काठमाडौं । नेपालमा पशु स्वास्थ्य तथा ‘एक स्वास्थ्य’ अवधारणालाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाल भेटेरिनरी एशोसियसन (NVA) ले १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन ‘भेटकाेन २०२६’ आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार सम्मेलन २०८२ चैत २७ र २८ गते रुपन्देहीको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा हुनेछ। “One Health Pathways for Sustainable Livestock and Food Security” मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले उजागर गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ।
आयोजकका अनुसार सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुनेछन् भने १० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। साथै, १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभावलगायत विषयमा धारणा राख्नेछन्।
सम्मेलनका मुख्य आकर्षणमा प्राविधिक सत्र,अनुसन्धान प्रस्तुति, प्यानल छलफल तथा अनुभव आदानप्रदान कार्यक्रम समावेश रहनेछन्। विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न ‘स्टुडेन्ट पोस्टर प्रतियोगिता’ पनि आयोजना गरिनेछ। उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
नेपाल भेटेरिनरी एशोसियसनका महासचिव डा.शंकर न्यौपानेका अनुसार पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी सेवा पुर्याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान गरिनेछ। साथै, राष्ट्रिय स्तरका विभिन्न सम्मान तथा पुरस्कारहरू पनि प्रदान गरिने कार्यक्रम रहेको उनले बताए।
सम्मेलनमा पशुपन्छी क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका व्यवसायिक तथा प्रविधि प्रदायक संस्थाहरूको सक्रिय सहभागिता रहनेछ।
सम्मेलन परिसरमा राखिने प्रदर्शनी स्टलहरूमा पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिको प्रवर्द्धन गरिनुका साथै पशु चिकित्सा क्षेत्रमा विकसित नवीनतम प्रविधि,अनुसन्धान र व्यवहारिक अभ्यासबारे सहभागीहरूलाई प्रत्यक्ष जानकारी दिइनेछ।
आयोजकका अनुसार सम्मेलनलाई नेपाल सरकारका विभिन्न निकायका साथै फूड एण्ड एग्रिकल्चर अर्गनाइजेशन , यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल, नेपाल भेटेरिनरी काउन्सिल तथा अन्य पेशागत एवं व्यवसायिक संघ–संस्थाहरूको सहयोग तथा सहभागिता रहनेछ।
हाल सम्मेलनका लागि ‘अर्ली बर्ड रजिस्ट्रेशन’ खुला भइसकेको छ। इच्छुक सहभागीहरूले www.vetcon2026.org मार्फत विस्तृत जानकारी लिन तथा दर्ता गर्न सक्नेछन्।
नेपाल भेटेरिनरी एशोसियसनका अध्यक्ष डा. केदार सुबेदीले १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलनले नेपालमा पशु स्वास्थ्य, अनुसन्धान र नवीन प्रविधिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार सम्मेलनले ‘एक स्वास्थ्य’ अवधारणालाई व्यवहारमा उतार्दै पशुपालन र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्दै भविष्यका लागि सशक्त मार्गनिर्देशन प्रदान गर्ने अपेक्षा गरिएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्