Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

दुबईबाट फर्किएर माछापालन, १६ लाख रुपैयाँ बढी आम्दनी गर्दे शैलेन्द्र 

दुबईबाट फर्किएर माछापालन, १६ लाख रुपैयाँ बढी आम्दनी गर्दे शैलेन्द्र 
विज्ञापन
Advertisement

भद्रपुर (झापा) । विदेश जानु नै सफलता हो भन्ने आम बुझाइकाबीच यहाँको हल्दीबारी–४ जलथलका शैलेन्द्र सिटौलाले भने विदेशबाट फर्किएर नेपालकै माटोमा पसिना बगाउँदा आत्मसन्तुष्टि र आर्थिक उन्नति दुवै सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

स्नातक तहको अध्ययन सकेपछि सन् २०१५ मा भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेका शैलेन्द्र त्यहाँ एक वर्ष पनि टिक्न सकेनन् । मरुभूमिको देशमा सीमित पानी र प्रतिकूल वातावरण हुँदाहुँदै पनि आधुनिक प्रविधिको प्रयोग गरेर कृषि र पशुपालन सफलतापूर्वक गरिएको देखेपछि उनको सोच बदलियो । “यदि मरुभूमिमा खेती सम्भव छ भने हरियाली नेपालमा किन हुँदैन ?” यही प्रश्नले उनलाई स्वदेश फर्काइदियो ।

विस २०७४मा नेपाल फर्किएपछि शैलेन्द्रले हल्दीबारीमा दुई बिघा क्षेत्रफलमा माछापालन सुरु गरे । सुरुवातमा करिब १० लाख रुपैयाँ लगानी गरी पोखरी, तटबन्धलगायतका संरचना निर्माण गरे । हाल उनका पाँच वटा पोखरी छन्, जहाँ व्यावसायिक रूपमा माछापालन भइरहेको छ । उनको फार्ममा मुख्यतया पंगास जातका माछा पालिन्छन् । साथै केही मात्रामा कार्प प्रजातिका माछा पनि छन् । साना पोखरी भने माछाको भुरा उत्पादनका लागि छुट्टै राखिएको छ । हाल उनको पोखरीमा करिब ३५ हजार भुरा छन् ।

बजारमा बिक्रीका लागि तयार माछा एक केजीदेखि अढाई केजीसम्मका छन् । वार्षिक रूपमा करिब ३० टन माछा बजारमा पठाउने गरेको शैलेन्द्र बताउँछन् । माछापालनमार्फत उनले तीन जनालाई प्रत्यक्ष रोजगारी दिएको बताए । “आफूले विदेश जानुपर्ने बाध्यता नपरोस् भन्ने मेरो चाहना हो,” उनी भन्छन् “यही व्यवसायले अरूलाई पनि रोजगारी दिएको छ, यही नै ठूलो उपलब्धि हो ।”

खर्च कटाएर वार्षिक १६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ । कुल लगानीको करिब २० प्रतिशत नाफा लिन सकिएको छ। सुरुवातदेखि नै माछापालन व्यवसाय राम्रो चलिरहेको शैलेन्द्रको अनुभव छ । यद्यपि सफलतासँगै चुनौती पनि कम छैनन्। सबैभन्दा ठूलो समस्या बजार र मूल्य भएको उनले बताए। उनका अनुसार किसानबाट माछा प्रतिकेजी २४० रुपैयाँमा किनिन्छ, तर त्यही माछा बजारमा ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।“हामी उत्पादन गर्छौं, जोखिम लिन्छौँ, तर मूल्य निर्धारण बिचौलियाले गर्छ,” उनको गुनासो छ । मुख्य बजार विर्तामोडस्थित कृषि थोक बजार भए पनि किसानको पहुँच र प्रभाव सीमित रहेको उनको भनाइ छ ।

अर्को समस्या भारतबाट अवैध रूपमा भित्रिने माछा हो । शैलेन्द्रका अनुसार भारतबाट कतिपय मरेका माछा फर्मालिन प्रयोग गरेर नेपाली बजारमा भित्रिन्छन्, जसले उपभोक्ताको स्वास्थ्यमा जोखिम त बढाउँछ नै, स्वदेशी किसानलाई मूल्य पनि घटाएर बेच्न बाध्य बनाउँछ । “यदि सरकारले दुई–तीन महिना मात्र भारतबाट आउने माछा कडाइका साथ नियन्त्रण गरिदिने हो भने हामीजस्ता किसानलाई ठूलो राहत मिल्थ्यो,” उनले भने। शैलेन्द्र आफूलाई कृषक भनेर चिनाउन पाउँदा गर्व गर्छन् । “कृषि पेसा सम्मानित पेसा हो । यसले आत्मसन्तुष्टि दिन्छ । मेरो लागि सबैभन्दा ठूलो कमाइ यही हो ।”

उनका अनुसार युवा विदेशिनु बाध्यता हो, तर यदि नीति, बजार र संरक्षण सही भए धेरै युवा नेपालमै टिक्नसक्ने शैलेन्द्रको ठम्याइ छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit