Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

रोल्पाबाट घोराही पुगेर लोभलाग्दो कृषि कर्म, स्ट्रबेरी बेचेरै वार्षिक ६ लाख बचत गर्छन् खड्का

रोल्पाबाट घोराही पुगेर लोभलाग्दो कृषि कर्म, स्ट्रबेरी बेचेरै वार्षिक ६ लाख बचत गर्छन् खड्का
विज्ञापन
Advertisement

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने खड्का विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा तल्लिन छन् । उमेरले २६ वर्ष मात्रै पुगेका उनले यही व्यवसायबाट वार्षिक ६ लाख बचत गर्दै आएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरी खेतीबाट सोचेभन्दा पनि राम्रो भएको बताए ।
सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरी खेती गर्दै आएका उनले वार्षिक रूपमा १४ लाख बराबरको कारोबार गर्न सफल भएका छन् । दाङमै स्ट्रबेरी प्रतिकिलो आठ सयका दरले बिक्री हुने गरेको छ ।

उनले बारीबाटै दैनिक २०–२५ किलोसम्मको बिक्री गर्दै आएका छन् भने हिजोआज फार्म छेउमै महोत्सव लागेका कारण झन् माग बढेर दैनिक ५० किलोसम्म बिक्री गर्दै आएको उनको भनाइ छ । यस वर्षको हालसम्म चार लाख बढीको बिक्री गरिसकेको उनले बताए ।

किसान खड्काले भने, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिए। विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’ उनले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरिरहेका छन् । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उनले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्छन् भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आएका छन् ।

स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भने, ‘बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।’ स्ट्रबेरीको उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उनले जिल्लामा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुर, लमहीलगायत बजारमा बिक्री भइरहेको उनले बताए । परम्परागत कृषि व्यवसायलाई बदल्दै आधुनिक प्रविधिका माध्यमबाट नयाँ व्यवसाय गर्नुपर्छ भनेर जिल्लामा स्ट्रबेरी खेती गर्दै आएको उनले बताए । किसान खड्काले यस वर्षदेखि रोल्पामा पनि सात रोपनी जग्गामा स्ट्रबेरीको व्यावसायिक खेती थालेका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताए । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उनको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिग्रेर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताए । जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको उनको भनाइ छ । ‘स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो’, उनले भने, ‘आज भोलिको समय राम्रो हुन्छ ।’ जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit