काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नम्बर ७ का १० वडाबाट दैनिक करिब ३।१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल साइटमा जानबाट रोकिएको छ ।
फोहरमैला सङ्कलन तथा ढुवानी निर्देशक समितिको अध्यक्ष तथा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहरभित्र फोहर स्रोतमे वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन र फोहरको मात्रा घटाउने विषयमा छलफल गरिएको थियो । सोही क्रममा मटेरियल रिकभरी फ्यासिलिटीको अभ्यासबारे जानकारी गराइएको हो ।
यस फ्यासिलिटीमार्फत सङ्कलित फोहरलाई वर्गीकरण गरी पुनः प्रयोगयोग्य सुक्खा फोहरलाई आय ठेक्कामार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ । छलफलमा क्षेत्र नम्बर ७ अन्तर्गत वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ समेटिएका छन् ।
महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री व्यवस्थापनका लागि आफ्नो भौगोलिक क्षेत्रलाई ७ भागमा विभाजन गरी प्रतिस्पर्धामार्फत वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँ कर बाहेक आय ठेक्का लगाएको छ । क्षेत्र नम्बर ७ का लागि ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइज कम्पनी छनोट भएको छ । उक्त कम्पनीसँग २०८१ फागुन २६ गते सम्झौता गरी मटेरियल रिकभरी फ्यासिलिटी सञ्चालनमा ल्याइएको हो ।
यस क्षेत्रबाट मात्रै महानगरपालिकाले वार्षिक करिब ७० लाख रुपैयाँ आय गर्ने अपेक्षा गरिएको छ । बैठकले सेवा प्रदायकको बोलपत्रको म्याद थप एक वर्षका लागि बढाउन सिफारिस गरेको छ । अन्य क्षेत्रका योजना भने कार्यान्वयनको चरणमा छन् ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिइन् ।
बैठकमा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले रिभरकी फ्यासिलिटीको अभ्यासका विषयमा र इन्जिनियर रामप्रसाद नेपालले सेवा प्रदायकको कार्य सन्तुष्टि प्रतिवेदनका विषयमा जानकारी गराइन् ।
घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ ।
क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रा। ली। ले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपियाँमा ठेक्का कवोल गरेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको छ ।
क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रा। ली। ले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपियाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहर जम्मा हुने अनुमान छ ।
क्षेत्र नम्बर ४ मा मेची पोली इष्डष्ट्रीले १ करोड १५ लाख ४ हजार ४०४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् ।
वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपैयाँ कवोल गरेको छ ।
वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहर सङ्कलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९१७ रुपैयाँमा आय ठेक्का कबोल गरेको छ । यसरी कबोल गरिएको रकम कर बाहेकको हो ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्