काठमाडौं। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रमलाई चैत महिनामा पनि निरन्तरता दिएका छन्। फागुनको तुलनामा आज(चैत १ गते) देखि लागू हुने गरी ६ वटा वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् भने १४ वटा बैंकले ब्याजदर स्थिर राखेका छन्।
चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.४९ प्रतिशत कायम भएको छ, जुन फागुनमा ४.५७ प्रतिशत थियो। संस्थागततर्फ पनि ब्याजदर घटेर औसत ३.२९ प्रतिशतमा झरेको छ।
यस पटक सबैभन्दा आक्रामक रूपमा ब्याजदर घटाउनेमा नेपाल बैंक देखिएको छ । बैंकले व्यक्तिगततर्फ ०.६० प्रतिशत बिन्दुले कटौती गरी ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ। कुमारी बैंकले पनि ०.४१ प्रतिशतले ब्याजदर घटाएको छ। यद्यपि, एनएमबि, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंकले भने ५ प्रतिशतको अधिकतम सीमालाई अझै कायमै राखेका छन्।
यस्तै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक,एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, एनएमबि बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंकनबिल बैंक र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् ।
हाल बैंकहरूमा निक्षेप संकलनको तुलनामा कर्जाको माग न्यून छ। बजारमा पैसा थुप्रिएपछि बैंकहरूले लागत घटाउन ब्याजदर घटाएका हुन्। यस्तै, निर्माण र उत्पादनमूलक क्षेत्रमा अपेक्षित सुधार नहुँदा नयाँ कर्जाको माग बढ्न सकेको छैन जसले अर्थतन्त्रमा सुस्तता थपेको छ।
ब्याजदर निरन्तर घट्दा आधार दर घट्ने र यसले पुराना तथा नयाँ ऋणीहरूका लागि प्रिमियम घटेर सस्तो ब्याजदरमा ऋण उपलब्ध हुनेछ। यसले उद्योगी व्यवसायीहरूलाई भने नयाँ लगानीका लागि प्रोत्साहित गर्न सक्छ। यदि कर्जाको मागमा सुधार आएन भने आगामी महिनाहरूमा ब्याजदर अझै एकल अंकको तल्लो विन्दुतर्फ झर्न सक्ने संकेत पनि देखिन्छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्