गण्डकी । नेपालको वनजङ्गल बर्सेनि डढेलोको चपेटामा पर्दै आएको छ । चैत–वैशाखको सुक्खायाममा एकै दिनमा देशका सयौँ स्थानमा डढेलो लाग्ने गरेको वन तथा भू–संरक्षण विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष मात्र देशभरि पाँच हजार २१७ स्थानमा डढेलोका घटना भएका थिए ।
सानानिता डढेलोका घटनाको लेखाजोखा नै हुने गरेको छैन । डढेलो फैलने क्षेत्रफल र त्यसले वनजङ्गलमा पु¥याउने क्षति आँकलनबाहिर रहेको विभागका पदाधिकारी बताउँछन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुदीप छत्कुलीका अनुसार गत साता मात्र देशका २७२ स्थानमा डढेलो लागेको थियो । पछिल्लो छ महिनामा डढेलोका कारण नौजनाले ज्यान गुमाएको उनले बताए । गत वर्ष वन डढेलामा परी १७ जनाको मुत्यु भएको थियो । ‘पछिल्लो समय डढेलोका घटना बिस्तारै बढ्दै गएको देखिन्छ । वनजङ्गल नासिने मात्र नभएर डढेलोका बहुअसर छन्, बर्सेनि ठूलो जनधनको क्षति डढेलोले निम्त्याइरहेको छ’,” उपसचिव छत्कुलीले भने ।
डढेलोले वन विशास हुने, माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिने, पानीका मुहान सुक्ने, भू–क्षय, बाढीजस्ता प्राकृतिक विपत् आदि समस्या निम्ताउने गरेको छ । उनले भने, ‘एउटै जङ्गलमा पटकपटक डढेलो लाग्दा बोटबिरुवाका प्रजाति नै विस्थापित हुने, माटोको उर्बरा शक्ति घट्ने हुनसक्छ ।
वायु प्रदूषण बढ्नुमा पनि डढेलाको भूमिका रहेको देखिन्छ, यसले जैविक विविधतामा पनि प्रत्यक्ष असर पु¥याइरहेको छ ।’
डढेलो लाग्दा जमिनको सतह खल्बलिने हुँदा बर्सातमा पानी पर्नासाथ त्यसले बाढीपहिरो निम्त्याउन सक्ने खतरा रहेको उपसचिव छत्कुलीले बताए । वनजङ्गल विनाश हुँदा पर्यावरण चक्रमा पनि ठूलो असर पुगिरहेको छ । डढेलोका कारण वायुमण्डलमा फैलने विषाक्त धुवाँले मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने गरेको छ । मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिने हुँदा डेढेलो फैलने क्रम अझ बढ्दै जाने उपसचिव छत्कुलीको भनाइ छ ।
बर्सेनि औसतमा चार हजार स्थानमा डढेलो लाग्ने गरेकामा पछिल्लो समय उक्त सङ्ख्या बढ्दै गएको उनले बताए । सुक्खायाम लम्बिनु, हिउँदे वर्षा नहुनु, प्रिमनसुन ढिलो सुरु हुनु आदि कारणले डढेलोका घटनामा वृद्धि भइरहेको विज्ञहरु बताउँछन् । वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताए । ‘डढेलोको समस्या विकराल बन्दैछ । लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रणबाहिर गइरहेको छ ।’
वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिकको मानव बस्तीलाई असर पारिरहेको उनले धारणा राखे । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ । ‘अन्ठाउन्न प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ,’ उपसचिव थापाले भने, ‘पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोका घटना बढिरहेको देखिन्छ ।’
आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको छ । ‘डढेलोले जैविक विविधतामा ह्रास ल्याउनाका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ’, उनले भने, ‘डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेलिरहेको हुन्छ ।’ बर्सेनि बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि जनशक्ति र स्रोतसाधनको उचित प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताए ।
परम्परागत तरिकाले मात्र डढेलो नियन्त्रणमा लिन कठिन हुने गरेकाले तालिमप्राप्त जनशक्ति र पर्याप्त उपकरण चाहिने धारणा थापाको छ । ‘प्राकृतिक भू–बनोटका कारण पनि नेपालमा डढेलो चुनौतीको विषय बनिरहेको छ ।’
डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गरिए पनि यसमा कमी आउन नसकेको भन्दै उनले वनमा अग्निरेखाको निर्माण, सरसफाइजस्ता कार्य नियमित गरिनुपर्नेमा जोड दिए ।
डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले भिरालो भू–बनोट भएका ठाउँमा डढेलो चाँडो फैलने गरेको बताए । जनसहभागिता जुटाउन नसके सुरक्षाकर्मी र कर्मचारीले मात्र डढेलो नियन्त्रणमा ल्याउन नसक्ने उनको भनाइ छ । ‘डढेलोका घटना नियन्त्रण र न्यूनीकरण सबैको सरोकारको विषय हो,’ उनले भने ‘बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ, यसबाट बच्न जनचेतना अभिवृद्धिका साथै जोखिम न्यूनीकरणका लागि पूर्वतयारीको खाँचो छ ।’
डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेकाले वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने प्रमुख पन्थीको भनाइ छ । ‘समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन, डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार र जनस्तरबाट समेत प्रभावकारी उपाय अबलम्वन गर्न जरुरी छ । समुदायमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ ।’
डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उनको भनाइ छ ।
डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्