images
images
images

५३ लाख लागतमा पालुवा प्राविको निर्माण पूरा, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा

images
images
images

भोजपुर । जिल्लाको भोजपुर नगरपालिका– ६ पालुवामा रहेको पालुवा प्राथमिक विद्यालयमा पक्की भवन बनेपछि विद्यालय सञ्चालनमा सहजता भएको छ । भूकम्पले जीर्ण बनेको भवनबाट विद्यालय सञ्चालन गर्नुपर्ने अवस्थामा पक्की भवन निर्माण गरिएपछि सहजता भएको हो ।

संघीय सरकाररले उपलब्ध गराएको ५३ लाख रुपैयाँ लागतमा पक्की भवन निर्माण गरिएको विद्यालयले जनाएको छ । भवन निर्माणसँगै बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षणमा जोड दिइएको छ । सिकाइलाई जीवन उपयोगिसँगै प्रविधिमैत्री बनाउन साना बालबालिकालाई प्रविधिमैत्री शिक्षणमा जोड दिइएको विद्यालय प्रधानाध्यापक गङ्गादेवी प्रधानले जानकारी दिए ।

images

यहाँ चार वटा स्मार्ट बोर्ड र स्मार्ट टिभी, प्रोजेक्टर, कम्प्युटरको प्रयोग गरेर बालबालिकालाई श्रव्य, दृश्य माध्यमबाट सिकाइ भइरहेको छ । साथै बालबालिकालाई पाँच वटा कम्प्युटर जडान गरेर प्रविधिसँगै कम्प्युटरको ज्ञान प्रदान गरिरहेको प्राध्यानाध्यापक प्रधानले बताए । उनले भने, “हामीले विद्यालयमा प्रविधिमैत्री शिक्षणमा जोड दिएका छौँ । यो प्रविधिको प्रयोगबाट शिक्षण गराउँदा बालबालिकाले चासोका साथ पढ्ने हुनाले गुणस्तरमा सुधार ल्याउन सहज छ ।”

बालबालिकाले विज्ञान कक्षाको समयसँगै अन्य समयमा हप्ताको दुई दिन कम्प्युटरको अभ्यासमूलक सीप लिने गरेको उनको भनाइ छ । वडाभित्र रहेका विद्यालयको भौतिक सुधारसँगै प्रविधिमैत्री शिक्षणको लागि वडाले आवश्यक सहयोग गर्दै आएको भोजपुर ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । आफ्नो पहलमा विद्यालयमा पक्की भवन निर्माण गर्न सफल भएको वडाध्यक्ष कार्कीको भनाइ छ । नगरपालिकाभित्र प्राथमिक तह मात्र सञ्चालन भएका विद्यालयमध्ये पक्की भवनबाट शिक्षण हुने यो पहिलो सामुदायिक विद्यालय रहेको वडाध्यक्ष कार्कीको दाबी छ ।

“हामीले यो विद्यालयको शैक्षिकसँगै भौतिक संरचनाको विकासमा जोड दिएका छौँ”वडाध्यक्ष कार्कीले भने,“प्राथमिक विद्यालय भए पनि यहाँ प्रविधिमैत्री शिक्षण हुन्छ । हाम्रो पहलमा पक्की भवन निर्माण गर्न सफल भएका छौँ। भोजपुर नरपालिकाभित्र प्राथमिक विद्यालयको राम्रो संरचना भएको विद्यालय बनाउन सफल भएका छौँ ।”

भवन निर्माणसँगै वडाले दशलाख विनियोजन गरेर विद्यालयमा दुई/ दुई वटा स्मार्ट बोर्ड, स्मार्ट टिभी र तीन वटा ल्याप, पाँच वटा कम्प्युटर र एक वटा प्रोजेक्टर प्रदान गरेको वडाध्यक्ष कार्कीले बताए ।

images
images

प्रतिक्रिया दिनुहोस्