काठमाडौं। नेपाल ‘कृषिप्रधान देश’ भन्ने नारामा मात्र सीमित हुन थालेको संकेत पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो आठ महिनामा मात्रै नेपालले २७ अर्ब ९१ करोड रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार, यो अघिल्लो वर्षको तुलनामा करिब १४.६ प्रतिशतको वृद्धि हो।
भन्सार विभागको विवरण अनुसार यस वर्ष सबैभन्दा बढी आयात हुने वस्तुमा चामल नै अग्रस्थानमा देखिएको छ। गत वर्ष २४ अर्ब ३६ करोडको चामल भित्रिएकोमा यस वर्ष त्यो आँकडा झन्डै २८ अर्ब पुग्न लागेको छ। यस वर्ष चामल आयात १४.६ प्रतिशतले वृद्धि भई २७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा साढे ३ अर्ब रुपैयाँले बढी हो ।
त्यस्तै, प्रमुख अन्न बालीअन्तर्गत पर्ने मकैको आयात पनि ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १ अर्ब २ करोड (१४.८ प्रतिशत)ले बढी हो। पशुपंक्षीको दानाका लागि मकैको माग बढे पनि स्वदेशी उत्पादनले त्यसलाई धान्न नसकेको तथ्याङ्कले पुष्टि गर्छ।
तरकारी र फलफूलमा पनि परनिर्भरता
आम नागरिकको भान्सामा दैनिक प्रयोग हुने आलु र प्याजको आयातको ग्राफ पनि बढ्दो छ । प्याज आयातमा सबैभन्दा उच्च १९.७ प्रतिशतको वृद्धि देखिएको छ। आठ महिनामा नेपालमा ४ अर्ब ९२ करोडको प्याज आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। यस्तै, ६ अर्ब ७९ करोड रुपैयाँको आलु आयात भएको छ, जुन गत वर्षको तुलनामा १४.३ प्रतिशतले बढी हो। फलफूलतर्फ ८ अर्ब ११ करोडको स्याउ आयात भएको छ, जसमा १५.५ प्रतिशतको बढोत्तरी देखिएको छ।
स्वदेशमै पर्याप्त उत्पादन हुनसक्ने चामल, मकै, आलु र प्याज जस्ता वस्तुमा समेत वैदेशिक निर्भरता झन् झन् बढ्नुले देशको अर्थतन्त्रमा चुनौती थपेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्