काठमाडौं । विश्वको तेल आपूर्तिको ‘लाइफलाइन’ मानिने स्ट्रेट अफ होर्मुज इरानले बन्द गरिएपछि विश्व राजनीति र अर्थतन्त्रमा एउटा नयाँ र भयावह मोड आएको छ। अमेरिका–इजरायल युद्धको प्रतिउत्तरमा इरानले चालेको यो कदमले केवल तेलको मूल्य मात्र बढाएको छैन, बरु अन्तर्राष्ट्रिय जलमार्गमा व्यापारिक जहाजहरूको सुरक्षामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
ऊर्जा बजारमा संकटको झल्को
इरानको यो कदमपछि कच्चा तेलको मूल्य एकाएक ४० देखि ५० प्रतिशत सम्म उकालो लाग्नु विश्व अर्थतन्त्रका लागि शुभ संकेत होइन। सोमबार तेलको मूल्य प्रति ब्यारेल १०० डलर आसपास पुग्नुले सन् १९७० को दशकको ऊर्जा संकटको झल्को दिएको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया :अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले ४० करोड ब्यारेल रणनीतिक भण्डार बजारमा पठाउने निर्णय गरे तापनि माग र आपूर्तिको खाडल पुर्न यो पर्याप्त नहुन सक्छ।
क्षेत्रीय असर : ९५ प्रतिशत तेलका लागि खाडीमा निर्भर जापान र आयातित इन्धनमा बाँचेका अस्ट्रेलिया र भारतजस्ता देशहरूमा यसको प्रत्यक्ष असर देखिन थालिसकेको छ। नेपाल पनि पेट्रोलियम पदार्थमा भारतसँग पूर्ण निर्भर रहेकाले नेपाली भान्सादेखि सडकसम्म त्यसको असर देखिन थालिसकेको छ । आइतबार मात्र भारतले नेपालका लागि पेट्रोल र डिजेलको मूल्य बढाएर पठाइसकेको छ । खाडी राष्ट्रमा १७ लाख नेपाली रोजगारीमा रहेकाले युद्ध चर्किंदै गए नेपाली अर्थतन्त्र सँगै सामाजिक आर्थिक रुपमा पनि ठूलो असर पर्ने विज्ञहरुले चेतावनी दिइसकेका छन् ।
व्यापारिक जहाजमाथि आक्रमण र मानवीय क्षति
हालै थाई कार्गो जहाज ‘मयुरी नरी’ माथि भएको आक्रमणले यो युद्ध अब सैन्य अड्डाबाट सरेर व्यापारिक मार्गसम्म आइपुगेको पुष्टि गर्छ। उक्त जहाजका २० जना चालक दलका सदस्यहरू मुस्किलले घर फर्किए पनि ३ जना अझै बेपत्ता हुनुले सामुद्रिक व्यापारमा संलग्न श्रमिकहरूको सुरक्षा जोखिमलाई पनि सतहमा ल्याएको छ। थाई विदेशमन्त्रीले इरानसँग गरेको सहयोगको अपिलले देखाउँछ कि अब साना र असंलग्न राष्ट्रहरू पनि यो द्वन्द्वको चपेटामा परिरहेका छन्। यसले अन्य राष्ट्रहरुमा कुटनीतिक दबाब पनि बढाएको छ ।
ट्रम्पको ‘ट्रान्स–एटलान्टिक’ र ‘एयियन’ दबाब
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संकटलाई आफ्नो भू–राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन खोजेका छन्। इरान–इजरायल युद्धमा इजरायलको साथ दिएर इरनमाथि हमला गरेका ट्रम्पलाई यतिबेला आफ्नै निर्णय भारी परिरहेको छ । विशेषगरी उनको उक्त फैसलाले यतिबेला विश्व बजारमा उर्जा संकट सँगै बहुआयामिक क्षेत्रमा असर परिरहेको छ ।
चीन र नाटोलाई चेतावनी
इरानले होर्मुज क्षेत्र बन्द गरिदिएपछि चीनलाई तेल ट्याङ्कर सुरक्षाका लागि नौसेना पठाउन आग्रह गर्दै ट्रम्पले सहयोग नगरे शिखर सम्मेलन रद्द गर्ने धम्की दिएका छन् । अमेरिकी राष्ट्रपतिले चीनसँगै फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतजस्ता देशहरूलाई स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूको सुरक्षाका लागि नौसैनिक जहाज पठाउन आग्रह गर्नुले ट्रम्पले गरेको निर्णयको मूल्य ‘अमेरिका एक्लै नभई सबै मिलेर चुकाउनुपर्ने’ झल्काएको छ । विशेषगरी ट्रम्पले बेइजिङले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनका प्रयासमा सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यस महिनाको अन्त्यमा हुने तय गरिएको शिखर सम्मेलन स्थगित हुन सक्ने चेतावनी दिएका हुन्। उनले आफ्नो आग्रह चीनले अस्वीकार गरे त्यसले नाटोको भविष्यका लागि पनि नकारात्मक प्रभाव पार्ने प्रस्ट बताएका छन् ।
शक्ति राष्ट्रहरूको द्विविधा
जापान र अस्ट्रेलियाले तत्काल सैन्य परिचालन नगर्ने बताएर संयमता अपनाउन खोजेका छन् । जसले अमेरिकाको दबाब र क्षेत्रीय सन्तुलनबीचको दरार देखाउँछ। यद्यपी भारतलगायत धेरै जसो देशले अमेरिकाको कदमका विरोधमा अझै केही प्रतिक्रिया दिएका छैनन् ।
ऊर्जा बजारको आपूर्ति सङ्कट टार्न ४० करोड ब्यारेल तेल झिक्ने
ऊर्जा बजारमा भएको आपूर्ति सङ्कट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट करिब ४० करोड ब्यारेल तेल बजारमा पठाउन सुरु गर्ने निर्णय गरेका छन् । एसिया–ओसिनिया क्षेत्रका देशहरूले तत्काल भण्डार उपलब्ध गराउनेछन् भने युरोप र अमेरिकाले आगामी हप्तामा त्यसलाई पछ्याउने अपेक्षा गरिएको छ । तर, मध्यपूर्वबाट आउने तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले आफ्नो सरकारी राजपत्रमार्फत देशको तेल भण्डार स्तर घट्दै गएको सूचना जारी गरेको छ। यस कदमले भण्डार व्यवस्थापकहरूलाई केही तेल बजारमा छोड्न बाध्य पार्नेछ । स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्वका विभिन्न देशमा त्यसको प्रभाव देखिन थालेको छ। अस्ट्रेलियाका अधिकारीहरूले मूल्य वृद्धि र हडबडाहटमा किनमेल नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। भारतमा भने आयात अवरोधका कारण रेस्टुरेन्टहरूले खाना पकाउने ग्यास बचत गर्न मेनु परिवर्तन थालेको विवरणहरु सञ्चारमाध्यममा आएका छन् ।
युद्धको १७ औँ दिन पनि इरान आफ्नो अस्तित्वका लागि लडिरहँदा उसले होर्मुजलाई ‘रणनीतिक अस्त्र’ का रूपमा प्रयोग गरेको छ । यसको मूल्य भने असंलग्न र साना राष्ट्रहरूले बढी चुकाउनु परिरहेको छ। यो इरानले होर्मुजलाई यदि कूटनीतिक निकास तत्काल ननिस्कने हो भने, यो संकट उर्जाबाट सरेर खाद्यान्न र सुरक्षा संकटसम्म फैलिने निश्चित छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्