images
images
images

पालिकास्तरीय ३५ कोठे अस्पताल भवन निर्माण कार्य अलपत्र

images
images

म्याग्दी । मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी नौ करोड ११ लाख रुपैयाँमा ओमबुद्ध इन्टरनेसनल कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

मङ्गला–५ हाडेभिरस्थित निर्माणाधीन उक्त भवनमा पछिल्लो एक वर्षयता कुनै पनि काम भएको छैन । गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी क्षेत्रीले काम अलपत्र बनाएर छोडेका ठेकेदारलाई ताकेता गर्दै आएको बताए । उनले भने, ‘भवनको भुइँ तलासम्म ढलान गरेका निर्माण व्यवसायीलाई ताकेता गरे पनि काममा फर्किन अटेर गरेका छन् । न्निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल अलपत्र परेको हो ।’

images
images

क्षेत्रीका अनुसार हालसम्म करिब १० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने उक्त भवनमा ३५ कोठा हुनेछन् । आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, औषधि भण्डारण, प्रशासन, चिकित्सक र स्वास्थ्यकर्मीको आवाससहितको भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी हुने उनले जानकारी दिए ।

सम्झौतापछि प्रारम्भिक चरणमा जग्गा व्यवस्थापन गरेर सम्पर्कविहीन भएको ठेकेदारको धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएपछि २०८० साल मङ्सिरमा काममा फर्किएका जनाउँदै कामलाई निरन्तरता नदिएपछि पुनः कारबाही प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

सङ्घीय सरकारको प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने नीतिअनुसार २०७७ साल पुसमा मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भवनको शिलान्यास गरेका थिए । भवन निर्माणका लागि स्थानीयवासीले छ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा आठ करोड रुपैयाँ खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन चिकित्सक र उपकरण अभावमा सञ्चालन नहुँदा भवन परिसर झाँडीमा परिणत भएको छ । धवलागिरि गाउँपालिकाको ताकममा पाँच शय्या क्षमताको अस्पताल भवन निर्माण भने सुस्तगतिमा अघि बढेको छ ।

रघुगङ्गा गाउँपालिकामा स्थान विवादका कारण अस्पताल भवन निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । मालिका गाउँपालिकाले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत अस्पतालमा स्तरोन्नति गरिएको छ । जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकामा ५० शय्या क्षमताको प्रादेशिक बेनी अस्पताल निर्माण गरी सञ्चालनमा आएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्