काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइले नेपालका आफ्ना ड्राइभर पार्टनरहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग कार्यक्रम घोषणा गरेको छ। बढ्दो इन्धन मूल्य र महँगीका कारण चालकहरूमा परेको आर्थिक दबाबलाई मध्यनजर गर्दै कम्पनीले यस्तो पहल अघि सारेको हो।
कम्पनीका अनुसार, नेपालमा राइड–हेलिङ सेवाको विस्तारसँगै हजारौं चालकहरूको प्रमुख आम्दानी स्रोत बनेको यस क्षेत्रमा पछिल्लो समय इन्धन मूल्य वृद्धि ठूलो चुनौती बनेको छ। सञ्चालन खर्च बढ्दा चालकहरूको आम्दानीमा प्रत्यक्ष असर परेको छ भने यात्रुहरू पनि भाडा वृद्धिप्रति संवेदनशील रहेका कारण बजार सन्तुलन कायम राख्न कठिन हुँदै गएको छ।
यही अवस्थालाई सम्बोधन गर्न इनड्राइभले आगामी अप्रिल १५ (वैशाख २, २०८३) देखि लागू हुने गरी इन्धन सहयोग कार्यक्रम सुरु गर्ने जनाएको छ। कम्पनीले यो पहलमार्फत चालकहरूको आर्थिक भार कम गर्नुका साथै यात्रुहरूलाई अतिरिक्त आर्थिक दबाब नपारी सेवा निरन्तरता कायम राख्ने लक्ष्य लिएको छ।
कम्पनीले चालकहरूको आम्दानी सुदृढ गर्न अन्य उपायहरू पनि अघि सारेको जनाएको छ। चयन गरिएका केही राइडहरूमा कम सेवा शुल्क लागू गरिएको छ भने कार्यसम्पादनमा आधारित प्रोत्साहन, पुरस्कार तथा विभिन्न इन्सेन्टिभ कार्यक्रममार्फत चालकहरूको कमाइ क्षमता बढाउने प्रयास भइरहेको छ।
इनड्राइभले आफूलाई “ड्राइभर फर्स्ट” दृष्टिकोणमा आधारित प्लेटफर्मका रूपमा प्रस्तुत गर्दै आएको छ। यसको पियर–टु–पियर मोडेलअन्तर्गत यात्रु र चालकले आपसी सहमतिमा भाडा निर्धारण गर्न सक्ने सुविधा रहेको छ, जसले वास्तविक बजार अवस्था अनुसार न्यायोचित मूल्य तय गर्न सहयोग पुर्याउँछ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमि राइले बढ्दो इन्धन लागतले चालकहरूको दैनिक आम्दानीमा प्रत्यक्ष असर परेको बताइन्। उनले तत्काल राहतसँगै दीर्घकालीन रूपमा सन्तुलित र न्यायोचित मोबिलिटी प्रणाली निर्माण गर्नु आवश्यक रहेको उल्लेख गरिन्।
नेपालको मोबिलिटी क्षेत्र तीव्र गतिमा विकास भइरहेका बेला इनड्राइभले चालक समुदाय, साझेदार तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै समस्या समाधानमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले बजार अवस्थाको नियमित अनुगमन गर्दै आवश्यकतानुसार आफ्ना कार्यक्रमहरू परिमार्जन गर्दै लैजाने पनि जनाएको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्