यार्थीलाई टेस्ट तयारी, आयल्स, पीटिई जस्ता खर्चमा सहजीकरण पनि गर्छौं।

साथै, कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत ‘कंगारु डे’ जस्ता कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक सामग्री र खेलकुद गतिविधिमा सहयोग गर्दै आएका छौं। हामी विद्यार्थीहरूको भविष्यप्रति सचेत छौं र सकेसम्म सहयोग उपलब्ध गराउँछौं।

दक्ष जनशक्ति पलायन र युवा विद्यार्थीको विदेश मोह रोक्न कसले के गर्नुपर्छ? नेपालबाट भविष्य खोज्दै जाने विद्यार्थी रोक्न र विदेशबाट यहाँ पढ्न आउने वातावरण कसरी बनाउन सकिन्छ?

यो विषय व्यक्तिगत निर्णयसँग जोडिएको छ। कसैलाई पनि विदेश जान वा नजाने भनेर जबर्जस्ती रोक्न सकिँदैन, तर सुझाव दिन सकिन्छ। सबैभन्दा पहिले, नेपाली पाठ्यक्रमलाई सुधार्नुपर्छ। हालको शिक्षामा विद्यार्थी पाठ्यवस्तु याद गरेर मात्र राम्रो नम्बर ल्याउँछन्, तर व्यवहारिक ज्ञान कम पाइन्छ। प्राविधिक शिक्षा बाहेक, पढाइ अझै परीक्षा केन्द्रित छ। अहिलेको आवश्यकता व्यवहारिक शिक्षा र ज्ञानको मूल्य बढाउनु हो। विद्यार्थीले पढाइ सकेपछि रोजगारी पाउने वातावरण बनाउनु पर्छ। कलेज र विश्वविद्यालयले रोजगारदातासँग समन्वय गरेर पढाइ सकिँदै रोजगारी सुनिश्चित गर्न सके, विद्यार्थी विदेश जान कम रुचाउँछन्।

अहिले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपका कारण विद्यार्थी रिजल्ट पाउन ढिला हुन्छ, परीक्षा समयमै हुँदैन, र व्यवस्थापन अस्तव्यस्त छ। यसलाई राजनीतिक हस्तक्षेप मुक्त पारेर गुणस्तरीय शिक्षा सुधार गर्न सकिन्छ। यदि शिक्षा मन्त्रालय इच्छुक भए, यी सबै समस्या समाधान गर्न सम्भव छ।
शैक्षिक गुणस्तर सुधार भयो भने नेपाली विद्यार्थी विदेश  जाने छैनन् ।र विदेशी विद्यार्थी नेपालमा पढ्न आउने वातावरण पनि तयार हुन्छ।

यो हाम्रो शैक्षिक क्षेत्रको ठूलो आर्थिक सम्भावना पनि हो। कन्सल्टेन्सीहरूले विदेश पढाइको अनुभव र गुणस्तरलाई नेपालको शिक्षामा सुधारका लागि सुझाव दिन सक्छन्। साथै, विदेशमा अध्ययन सकेर सेटल भएका विद्यार्थीलाई यहाँ रोजगारी सुनिश्चित गर्न सहयोग गरे,देशको शैक्षिक र आर्थिक प्रणाली बलियो हुन्छ। कन्सल्टेन्सीलाई केवल विद्यार्थी पठाउने माध्यम नभई पुलको रूपमा प्रयोग गरे गुणस्तरीय शैक्षिक परामर्श र आर्थिक योगदान दुवै गर्न सकिन्छ।

images
images

प्रतिक्रिया दिनुहोस्