Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कम लगानीमै जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती गर्न कृषकलाई प्रेरित गर्दै स्थानीय तह

कम लगानीमै जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती गर्न कृषकलाई प्रेरित गर्दै स्थानीय तह
विज्ञापन
Advertisement

काठमाडौं । तनहुँ जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल कृषि अभ्यास र प्रविधिको अवलम्बन गरी जलवायु अनुकूलन क्षमताको विकास गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, जिल्ला समन्वय समिति तनहुँ, कृषि ज्ञान केन्द्र र ऋषिङ गाउँपालिकाको समन्वयमा जलवायसमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालन गरिएको छ । ऋषिङ–७ आम्चोकमा २३ घरधुरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रममा सहभागी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको जलवायुजन्य जोखिमका दृष्टिले तुलनात्मक रुपमा बढी संवेदनशील रहेको क्षेत्र पहिचान गरी कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । लामिछानेले भने, “जलवायु परिवर्तनको असरले खेती प्रणालीमा परेको असरलाई न्यूनीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो ।” जलवायु परिवर्तनको प्रभाव अधिकांश स्थानमा परेको छ । यस्ता समस्या तथा जोखिमलाई सुहाउँदो उत्पादनमा जोडने प्रयासमा लगानी बढाएको उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कम बजेटमा सुरुआत गरिएको खेतीले उत्पादन र उतपादकत्व वृद्धिमा सहयोग पु¥याउन सक्नुपर्नेमा जोड दिए । उनले भने, “सिँचाइको समेत अभाव रहेको स्थानमा पम्पिङ गरी ल्याई उपयोग गरिएको छ, कम बजेटमा गर्न सकिन्छ भन्ने शंकाका साथ सुरुआत गरिएको सफल भइरहेको छ, यसले कृषकका साथै हामीलाई प्रेरित गरिएको महसुस भएको छ ।” मौसम अनुकूलको उत्पादनलाई अगाडि बढाउने प्रयास ज्ञान केन्द्रले गरेको उनको भनाइ छ । स्थानीय तहले पनि जलवायु परिवर्तन भइरहेको अवस्थामा सुहाउँदो उत्पादन र उत्पादकत्व दिने गरी कृषि प्रणालीको विकास र अवलम्बन गर्न आवश्यक रहेको उनले धारणा राखे । “यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ र यस प्रणालीको अवलम्बन गरी गरिएको खेतीबाट कृषक आयस्तरसँग जोडन सक्नुपर्छ,” उनले भने ।

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कृषकलाई तालिम, आवश्यकताका आधार पहिचान गरी रोजगार बनाउने योजनासहित अगाडि बढेको बताए । “यहाँ गरिएको खेती नमूना बनाउनेछौं, यो कार्यक्रमलाई प्रभावकारी र नमुना कार्यको रुपमा विकास गर्नेछौं र सबैले हेर्ने तथा आकर्षण गर्ने क्षेत्रका रुपमा विकास गर्नेछौँ ।” यस्तै, कृषि, भूमि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका उपसचिव गोविन्द पाण्डेले मौसम परिवर्तनले अत्यधिक वर्षा तथा कम वर्षाको समयमा पनि खेती गर्न सक्ने गरी कार्यक्रम सञ्चालनमा आएको बताए । उनले भने, “जलवायु परिवर्तनमा नै उत्पादन लिने गरी खेतीलाई विकास गर्ने लक्ष्य हो, यहाँ उत्पादनलाई बीउ उत्पादनमा जोडेर प्रदेश सरकारले खरिद बिक्री गरी अन्यत्र प्रवर्द्धन गर्न सकिनेछ ।”

जलवायुजन्य प्रकोप तथा जोखिमको अवस्था, समुदायको सामाजिक, आर्थिक अवस्था, भौगोलिक विकटता, खाद्य सुरक्षाको अवस्थाको अध्ययन तथा अनुसन्धान गरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो । आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटबाट कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । १० लाख रुपैयाँ लागतमा लिफ्टिङ र थोपा सिँचाइमार्फत खेती गर्ने गरी जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए ।

“चालु आर्थिक वर्षमा ऋषिङ–७ आम्चोक र देवघाट–४ मा यो कार्यक्रम सञ्चालन भइरहेको छ, यसको सुरुआतले कृषकमा उत्साह जगाउन मद्दत पुगेको छ”, उनले भने। माटोको स्वास्थ्य प्रवर्द्धनका लागि कोसेबाली उत्पादन प्रवर्द्धन, मिश्रित खेती प्रणाली प्रवर्द्धन, हरियो मल प्रवर्द्धन, गोबर मल तथा गड्यौला मल उत्पादन र प्रयोग, माटो परीक्षणसहित खेती गर्न प्रेरित गर्न सकिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit