काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याकचरर्स एसोसिएशन (नाइमा) ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र क्षतिग्रस्त यातायात व्यवस्था विभागको भौतिक पुनः निर्माका लागि सहयोग प्रदान गरेको छ।
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नाइमाले आपतकालीन सहयोग प्रदान गरेको जनाएको छ। नाइमा अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सहितको टोलीले मङ्गलबार सो सहयोग उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेललाई हस्तान्तरण गरेको हो ।
नाइमाले दुवै संस्थालाई करिब ३० लाख रुपैयाँ बराबरको सहयोग गरेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुई थान डेस्कटप कम्प्युटर, एक थान प्रिन्टर, एसी, फर्निचर तथा फर्निसिङका करिब १२ लाख ८४ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको छ । साथै, यातायात व्यवस्था विभागको भवन मर्मतसम्भारका लागि नाइमाले १६ लाख ९३ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको जनाएको छ ।
विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको र सोही सहयोगको कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको बताउँदै संस्थाप्रति आभार व्यक्त गरे । यस्तै, उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख अधिकारीले आपतकालीन सहयोगको उच्च प्रशंसा गरे । उनले स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक कार्यालयसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै संस्थालाई ट्राफिक शिक्षा र व्यवस्थापनको एक भरपर्दो सहयात्रीको रुपमा चित्रण गरेको नाइमाले जनाएको छ।
कार्यक्रममा अध्यक्ष वैद्यले संकटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको र आगामी दिनहरूमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन् ।
कार्यकारी निर्देशक दुलालले यातायात व्यवस्था विभाग मीनभवनको मुख्य भवनको सम्पूर्ण झ्याल र ढोकाहरूको पुननिर्माण र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ, कम्प्युटर, प्रिन्टर लगायतको सहयोग उपलब्ध गराइएको बताए ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्