विराटनगर । गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन् । मंगलबार कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको प्रस्ट्याए ।
उनले प्रचलित कानुनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताए । यस्तै उनले, कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।
सो कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नवनिर्मित कारागार भवनबाट कैदीबन्दीलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कारागारमा देखिने समस्या सम्बोधन गरी कैदीबन्दीलाई उचित व्यवहार गरिने प्रतिबद्धता जनाए ।
विराटनगरको हाटखोलास्थित पुरानो जिल्ला कारागार भवन परिसरमा नवनिर्मित कारागार भवन निर्माणका लागि कुल ३६ करोड १२ लाख ८५ हजार रुपैयाँ खर्च भएको भवन विभागले जनाएको छ ।
विसं २०७८ साल असार २४ गते शिलान्यास भएको सो भवन निर्माण प्रक्रियाअन्तर्गत पुरुष सुधारगृह, महिला सुधारगृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन भवन, जिल्ला कारागार प्रमुख आवास भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सीमा सुरक्षा जाँच कक्षसहित, सडक सञ्जाल, नाला, आकस्मिक पानी भण्डारण पोखरी तथा अन्य बगैँचाजस्ता संरचना तयार भएको भवन निर्माण विभागका वरिष्ठ प्रविधिक प्रदीप खनालले जानकारी दिए । सो कारागार भवनमा २१८ पुरुष र ९९ महिला कैदीबन्दी राख्न सकिनेछ ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्