काठमाडाैं । उज्ज्वल कुमार श्रेष्ठ नेपालको प्रतिष्ठित औद्योगिक समूहहरूमध्ये एक पञ्चकन्या समूहलाई नयाँ पुस्ताको दृष्टिकोण, आधुनिक सोच र दिगो विकासको स्पष्ट रणनीतिसहित नेतृत्व गरिरहेका एक प्रभावशाली व्यवसायिक व्यक्तित्व हुन्। सन् २००७ मा पारिवारिक व्यवसायमा प्रवेश गरेदेखि नै उनले संस्थामा नयाँ ऊर्जा, अन्तर्राष्ट्रिय अनुभव र मूल्य–आधारित नेतृत्व संस्कृतिको विकास गरेका छन्।
उनको नेतृत्व यात्रा अत्यन्तै सरल र प्रेरणादायी छ। पञ्चकन्या समूहमा उनले स्टिल र प्लास्टिक्स डिभिजनका मार्केटिङ म्यानेजरका रूपमा आफ्नो औपचारिक व्यवसायिक यात्रा सुरु गरे। बिक्री रणनीति, बजार विस्तार र मानव– केन्द्रित नेतृत्वशैलीमार्फत उनले छोटो समयमा नै आफ्नै क्षमता प्रमाणित गरे।

पछिल्लो समय पञ्चकन्या ग्रुपले विभिन्न आरोह अवरोह पार गर्दै आइरहेको छ, अहिले ग्रुपले नयाँ बजारमा के ल्याउँदै छ, कस्तो रणनीति बनाउँछ भन्ने विषयमा कर्पोरेट यात्राका लागि उज्वल कुमार श्रेष्ठसँग गरिएको कुराकानी सम्पादित अंशः
पछिल्लो कोभिड–१९ पछिको अवस्थालाई हेर्दा देशको अर्थतन्त्र अझै सुस्त देखिन्छ । त्यसमा पनि जेन–जी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रमले निजी क्षेत्रको मनोबल र लगानीमा थप असर पारेको छ । एक व्यवसायीको दृष्टिकोणबाट अहिलेको आर्थिक र लगानी वातावरणलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ?
अहिले निजी क्षेत्रको समग्र मनोविज्ञान अर्थात् पर्ख र हेरको अवस्थामा छ । जेन–जी आन्दोलनपछि आएको राजनीतिक उथलपुथल, सरकार परिवर्तन र अन्तरिम सरकार गठनपछि नीति, प्रक्रिया र शासन व्यवस्थामा केही सुधार गर्ने प्रयासहरू भइरहेका छन् । तर व्यवसायीहरूका लागि सबैभन्दा ठूलो प्रश्न भनेको आगामी चुनाव समयमै हुन्छ कि हुँदैन, निष्पक्ष हुन्छ कि हुँदैन र सक्षम नेतृत्व आउँछ कि आउँदैन भन्ने हो । अहिले निजी क्षेत्रको ध्यान त्यतै केन्द्रित छ । किनभने राजनीतिक सुधारियो र स्थिर भयो भने निजी क्षेत्रको मनोबल बढेर आउँछ ।
अर्कोतर्फ नीति, कर प्रणाली र समग्र लगानी वातावरणबारे अझै पनि स्पष्टता नआएकाले अनिश्चयको अवस्था कायम छ । त्यसैले पहिलाभन्दा अहिले आर्थिक गतिविधि केही सुस्त भएको महसुस हुन्छ । जेन–जी आन्दोलनका क्रममा केही सरकारी तथा निजी संरचनामा क्षति पुगे पनि त्यसलाई म ठूलो मूल्य चुकाएको रूपमा हेर्दिनँ । नेपालमा लामो समयदेखि जमेको असन्तुष्टि-युवा, व्यवसायी र आम नागरिकमा रहेको फ्रस्ट्रेसन-एक किसिमको ‘बबल’ जस्तै थियो, जुन कुनै न कुनै बेला फुट्नैपथ्र्यो, र त्यो अहिले फुट्यो । अझ यो आन्दोलन लामो समयसम्म रहेन र छोटो समयमा धेरैलाई पाठ सिकाएर गएको छ ।

यसले पुराना र नयाँ राजनीतिक शक्तिहरूबीच सोच, बोली र व्यवहारमा पनि फरक देखाइदिएको छ । सुशासन, पारदर्शिता र समृद्धिका विषय अब बढी गम्भीर रूपमा उठ्न थालेका छन्, जसले निजी क्षेत्रमा पनि केही आशा जगाएको छ । त्यसैले अहिले व्यवसायीहरू ठूला नयाँ जोखिम लिनुभन्दा आफ्नो व्यवसाय र रोजगारीलाई कसरी टिकाइराख्ने, कसरी चलायमान बनाइराख्ने भन्नेमा केन्द्रित छन् । नीति र राजनीतिक स्थिरतामा स्पष्टता आएपछि मात्रै निजी क्षेत्रले फेरि आक्रामक रूपमा लगानी गर्ने वातावरण बन्नेछ भन्ने अपेक्षा छ ।
अहिलेको आर्थिक सुस्तता र लगानीको कमजोर वातावरणले पञ्चकन्या ग्रुपको व्यवसायमा कस्तो असर पारेको छ? विशेषगरी निर्माण सामग्री उत्पादनसँग जोडिएको तपाईंहरूको उद्योगले यो चरणलाई कसरी सामना गरिरहेको छ?
पञ्चकन्या ग्रुपको मुख्य व्यवसाय निर्माणसम्बन्धी सामग्रीको उत्पादन हो, र विकासोन्मुख देशमा यस्ता उद्योगहरूको माग प्रत्यक्ष रूपमा अर्थतन्त्र र सरकारी खर्चसँग जोडिएको हुन्छ। सरकारको पुँजीगत खर्च बढ्दा मात्र निर्माण गतिविधि बढ्छ र हाम्रो उत्पादनको खपत हुन्छ।
कोभिडपछि अर्थतन्त्र बिस्तारै सुधार हुँदै थियो, तर पछिल्ला राजनीतिक उथलपुथल, नीति अस्थिरता र जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको अवस्थाले लगानीको आत्मविश्वास फेरि कमजोर बनाइदियो। अहिले बजारमा न त घर निर्माणले गति लिएको छ, न त ठूला विकास आयोजनाहरू नै पर्याप्त चलिरहेका छन्। यसले निर्माण सामग्री उद्योगलाई सबैभन्दा बढी असर गरेको छ। संख्यात्मक रूपमा हेर्दा, करिब साढे दुई–तीन वर्षअघि (२०८० सालतिर) हाम्रो उद्योगको कुल बिक्री करिब ३०–३५ प्रतिशतले घटेको थियो, स्टिलजस्ता केही सेग्मेन्टमा त ५० प्रतिशतसम्म गिरावट आएको थियो।
त्यसपछि अघिल्लो आर्थिक वर्षमा करिब २० प्रतिशत सुधार आयो, तर हामी अझै पनि करिब १५ प्रतिशत नकारात्मकमै थियौं। चालु आर्थिक वर्षको पहिलो छ महिनामा हामी केही स्थिरताको दिशामा पुगेका थियौं तर पछिल्लो राजनीतिक परिवर्तनपछि फेरि करिब ५–१० प्रतिशतसम्म खस्किएका छौं। अहिले पनि हाम्रो कारोबार अघिल्लो वर्षको तुलनामा करिब ५–१० प्रतिशत माइनसमै छ।
यस्तो अवस्थामा हामीले ठूलो नयाँ लगानीभन्दा पनि लागत घटाउने, नगद प्रवाह जोगाउने, रोजगारी जोगाइराख्ने र उत्पादन निरन्तर चलाइराख्ने रणनीति लिएका छौं। साथै, एउटै क्षेत्रमा निर्भर नहुने गरी व्यवसाय विविधीकरणमा पनि ध्यान दिएका छौं, किनभने कठिन समयमै नयाँ अवसरहरू पनि जन्मिन्छन्। हामीलाई अझै आशा छ जसरी कोभिडपछि एकैचोटि बजारमा आएको थियो, अहिलेको यो ६–८ महिनाको सुस्ततापछि यदि स्थिर र विश्वसनीय सरकार बन्यो भने त्यस्तै दबिएको माग फेरि विस्तारै बाहिर आउनेछ।
तर यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको नीति र कर प्रणालीमा स्पष्टता र विश्वास हो। अहिले करको दायरा बढ्दै गएको छ, तर सरकारको खर्च र अर्थतन्त्रमा त्यसको प्रतिफल देखिँदैन। अर्कोतर्फ, कर फाइलिङ, अडिट र कागजी प्रक्रियाहरू अत्यन्तै झन्झटिलो र डर सिर्जना गर्ने खालका छन्। चार–पाँच वर्षसम्म कागजात राख्नुपर्ने, जुनसुकै बेला महालेखाले पुनः जाँच गर्न सक्ने अवस्थाले निजी क्षेत्रलाई अनावश्यक त्रासमा राखेको छ।
त्यसैले हाम्रो जोड फेसलेस, डिजिटल र पारदर्शी कर प्रणालीमा हुनुपर्छ भन्ने हो-जहाँ सबै कुरा अनलाइन होस्, व्यक्ति–व्यक्तिबीचको नेगोसिएसन नहोस्, गल्ती छ भने छिटो सच्याउने व्यवस्था होस्। सरकार निजी क्षेत्रको ‘साइलेन्ट पार्टनर हो ‘ हामीले कमाएको नाफाबाट उसले कर पाउँछ। त्यसैले उसले पनि प्रणाली सहज, पारदर्शी र व्यवसाय–मैत्री बनाउने जिम्मेवारी लिनुपर्छ।
यदि नीतिगत स्थिरता, पारदर्शिता र विश्वास कायम भयो भने पञ्चकन्या ग्रुपजस्ता उत्पादनमूलक उद्योगहरूले फेरि लगानी बढाउन र अर्थतन्त्र चलायमान बनाउन सक्नेछन्।
अहिले बैंकिङ प्रणालीमा प्रशस्त तरलता छ, तर निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको देखिन्छ। यो अवस्थाबाट अर्थतन्त्रलाई कसरी बाहिर निकाल्न सकिन्छ? लगानीको आत्मविश्वास फर्काउन के गर्नुपर्छ?
हो, अहिले बैंकिङ प्रणालीमा पर्याप्त मात्रामा पैसा थुप्रिएको छ, तर त्यो पैसा उत्पादनमूलक क्षेत्रमा जान सकेको छैन। यसको मुख्य कारण तरलता होइन, लगानीको आत्मविश्वासको कमी हो। निजी क्षेत्र अवसर खोज्ने, नाफा कमाउने र कर तिर्ने पक्ष हो। तर जब भविष्यबारे अनिश्चितता हुन्छ—सरकार कस्तो बन्छ, चुनाव समयमै हुन्छ कि हुँदैन, नीतिहरू स्थिर हुन्छन् कि हुँदैनन्, सेयर बजार झर्दै जान्छ, उपभोग घट्छ-त्यस्तो अवस्थामा कोही पनि ठूलो जोखिम लिएर लगानी गर्न चाहँदैन।
पञ्चकन्या ग्रुपकै उदाहरण लिँदा पनि, हामीले पछिल्लो एक वर्षमा दुईवटा नयाँ उद्योग स्थापना गरेका छौ। लुम्बिनीमा (युपीभिसी) उत्पादन गर्ने ‘पञ्चकन्या डिमक्स’ र बाथवेयर तथा सेनेटरी सामग्री उत्पादन गर्ने नयाँ उद्योग, जसको बजार प्रवेश हामीले अहिले सुरु गरिसकेका छौं । यसले देखाउँछ कि निजी क्षेत्र पूर्ण रूपमा रोकिएको होइन, तर यस्तो लगानी सीमित र सावधानीपूर्ण छ।
तर व्यापक रूपमा लगानी नबढ्नुको एउटा ठूलो कारण मौद्रिक नीति र कर्जासम्बन्धी सीमाहरू पनि हुन्। कोभिडपछि ऋणमा लगाइएको २५ प्रतिशत, पछि ४० प्रतिशतसम्म पु¥याइएको उधारो सीमाले उद्योगहरूलाई निकै दबाबमा पारेको छ। पहिले राजस्वको १० प्रतिशतसम्म ऋण लिन पाइन्थ्यो, अहिले ४० प्रतिशतमा रोकिँदा धेरै उद्योगहरूले चाहेर पनि नयाँ लगानी वा विस्तार गर्न सकेका छैनन्। बैंकहरूले ‘नयाँ परियोजना ल्याउनुहोस्’ भन्छन्, तर पुराना व्यवसायहरू नै लिमिटले थुनिएका छन् भने कसरी नयाँ परियोजना ल्याउने?
त्यसैले अहिले बैंकमा पैसा बसेको छ, तर उद्योगले प्रयोग गर्न पाएको छैन। यसका लागि मौद्रिक नीति अझै यथार्थपरक र लचिलो बनाउनु आवश्यक छ। तरलता धेरै भएको बेला उधारोको सीमा बढाएर उद्योगलाई विस्तार गर्न प्रोत्साहन गर्न सकिन्छ।
अर्को महत्वपूर्ण कुरा भनेको उद्योगका लागि छुट्टै ‘इन्डस्ट्रियल लोन’ व्यवस्था हो। अहिले नेपालमा कृषि ऋण त छ, तर उद्योगका लागि विशेष दर, विशेष संरचना भएको कर्जा छैन। उद्योग, सेवा, आईटी, हस्पिटालिटी जस्ता क्षेत्रलाई एउटै ‘कमर्सियल लोन’ को डल्लोमा राख्नु उचित हुँदैन। उत्पादनमूलक उद्योगलाई सस्तो र दीर्घकालीन कर्जा चाहिन्छ, जुन रोजगारी र निर्यात बढाउने आधार बन्छ।
अन्ततः सरकार र निजी क्षेत्रबीच विश्वासको सम्बन्ध बलियो बनाउनु नै सबैभन्दा ठूलो कुरा हो। नीति स्थिर, कर र कर्जा प्रणाली पारदर्शी र पूर्वानुमेय भयो भने अहिले बैंकमा थुप्रिएको तरलता आफै उद्योगतर्फ बग्छ। त्यसले उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रलाई फेरि चलायमान बनाउने छ ।
आगामी दिनमा पञ्चकन्या ग्रुपको विस्तार योजना के छ ? कुन–कुन क्षेत्रमा नयाँ लगानी र उद्योग ल्याउने तयारीमा हुनुहुन्छ ?
हाम्रो दीर्घकालीन लक्ष्य आगामी पाँच वर्षभित्र पाँचवटा फरक–फरक उत्पादनमूलक उद्योग स्थापना गर्ने हो। यसमध्ये हामीले दुईवटा उद्योग यसअघि नै सञ्चालनमा ल्याइसकेका छौँ। पहिलो, लुम्बिनीमा रहेको ग्एख्ऋ झ्याल–ढोका उत्पादन गर्ने पञ्चकन्या डिमक्स, जुन अहिले नेपालकै सबैभन्दा ठूलो उत्पादन क्षमतामध्ये एक हो। दोस्रो, बाथवेयर तथा सेनेटरी सामग्री (धारा, कमोड आदि) उत्पादन गर्ने उद्योग, जसलाई हामी बजारमा चरणबद्ध रूपमा ल्याउँदैछौं । अब बाँकी दुई–तीनवटा नयाँ उद्योगबारे अध्ययन भइरहेको छ। समग्र आर्थिक र राजनीतिक वातावरण जति स्थिर र सकारात्मक बन्दै जान्छ, हाम्रो लगानीको गति पनि त्यही अनुसार बढ्नेछ।
हाम्रो सबै लगानीको केन्द्रविन्दु भनेको निर्माणसम्बन्धी सामग्रीको स्वदेशी उत्पादन नै हो—झ्याल–ढोका, सेनेटरी वेयर, पाइप, फिटिङ्सजस्ता आयात–प्रतिस्थापन गर्ने उत्पादनहरूमा नेपालमै उद्योग खडा गर्ने हाम्रो रणनीति छ। यसले न केवल विदेशी मुद्राकाे बचत गर्छ, रोजगारी पनि सिर्जना गर्छ र निर्माण क्षेत्रलाई दीर्घकालीन रूपमा बलियो बनाउँछ। सही नीतिगत वातावरण र स्थिरता रह्यो भने पञ्चकन्या ग्रुपले यही क्षेत्रमै अझ ठूलो र गहिरो लगानी गर्ने तयारीमा छ।
अबको पाँच वर्षमा पञ्चकन्या ग्रुपलाई तपाईं कहाँ देख्न चाहनुहुन्छ? समूहको दीर्घकालीन दृष्टि र प्राथमिकता के हुनेछन् ?
हाम्रो दृष्टि पाँच वर्षभित्र पञ्चकन्यालाई अझ बलियो, दिगो र आयात–प्रतिस्थापन गर्ने उत्पादनमूलक उद्योगहरूको समूहको रूपमा स्थापित गर्ने हो। हामीले २०२४ देखि नै स्पष्ट रणनीति बनाएका छौं । नेपालमा ठूलो परिमाणमा आयात भइरहेका निर्माण सामग्री र औद्योगिक वस्तुहरूलाई सम्भव भएसम्म स्वदेशमै उत्पादन गर्ने।
उदाहरणका लागि, ग्एख्ऋ झ्याल–ढोकाको कुरा गर्दा नेपालमा करिब १२ हजार मेट्रिक टनभन्दा बढी आयात हुन्छ, जबकि कुल खपत करिब १५ हजार टन छ। यही ठूलो सम्भावनालाई देखेर हामीले लुम्बिनीमा नेपालकै सबैभन्दा ठूलो झ्याल–ढोका उत्पादन उद्योग स्थापना गरेका हौं। यस्तै आयात–प्रतिस्थापन सम्भावना भएका अन्य उत्पादनहरूमा पनि हामी विस्तार गर्दै जानेछौं।
तर हाम्रो लगानी केवल उत्पादन बढाउने मात्र होइन, दिगोपनमा आधारित हुनेछ। डेढ वर्षअघि हामीले पञ्चकन्या स्टिललाई ‘नेपालको पहिलो ग्रीन स्टिल’ को रूपमा अघि सारेका थियौं । जहाँ वातावरणमैत्री प्रविधि, ऊर्जा–दक्ष प्रक्रिया, कर्मचारी–मैत्री कार्यस्थल र जिम्मेवार कच्चा पदार्थ प्रयोगलाई प्राथमिकता दिइएको छ। विश्वभर उद्योगहरूबाट वातावरण र समाजमा पर्ने प्रभावप्रति गम्भीर प्रश्न उठिरहेका छन्, र पञ्चकन्या यही नयाँ औद्योगिक मानकको बाटोमा अघि बढिरहेको छ।
गुणस्तर र विश्वास भने हाम्रो सबैभन्दा ठूलो पहिचान हो। करिब पाँच दशकदेखि पञ्चकन्या नेपालमा टिकिरहनुको कारण यही हो। हामीले नेपाल स्ट्यान्डड) सहित धेरै राष्ट्रिय अवार्ड र मान्यताहरू पाएका छौँ, र धेरै उत्पादनमा ‘पहिलो’ पनि भएका छौँ। गुणस्तरमा सम्झौता गर्ने हाम्रो कुनै योजना छैन—न आज, न भोलि।
अन्त्यमा, म निजी क्षेत्र र विशेषगरी युवाहरूलाई धैर्य राख्न चाहन्छु। अहिलेको अवस्था चुनौतीपूर्ण भए पनि यो एउटा परिक्षणको समय पनि हो। नेपालको दीर्घकालीन सम्भावना अझै बलियो छ। देशप्रति विश्वास राखेर, दिगो सोचका साथ अघि बढ्ने हो भने आगामी वर्षहरूमा नेपाल र नेपाली उद्योग दुवै अझ बलियो भएर उभिनेछन्।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्