images
images

पर्वतमा यसवर्ष ८७ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने अनुमान

images
images
images

काठमाडौं ।  पर्वतमा आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष आलु उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक हजार ४५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो ।

images
images

यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जसअनुसार हिउँदमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । सरदर प्रतिकेजी ४० रुपैयाँका दरले किसानले आलु बिक्री गर्दा करिब ८७ करोड रुपैयाँ आम्दानी हुने अनुमान केन्द्रले गरेको छ ।

जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीका अनुसार विभिन्न पकेट क्षेत्रमा ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा एक करोड ४७ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ । केन्द्रले बीउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा ‘प्याकेजिङ’मा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताइन ।

जलजला गाउँपालिकाका १६ कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । अनुदान पाउन कम्तीमा कृषक समूहले ३० रोपनी बढी क्षेत्रफलमा सामूहिक आलुखेती गरेको हुनुपर्छ ।

मोदी गाउँपालिकाका–४, ५, ६, ७, ९ स्थित लेसपार, क्याङ, छापा, बाजुङलगायत करिब ४५० रोपनी क्षेत्रफलमा आठ कृषक समूहले खायन आलुखेती गरेका छन् । कुश्मा नगरपालिकाका आलु पकेट क्षेत्र पाङ, खुर्कोट, आर्थरलगायतमा २२५ रोपनी बढी क्षेत्रफलमा कृषकहरुले आलु गरिरहेका छन् ।

फलेवास नगरपालिकाको मुडिकुवा, शङ्करपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोलालगायतका किसानले २२० रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गरेका छन् । यसैगरी, दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको हुवास क्षेत्र, महाशिला गाउँपालिकामा ६ वटा कृषक समूह आलुखेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन वृद्धि हुने बताए । हाल कृषकहरु आलु खन्ने चटारोमा रहेकाले अबको एक महिनापछि आलु उत्पादनको यकिन तथ्याङ्क प्राप्त हुने उनले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्