काठमाडौं । काठमाडौंको ऐतिहासिक एवं व्यापारिक केन्द्र असन क्षेत्रको मौलिकता जोगाउन आगामी वैशाख ५ गतेदेखि ‘भेहिकल फ्री असन’ अभियान सुरु गर्ने भएको छ। काठमाडौं महानगरपालिका र स्थानीय सरोकारवालाहरूको संयुक्त बैठकले हरेक शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरेको हो।
यसअघि चैत २८ गतेदेखि नै यो कार्यक्रम सुरु गर्ने तयारी रहे पनि तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एक हप्ता पछाडि सारिएको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कार्यक्रमको मुख्य उद्देश्य असनको प्राचीन र सांस्कृतिक महत्त्वलाई जोगाउनु रहेको छ। कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो। यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔँ।’
बैठकमा वडा नं.२७ का वडाध्यक्ष योगेशकुमार खड्गीले यो अभियानले असनको मौलिकता मात्र नभई वायु प्रदूषण नियन्त्रण र सहरी वातावरण सुधारमा समेत ठुलो योगदान पुर्याउने धारणा राखे ।
कुन–कुन क्षेत्रमा सवारी रोकिनेछ ?
‘भेहिकल फ्री असन’ अभियान अन्तर्गत ५ गतेदेखि मुख्य गरी तीनवटा प्रवेश मार्गबाट असनतर्फ जाने सवारी साधनलाई रोक लगाइने महानगरले जनाएको छ । जसमा कमलाक्षी चोक, भोटाहिटी चोक र महाबौद्धदेखि असनसम्मका क्षेत्रमा साना तथा ठूला कुनै पनि सवारी साधानको आउजाउमा रोक लगाइने छ । यी क्षेत्रहरूमा सवारी साधन निषेध गरिए पनि पैदलयात्रीका लागि भने सहज आवागमनको व्यवस्था मिलाइने महानगरको तयारी छ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार सवारी साधनहरूका लागि वैकल्पिक मार्गको प्रबन्ध मिलाइएको र सुरक्षा व्यवस्था कडा पारिने छ ।
असन क्षेत्रलाई अब केवल बजारका रूपमा मात्र नभई ‘सम्पदा मार्ग’का रूपमा विकास गरिने योजना महानगरको छ। यहाँका स्थानीय परम्परागत र रैथाने व्यापार व्यवसायलाई विशेष प्राथमिकता दिइ हरेक शनिबार सवारी नचल्ने समयमा विभिन्न सांस्कृतिक र सामाजिक क्रियाकलापहरू सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको बताइएको छ। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडाध्यक्ष, प्रहरी अधिकारीहरू र स्थानीय क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्