Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

देशका लागि जसले ज्यान दियो, उसको परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने?

देशका लागि जसले ज्यान दियो, उसको परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने?
विज्ञापन
Advertisement

अर्घाखाँची । समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौंको बानेश्वरमा प्रहरीको गोली लागेर मृत्यु भएका अर्घाखाँची भूमिकास्थान नगरपालिका–४ धारापानीका माधव सारु मगरको परिवार पनि यो पीडा र चिन्तामा छ ।

परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन्। औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी ? परिवार आज पनि यही प्रश्नले तड्पिएको छ। बीस वर्षीय सहिद माधव सारू मगरको परिवार आज पनि न्यायको प्रतीक्षामा छ ।

सहिद माधव सामान्य किसान परिवारका सम्भावना बोकेका युवा थिए। बुटवलको कान्ति माविबाट १२ कक्षा पास गरेपछि भविष्य खोज्दै काठमाडौं आएका थिए । पढाइमा अब्बल, सबैसँग सहज बोल्ने, अनुशासित र सक्रिय युवाका रूपमा टोल–समुदायमा सबैले चिन्थे उनलाई । बढ्दो भ्रष्टाचार, राज्य संयन्त्रको बेथिति र युवापुस्ताको भविष्यसँग खेलवाड भइरहेको अनुभूति गर्दा माधव जेनजी आन्दोलनमा सहभागी भए । परिवर्तनका लागि सडकमा उत्रने निर्णय उनको अन्तिम यात्राको कारण बन्न पुग्यो ।

आन्दोलनका क्रममा हाम्रो परिवारको सदस्य गुमेको छ, त्यसको पीडा हामीलाई छँदैछ, राज्यले जति सुकै गरे पनि त्यसको पूर्ति पारिवारिक हिसाबले हुन सक्दैन माधवका बुबा चन्द्र भन्छन्, “तैपनि राज्यले सम्झेको छ, सहिद घोषणा गरेको छ र केही क्षतिपूर्ति पनि दिएको छ, त्यसका लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ तर त्योभन्दा अझ बढी हाम्रो अपेक्षा के हो भने अहिले युवा पुस्ताले जुन खालका आवाजहरू सडकमा उठाएको थियो–राज्यमा व्याप्त भ्रष्टाचार, बेथिति, निराशा, बेरोजगारीको विकराल र बढ्दो समस्या, यो देशमा केही पनि सम्भव छैन भनेर युवाहरू विदेश पलायन पनि भइरहेका थिए। अब त्यो खालको आवाज फेरि अर्को पुस्ताले उठाउनु नपरोस् ।”

पछिल्ला नौ वर्ष कतारमा काम गरिरहेका माधवका बुबा चन्द्रबहादुर छोराको मृत्युको खबर पाएलगत्तै स्वदेश फर्किए । सरकारबाट सहिद परिवारको पुनःस्थापनाबारे स्पष्ट योजना आउन ढिलाइ भएपछि घरको आर्थिक भारले थिचिएर उनी फेरि छोराको शोक बोकेर केहिदिन अघि पुनः विदेशिन बाध्य भए। उनको काँधमा श्रीमती तथा छोरा, छोरीको जिम्मेवारी छ । परिवारमा अहिले श्रीमती, १२ वर्षीय छोरा र १० वर्षीया छोरी छन् । छोराले कक्षा ७ मा र छोरीले कक्षा ५ मा अध्ययन गरिरहेका छन् ।

आन्दोलनमा सहभागी हुनु अपराध थिएन, तर निहत्था युवामाथि गोली चलाउने अधिकारी आजसम्म कारबाही बाहिर रहेको परिवारको गुनासो छ। माधवकी आमा मधु सारु भने अझै पनि शोकबाट उठ्न सकेकी छैनन् । उनले भनिन्, “घरमा माधवको कोठा, किताब र गीत बजाउने बानी सबै उस्तै छन्, तर माधव मात्र छैनन् ।” उनको मौनता र आँसु घरैभरि छ । पीडाको प्रत्यक्ष प्रमाण बनेर बसेको छ ।

पुत्र शोकको पीडा सहँदै आमा मधु भन्छिन्, “देशका लागि जसले ज्यान दियो, त्यहीका परिवारलाई देशले बचाउन सक्दैन भने हामीले कसरी गर्व गर्ने?” उनको प्रश्न छ। “देश बदल्ने सपनामा लागेका छोरालाई हामी गुमायौँ तर त्यो सपनालाई मर्न दिनुहुँदैन । जबसम्म न्याय स्थापित हुँदैन, तबसम्म छोराको बलिदानको अर्थ अधुरै रहन्छ ।” गोली हान्नेहरूलाई कानुनी सजाय दिनु र सहिद परिवारका लागि स्वदेशमै स्थायी रोजगारी प्रदान गर्नुपर्नेमा उनको जोड रहेको छ ।

परिवारको जेठो छोरा माधव परिवारकै मुख्य सहारा थिए । बुटवलको कान्ति माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरी रोजगारी र पढाइका लागि काठमाडौं गएका उनी परिवर्तन, सुशासन र प्रणाली सुधारको सपना बोकेर जेनजी आन्दोलनमा सहभागी भएका थिए । तर निहत्था आन्दोलनकारी माथि गोली प्रयोग हुँदा उनको कलिलो उमेरमै जीवन समाप्त भयो ।

उनका साथी पुस्कर पौडेल भन्छन्, “माधव एउटा व्यक्ति मात्र होइन, युवापुस्ताको पीडा र आक्रोशको प्रतिनिधि थिए । उनको मृत्युले परिवर्तन खोज्ने पुस्ता कति असुरक्षित छ भन्ने सन्देश दिएको छ। जबसम्म उनीहरुको योगदानको सम्मान हुँदैन, सहिदको आत्मा शान्त हुँदैन ।”

माधवको बलिदानलाई अर्थपूर्ण बनाउन राज्यले पारदर्शी छानबिन, दोषीमाथि कारबाही र सहिद परिवारको पुनःस्थापनामा गम्भीरता देखाउन ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit