काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुने पक्का भएको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सदनको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवैले ठाकुरलाई समर्थन गर्ने भएपछि उनको पक्षमा दुई–तिहाइ बहुमत पुग्ने छ। यो सँगै डिप्लोमा इन्जिनियरिङ पूरा गरेकी २५ वर्षीय (जेनजी पुस्ताकी सांसद) ठाकुर संघीय संसदको उपसभामुख जस्तो महत्वपूर्ण पदमा निर्वाचित हुने लगभग निश्तिच भएको छ।
रास्वपा नेतृत्वको सरकारमाथि सदन र सामाजिक सञ्जालमार्फत निरन्तर प्रश्न उठाउँदै आएका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई रास्वपाले बिहीबार अप्रत्याशित साथ दिएको छ। छोटो समयमै राष्ट्रिय राजनीतिमा उदायका परिवर्तनकारी शक्तिहरूबीच सहकार्य गरेर अगाडि बढ्ने नीति अनुसार पार्टीले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
७ जना सांसद रहेको श्रम संस्कृति पार्टीका लागि संसद् प्रवेशको पहिलो पटकमै उपसभामुख जस्तो विशिष्ट पद पाउनु ‘सरप्राइज’ मात्र होइन राजनीतिक वृत्तमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारलाई खबरदारी गरिरहेको श्रम संस्कृति पार्टीलाई सदनको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि साथ दिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि ठाकुरलाई नै समर्थन गर्ने जनाइसकेको छ । यससँगै ठाकुरको पक्षमा संसद्को दुई–तिहाइभन्दा बढी मत सुरक्षित भएको छ।
प्रतिनिधिसभाको उपसभामुखका लागि ठाकुरसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ ।लामाको प्रस्तावकमा ज्ञानबहादुर शाही तथा समर्थकमा ताहिर अलि भाट, खुस्बु ओली र भरत गिरी रेका छन् । ठाकुरको प्रस्तावकमा आरेन राई तथा समर्थकमा अशोककुमार चौधरी र अम्बिकादेवी सङ्ग्रौला रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयको कार्यतालिकाअनुसार आज बिहान ११ बजेदेखि २ः०० बजेसम्म सभा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ को उपनियम (२) बमोजिमको प्रस्तावको सूचना दर्ता गर्न समय निर्धारण गरिएको थियो ।दर्ता भएका उम्मेदवारीको सूचनालाई दर्ता क्रमअनुसार सूची प्रकाशन गर्न २ः३० बजेको समय तोकिएको छ । उम्मेदवारका प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरी उम्मेदवारीको सूचनामाथि यही चैत २७ गते दिउँसो ४ बजे हुने सभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
संविधानतः सभाको सभामुख र उपसभामुखमा फरक राजनीति दल र फरक लिङ्गबाट प्रतिनिधित्व हुने व्यवस्था रहेको छ । गत फागुन २१ गतेको निर्वाचनपछि भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत यही चैत २२ गतेको बैठकबाट सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएका थिए । संवैधानिक व्यवस्था अनुसार अर्याल सभामुख बनिसकेकाले फरक दल र लिङ्गको प्रतिनिधित्व गर्दै ठाकुर उपसभामुख पदको मुख्य दाबेदार बनेकी हुन्।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्