
काठमाडौं । बिहानै गोमा विष्ट शङ्खमूल पार्क छेउमा माटो र बालुवा खोज्दै गरेको भेटिइन् । उनले सोमबार घटस्थापनाको दिन जमरा राखेर दसैंको प्रारम्भ रिन तर मनमा खुसी नभएको सुनाइन । उनले भनिन्, ‘दसैं त आयो, तर, मनमा खुसी आएन ।’
गोमाले भन्नुभएझैँ, नजिकिएको दसैंमा विगतको जस्तै उत्साह देखिएको छैन । एक साताअघिको जेनजी प्रदर्शनको गहिरो प्रभाव अझै धेरैको मनबाट हटेको छैन । कतिपय सहिद तथा घाइते परिवार त झन् शोकमै छन् । दसैंमा प्रायः काठमाडौं सुनसान हुन्छ । बाहिर बस्नेहरू घर जाने भएपछि काठमाडौं खाली हुन्छ । त्यो खालिपनमा यहाँका स्थानीयहरू शान्त भएर बस्न पाउने बताउँछन् । तर, पाटनका भक्तमान श्रेष्ठ भने यसपालिको दसैंमा सडक गल्ली शान्त भएपनि मन शान्त नहुने बताउँछन् ।
जेलबाट भागेका अपराधीहरू टोलभरि छन् । शान्त र सुरक्षित भएर कसरी दसैं मनाउने? उनको मनमा खड्किएको प्रश्न हो यो । ‘प्रहरी कार्यालय जलेका छन्, अपराधीहरू बाहिरै घुमेका छन् । पर्वमा चोरी डकैती बढ्ने डर छ नि’, श्रेष्ठले भने । उनका अनुसार यस पालिको दसैंमा एकातिर देशका होनहार युवा गुमाउनु परेको पीडा छभने अर्कोतिर राजनीतिक परिवर्तनका कारण नागरिकको मनमा संसय र निश्चिन्तता छाएको छ ।
जेनजी प्रदर्शनमा स्वतःस्फूर्त होमिएका थिइन् बानेश्वरकी भवानी निरौला । उनीसँगै आन्दोलनमा थुप्रै साथीहरू घाइते भएका छन् भने केहीले ज्यान गुमाए । ‘गोली लागेर साथी अस्पतालमा छ, दसैंमा कसरी खुसी हुन सकुँला र ?’ २० वर्षीया निरौलाले भनिन् । बानेश्वरस्थित फुटपाथ सस्तो बजारका व्यापारी विक्रम भट्टराईका अनुसार विगतमा जस्तो यो वर्ष दसैं किनमेलमा उत्साह छैन । एक साताअघि गोलीको बर्सा भएको अझै उनको कानमा गुन्जिन्छ । कोटेश्वर बस्ने टीका गौतम आज भृकुटीमण्डमा दसैंका लागि किनमेल गर्न पुगे । घरमा आवश्यक सामान र बालबालिकालाई लत्ताकपडा सहित दसैंका लागि किनमेल गरिरहेका उनले भने, ‘केटाकेटीलाई खुसी पार्नु पर्यो, आफ्नो मनमा भने दसैंको उत्सव त्यति छैन ।’
मनोविद् गोविन्द ढकालका अनुसार चाडपर्वले आफन्तमाझ खुसियाली आदानप्रदान गर्छ । यसले समाजमा सामाजिक सद्भाव सिर्जना गर्नाका साथै वर्षभरिको तनाव पिरमर्कालाई पखालेर हलुको बनाउन मद्दत गर्छ । तर, यस वर्ष देशको स्थिति अनुकूल नहुँदा उत्सवमय बन्न नसकेको ढकाल बताउँछन् । असुरक्षित समाज, राजनीतिक अस्थिरताका कारण समाजमा चाडपर्वलाई उत्साहजनक बनाउन कठिनाइ भएको उनको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा ७० भन्दा बढी यवाको मृत्यु भएको छ । केही घाइतेहरू अझैं अस्पतालमा छट्पटाइरहेका छन्भने क्षतिको आँकलन यकित हुन सकेको छैन ।
सार्वजनिक संरचना ध्वस्त भएको छ, सवारी साधन जलाइएका छन् । ६ हजार बढीको संख्यामा जेलबाट भागेका कैदीबन्दी अझै फरार छन् । यस्तो अवस्थामा यस वर्षको बडादसैं खुसी र हर्षोल्लासका साथ मनाउने अवस्थामा नरहेका जेनजी पुस्ताका अगुवाहरू बताउँछन् । तर पनि आआफ्नो गच्छेअनुसार परापूर्वकालदेखि मानिआएको दसैं पर्व मनाउँदै हाम्रो मौलिक धर्म, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने दायित्व हामी नेपालीकै भएकाले त्यसतर्फ ख्यान गर्न सम्बद्ध सबैसँग जेनजी पुस्ताका तर्फबाट अनुरोध गरिएको छ । मधु शाही/ रासस
प्रतिक्रिया दिनुहोस्