काठमाडाैं । पछिल्लो समय जेनजी आन्दोलन हुँदै निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमतसहितको नयाँ सरकार बनाउने तयारीमा जुटेको छ । जेन जी आन्दोलनबाट निजी क्षेत्रले जुन खालको ब्यक्तिगत र संस्थागत पिडा खेप्नु प¥यो आगामी सरकारबाट निजी क्षेत्रले यी सबै पीडालाई भुलेर आर्थिक सुधार र निजी क्षेत्रले नीतिगत सुधारसहित सुशासनको अपेक्षा राखेका छन् । यो सरकारले पनि काम गर्न नसकेको खण्डमा आम नागरिक र निजी क्षेत्रलाई झनै ठुलो चुनौति थपिने उनीहरु बताउँछन् । नयाँ सरकार लगानी, आगामी निति र व्यवसायीक जीवनमा आधारित रहेर एमएस ग्रुपका अध्यक्ष शशिकान्त अग्रवालसँग कर्पोरेट समाचारले गरेको कुराकानीको सम्पादित अंश :
जेन जी आन्दोलनपछि आएको चुनावी परिणामले करिब दुई तिहाइको सरकार बन्ने अवस्था देखिएको छ। विगतमा अस्थिर सरकारका कारण लगानीमैत्री वातावरण बनाउन कठिन भइरहेको थियो। अब त्यो अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। निजी क्षेत्रले यसलाई कसरी लिएको छ?
यस निर्वाचनको परिणामपछि बलियो सरकार बन्ने सम्भावना देखिएकाले निजी क्षेत्र निकै आशावादी बनेको छ। विगतमा सरकारले चाहेर पनि गर्न नसकेका धेरै काम थिए। विशेषगरी उद्योग–व्यवसायलाई असर पारिरहेका कानुनहरू सुधार गर्नुपर्ने आवश्यकता सबैले महसुस गरेका थिए, तर पर्याप्त जनमत, स्पष्ट अठोट र स्थिरता नहुँदा ती सुधारहरू अघि बढ्न सकेनन्। अब भने परिस्थितिमा परिवर्तन आएको छ। बलियो जनमतसहित आएको सरकारले अवसरसँगै ठूलो जिम्मेवारी पनि बोकेको हुन्छ। जनताले जति विश्वास र मत दिएका छन्, त्यसअनुसार सरकारले काम गरेर देखाउनुपर्ने अपेक्षा निजी क्षेत्रको छ।
कुनै पनि देशमा राजनीतिक स्थायित्व मात्र पर्याप्त हुँदैन, त्यससँगै आर्थिक प्रगति पनि उत्तिकै आवश्यक हुन्छ। आर्थिक विकास भयो भने समाजका विभिन्न क्षेत्र आफ्नो आफ्नो भूमिकामा केन्द्रित हुन सक्छन् । राजनीतिज्ञले राजनीति गर्ने, उद्योगी–व्यवसायीले व्यवसाय गर्ने र अन्य क्षेत्रका मानिसले आफ्नो काममा ध्यान दिने वातावरण बन्छ। तर आर्थिक अवसर नहुँदा धेरै मानिस राजनीति तर्फ आकर्षित हुने अवस्था देखिन्छ।
अहिले निजी क्षेत्रले के अपेक्षा गरेको छ भने अब नयाँ अवसरहरू सिर्जना हुन्, लगानीको वातावरण बन्नोस्, र आर्थिक गतिविधिले गति लियोस्। व्यवसायीहरू पहिले पनि काम गर्न तयार थिए, तर पर्याप्त अवसर र अनुकूल वातावरणको अभाव थियो। अब भने नयाँ आयामहरू खुल्ने, नयाँ अवसरहरू आउने, र नेपालमा उदारीकरणको अर्को चरण सुरु हुन सक्ने आशा गरिएको छ। निजी क्षेत्र अहिलेको राजनीतिक परिणामप्रति निकै सकारात्मक र आशावादी देखिएको छ।
जेन जी आन्दोलनका क्रममा निजी क्षेत्रले जुन प्रकारको क्षति र असहज अवस्था भोग्नुप¥यो, त्यसलाई परिवर्तनका लागि गरिएको कदम मान्ने कि निजी क्षेत्रमाथि नियोजित प्रहारका रूपमा बुझ्ने?
यो आन्दोलन मूल रूपमा परिवर्तनको उद्देश्यले भएको देखिन्छ, निजी क्षेत्रलाई लक्षित गरेर नियोजित रूपमा प्रहार गर्न खोजिएको थियो भन्ने ठोस आधार देखिँदैन। तर आन्दोलनका क्रममा भएको जनधनको क्षति भने दुःखद र अपूरणीय छ। निजी क्षेत्रले कहिल्यै पनि जनधनको क्षतिलाई समर्थन गर्दैन, न त त्यस्तो गतिविधिलाई प्रोत्साहन नै गर्छ।
कुनै पनि असन्तुष्टि वा विरोध व्यक्त गर्ने विभिन्न लोकतान्त्रिक र वैकल्पिक माध्यमहरू हुन सक्छन्। तर तोडफोड, आगजनी र हिंसात्मक गतिविधिले अन्ततः देशलाई नै नोक्सान पु¥याउँछ। यसबाट निजी क्षेत्र मात्र होइन, समग्र अर्थतन्त्र र समाज नै प्रभावित हुन्छ।
यस्ता घटनाको दीर्घकालीन असर अझ गम्भीर हुन्छ। उदाहरणका लागि, नेपालीहरूलाई विदेश भ्रमण वा भिसा प्रक्रियामा समेत असर पर्न सक्छ। त्यसैगरी, दंगा र आगजनीका घटनापछि बीमा प्रिमियम पनि बढ्ने अवस्था आउँछ। नेपालका बीमा कम्पनीहरूले बाहिर पुनर्बीमा गराउनुपर्ने भएकाले यस्ता जोखिम बढ्दा प्रिमियम स्वतः महँगो हुन्छ। पहिले कुनै होटलले वार्षिक ५० लाख रुपैयाँ बीमा शुल्क तिथ्र्यो भने अब त्यही होटलले ७० वा ८० लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन सक्छ। अन्ततः यसको भार व्यवसाय, उपभोक्ता र देशको अर्थतन्त्रमा नै पर्छ।
त्यसकारण, जे भयो त्यो दुःखद थियो, तर अब त्यही घटनामै अल्झिरहने होइन। त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ। अब नयाँ सोच, आपसी समझदारी र सहकार्यका साथ नयाँ नेपाल निर्माणमा सबै पक्ष लाग्नुपर्ने आवश्यकता छ। निजी क्षेत्र पनि यही दिशामा सकारात्मक भूमिका खेल्न तयार छ।
जेन जी आन्दोलनका क्रममा विशेषगरी राजनीतिक निकटता राख्ने वा बढी चर्चामा रहेका केही संस्था र व्यक्तिलाई केन्द्र राखिएको देखियो। यसले व्यवसायीहरू राजनीतिक रूपमा नजिक भएकै कारण लक्षित प्रहारमा परेका हुन् भन्ने बुझाइ दिन्छ कि दिँदैन?
उद्योगी–व्यवसायीलाई पनि संविधानले अन्य नागरिकसरह राजनीति गर्ने अधिकार दिएको छ। त्यसैले कुनै व्यवसायी संविधानको दायराभित्र रहेर राजनीतिमा संलग्न हुनु स्वाभाविक कुरा हो। संसारका धेरै विकसित र विकासोन्मुख देशहरूमा पनि व्यवसायीहरू राजनीतिमा सक्रिय देखिन्छन्। धेरै संसदहरूमा उल्लेख्य संख्यामा उद्योगी–व्यवसायीको उपस्थिति हुन्छ। यसले नीति निर्माणमा व्यावहारिक अनुभव र आर्थिक दृष्टिकोण ल्याउन मद्दत गर्छ।
व्यवसायी राजनीतिमा आउनु आफैंमा नकारात्मक कुरा होइन। बरु निश्चित प्रतिशतमा व्यवसायीहरूको सहभागिताले राजनीति र अर्थतन्त्रबीच राम्रो समझदारी र समन्वय बनाउन मद्दत गर्न सक्छ। यसलाई केवल शंकाको दृष्टिले मात्र हेर्नु उपयुक्त हुँदैन। जहाँसम्म ‘कन्फिल्ट अफ इन्ट्रेस्ट’ को कुरा छ, त्यो सम्भावनालाई नकार्न सकिँदैन, तर त्यस्तो जोखिमलाई नियन्त्रण गर्ने विभिन्न संस्थागत संयन्त्रहरू हुन्छन्। कुनै मन्त्री वा जनप्रतिनिधिको काममाथि प्रधानमन्त्री, मन्त्रिपरिषद्, संसद, सम्बन्धित निकाय, सञ्चारमाध्यम र सार्वजनिक निगरानी सबैको ध्यान रहन्छ। कसैले आफ्नो पदको दुरुपयोग गरेको वा स्वार्थ बाझिने काम गरेको देखिएमा त्यसलाई रोक्ने र सच्याउने व्यवस्था हुन्छ। त्यसैले सम्भावित जोखिमकै आधारमा व्यवसायीलाई राजनीतिबाट टाढा राख्नु उचित हुँदैन।
जेन जी आन्दोलनलाई पनि व्यवसायीविरोधी रूपमा मात्र बुझ्नु सही नहुन सक्छ। यो आन्दोलन मुख्यतः युवा, पढेलेखेका र परिवर्तन चाहने समूहले अघि बढाएको देखिन्छ। यस्ता युवाहरू निजी क्षेत्र, उद्यमशीलता, स्टार्टअप र निजी पहलको महत्त्व बुझ्ने समूह नै हुन्। उनीहरू आफैं पनि भविष्यमा उद्यमी बन्ने सोच राख्न सक्छन्। त्यसैले आन्दोलनको मूल भावना निजी क्षेत्रको विरोध होइन, बरु एउटा व्यापक असन्तुष्टि र परिवर्तनको चाहना थियो भन्ने बुझ्नुपर्छ। त्यो क्रममा केही व्यक्ति वा संस्था बढी चर्चामा आए वा लक्षितजस्तो देखिए पनि त्यसलाई सम्पूर्ण निजी क्षेत्रविरुद्धको संगठित अभियानका रूपमा बुझ्नु उपयुक्त नहुन सक्छ। त्यो समयको भावनात्मक लहर, परिस्थितिजन्य प्रतिक्रिया र असन्तुष्टिको अभिव्यक्ति पनि हुन सक्छ। त्यसैले यसलाई सन्तुलित ढंगले बुझ्न आवश्यक छ।
अहिले इरान–इजरायल युद्ध चलिरहेको छ। यसको असर नेपालमा पनि देखिन थालेको छ। इन्धनको मूल्य बढ्ने, खाना पकाउने ग्यासमा अभाव देखिने र व्यवसायमा दबाब पर्न थालेको अवस्था छ। अहिले नै यो कहाँसम्म जान्छ भन्ने निश्चित छैन। यस्तो परिस्थितिलाई एउटा व्यवसायीको तर्फबाट कसरी हेर्नुहुन्छ?
यो हाम्रो दुर्भाग्य नै भन्नुपर्छ कि नेपालले हरेक केही वर्षमा कुनै न कुनै बाह्य झट्का भोगिरहनुपरेको छ। तर सकारात्मक कुरा के हो भने नेपाली अर्थतन्त्र र निजी क्षेत्र यस्ता धक्काहरू सहेर पनि फेरि उठ्ने क्षमता राख्छन्। अहिलेको इरान–इजरायल युद्ध पनि त्यस्तै अर्को ठूलो बाह्य संकटका रूपमा आएको छ।
यसको असर नेपालमा धेरै तहमा पर्छ। पहिलो कुरा, हाम्रो व्यापार प्रणाली नै धेरै हदसम्म वैदेशिक आपूर्ति र आयातमा निर्भर छ। त्यसैले मध्यपूर्वमा तनाव बढ्दा इन्धनको मूल्य मात्र होइन, कच्चा पदार्थ, ढुवानी खर्च र आपूर्ति प्रणाली सबै प्रभावित हुन्छन्। धेरै उद्योगका कच्चा पदार्थ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पेट्रोलियममा आधारित हुन्छन्। उदाहरणका लागि, धागो, प्लास्टिक, रसायन, प्याकेजिङ, स्टिल, लत्ताकपडा लगायत धेरै क्षेत्रमा यसको असर पर्छ। अहिले मूल्य बढ्ने मात्र होइन, कतिपय कच्चा पदार्थ उपलब्ध गराउनै कठिन हुन थालेको छ।
युद्धका कारण विश्व बजारमा तेलको मूल्य चर्किएको छ, एशियामा इन्धन आपूर्ति पनि झन् कडा बन्न थालेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिइसकेको छ। नेपाल आयल निगमले माग पूरागर्न आधा भरिएको एलपीजी सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ।
यसको असर उद्योग व्यवसायमा मात्र सीमित हुँदैन। दैनिक जीवनमै प्रभाव पर्छ। घरको भान्सादेखि लिएर कार्यालय, यातायात, कारखाना र निर्माण क्षेत्रसम्म सबै प्रभावित हुन्छन्। इन्धन महँगो हुँदा ढुवानी खर्च बढ्छ, उत्पादन लागत बढ्छ, र अन्ततः त्यसको भार उपभोक्तामाथि जान्छ। आयात–निर्यातको लागत पनि बढ्छ, जसले समग्र व्यापारिक वातावरणलाई दबाबमा पार्छ।
अर्को ठूलो चिन्ता भनेको मध्यपूर्वमा कार्यरत नेपालीहरूको अवस्था हो। लाखौं नेपाली त्यहाँ रोजगारीमा छन्, त्यसैले यो संकटले उनीहरूको सुरक्षाका साथै रोजगारी र आम्दानीमा पनि असर पार्न सक्छ। नेपाल सरकारको परराष्ट्र मन्त्रालयले इजरायल, इरान र अन्य मध्यपूर्वी देशमा रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ।
यस प्रकारको संकट नेपालले आफैं सिर्जना गरेको होइन, र धेरै हदसम्म हाम्रो नियन्त्रणबाहिरको विषय हो। त्यसैले यस्ता बेलामा मुख्य कुरा भनेको सतर्क व्यवस्थापन हो। सरकारले आपूर्ति सहज राख्ने, आवश्यक परेमा वैकल्पिक व्यवस्था गर्ने, र विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकता दिने काम गर्नुपर्छ। अहिले सरकारी निकायहरू यस विषयमा सजग देखिएका छन्।
व्यवसायको दृष्टिले हेर्दा यो केवल उद्योगी–व्यवसायीको समस्या मात्र होइन, देशकै समस्या हो। किनकि व्यवसायमा असर परेपछि रोजगारी, ढुवानी, बजार, उत्पादन, आयात–निर्यात र उपभोक्ता जीवन सबै प्रभावित हुन्छन्। त्यसैले यसलाई राष्ट्रिय आर्थिक चुनौतीका रूपमा हेर्नुपर्छ। अहिलेकै अवस्थामा यो संकट कहाँसम्म जान्छ भनेर ठ्याक्कै भन्न गाह्रो छ। तर अहिलेको संकेतले के देखाउँछ भने असर गम्भीर छ, यद्यपि धेरै लामो समयसम्म यही तीव्रतामा रहिरहन्छ कि रहँदैन भन्ने अझै स्पष्ट छैन।
जेन जी आन्दोलनपछि पर्यटन आगमन केही बढ्न थालेको देखिन्छ। के यसको प्रभाव होटल व्यवसायमा पनि देखिएको छ?
सबैभन्दा पहिले, म एउटा आधारभूत कुरा स्पष्ट गर्न चाहन्छु। हामीले नेपालमा पर्यटन आगमन बढ्यो भनेर जुन खुशी मान्छौं, त्यो वास्तवमा धेरै सानो आधारमा गरिएको मूल्यांकन हो। हामी अझै पनि वर्षमा १० लाख पर्यटकको लक्ष्यलाई ठूलो उपलब्धि ठानिरहेका छौं, जबकि नेपालको पर्यटन सम्भावना त्यसभन्दा धेरै माथि छ। मेरो विचारमा नेपालले न्यूनतम ५० लाख पर्यटक धान्न सक्ने क्षमता राख्छ।
अहिले अलिकति संख्या बढ्दा पनि हामी धेरै उत्साहित हुन्छौं। तर यसलाई अर्को ढंगले पनि हेर्नुपर्छ। यदि नेपालको वास्तविक सम्भावना ५० लाख पर्यटक वार्षिक हो भने, अहिले बढ्यो भनेर भनिएको संख्या पनि अझै धेरै कम हो। त्यसैले म त भन्छु, पर्यटन बढेको भन्दा पनि हाम्रो सम्भावनाअनुसार अझै निकै कम पर्यटक आइरहेका छन्।
नेपालमा पर्यटनलाई आकर्षक बनाउने प्राकृतिक, धार्मिक, सांस्कृतिक र साहसिक धेरै आधारहरू छन्। यो कुरा बारम्बार दोहो¥याइरहनुपर्ने पनि छैन। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले त्यसअनुसारको पर्यटक ल्याउन सकेका छैनौं। त्यसैले अब नयाँ सरकारले पर्यटन क्षेत्रमा गम्भीर र ठूला सुधारका योजना ल्याउनुपर्छ।
यदि नेपालले वर्षमा ५० देखि ६० लाख पर्यटक भि¥याउन सक्यो भने यसले केवल होटल व्यवसाय मात्र होइन, समग्र अर्थतन्त्रलाई ठूलो टेवा पुग्छ। मेरो विचारमा यसबाट १० देखि १५ लाख नेपालीले राम्रो र सम्मानजनक रोजगारी पाउन सक्छन् । यसले धेरै नेपालीलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताबाट पनि केही हदसम्म मुक्ति दिन सक्छ।
पर्यटन क्षेत्र विस्तार हुँदै जाँदा अझै धेरै सम्भावना सिर्जना हुन्छ। उदाहरणका लागि, पशुपतिनाथमा अहिले लाखौं श्रद्धालु र पर्यटक पुग्छन्, तर अझ धेरै आए पनि त्यसको आकर्षण घट्दैन। त्यस्तै, सगरमाथा हेर्न वा चढ्न जाने पर्यटकको संख्या बढ्दै जाँदा पनि त्यसको महत्व कम हुँदैन। पर्यटन भनेको जति फैलियो, त्यति धेरै आर्थिक गतिविधि, रोजगारी र अन्तर्राष्ट्रिय प्रचार बढ्ने क्षेत्र हो। एक जना पर्यटक नेपाल घुमेर फर्किएपछि उसले आफ्नो अनुभव अरूलाई सुनाउँछ। त्यसले नेपालको सकारात्मक छवि निर्माण हुन्छ र थप पर्यटक आकर्षित हुन्छन्। त्यसैले पर्यटन शिक्षा जस्तै हो । जति बाँड्यो, त्यति बढ्छ।
यसकारण, अहिले केही सुधारका संकेत देखिए पनि त्यसलाई पर्याप्त मान्न मिल्दैन। होटल व्यवसायमा केही सकारात्मक प्रभाव देखिएको हुन सक्छ, तर नेपालको वास्तविक आवश्यकता र सम्भावनाको तुलनामा त्यो अझै धेरै सानो हो। अब सरकारले पर्यटन क्षेत्रमा क्रान्तिकारी सोच, दीर्घकालीन नीति र ठोस योजना ल्याएर यसलाई राष्ट्रिय आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्छ।
हाम्रो पर्यटन पूर्वाधारमा के केही कानुनी सुधार आवश्यक छ?
हो, हाम्रो पर्यटन क्षेत्रमा नीतिगत समस्या पक्कै पनि छन्। तर पूर्वाधार मात्रै होइन, मुख्य समस्या हाम्रो कमजोर मार्केटिङ र स्टोरी टेलिङ पनि हो। हामीसँग धेरै आकर्षक ठाउँहरू छन्, तर ती कुरा विश्वसामु राम्रोसँग प्रस्तुत गर्न सकेका छैनौं। हामी प्रायः सगरमाथा मात्र प्रचार गछौं, जसले गर्दा अरू धेरै सम्भावनाहरू ओझेलमा परेका छन्। वास्तवमा, सगरमाथा हेर्न वा चढ्न आउने पर्यटक संख्या धेरै कम हुन्छ, तर बाँकी ९५ प्रतिशत सम्भावित पर्यटकका लागि अन्य धेरै आकर्षणहरू छन्।
नेपालमा पशुपतिनाथ, लुम्बिनी (बुद्धको जन्मस्थल), जनकपुर (सीताको जन्मस्थल), काठमाडौँ, पाटन, भक्तपुरका ऐतिहासिक दरबारहरू, जंगल सफारी, ¥याफ्टिङ, ट्रेकिङ जस्ता धेरै कुराहरू छन्। यति धेरै सम्भावना हुँदाहुँदै पनि हामीले ती सबैलाई राम्रोसँग प्रचार गर्न सकेका छैनौं । पूर्वाधारतर्फ हेर्दा हाम्रो एयरपोर्ट, एयरलाइन्स र सडकको अवस्था कमजोर छ। उदाहरणका लागि, काठमाडौँ–पोखरा जस्तो छोटो दूरी पार गर्न अहिले धेरै समय लाग्छ, जबकि पहिले कम समय लाग्थ्यो। यस्ता समस्या समाधान भएमा पर्यटक स्वतः बढ्छन्।
अर्को समस्या भनेको पर्यटकको बसाइ अवधि घट्नु हो। पहिले पर्यटकहरू करिब ३.५ दिन बस्थे भने अहिले औसत बसाइ ३ दिनमा झरेको छ। नयाँ–नयाँ गन्तव्य र सुविधा थपिँदा बसाइ समय बढ्नुपर्ने हो, तर त्यसो हुन सकेको छैन।
यसको मुख्य कारण पनि कमजोर मार्केटिङ र स्टोरी टेलिङ नै हो। जस्तै, पशुपतिनाथमा धेरै ऐतिहासिक र धार्मिक महत्वका स्थानहरू छन्, तर राम्रो गाइड र जानकारीको अभावले पर्यटक त्यहाँ छोटो समयमै फर्किन्छन्। यदि राम्रोसँग कथा प्रस्तुत गरियो भने उनीहरूले त्यहाँ धेरै समय बिताउन सक्छन्।
त्यस्तै, चन्द्रागिरी जस्ता ठाउँहरू पनि राम्रो छन्, तर यस्ता गन्तव्यहरूको राष्ट्रिय स्तरमा प्रचार हुन सकेको छैन।
हामीले भारतका काशी, अयोध्या जस्ता धार्मिक स्थलहरूसँग तुलना गर्दा देखिन्छ कि त्यहाँ दैनिक लाखौं पर्यटक पुग्छन्, तर हाम्रो महत्वपूर्ण स्थलहरूमा त्यस्तो भीड छैन। यसको मुख्य कारण पनि हाम्रो प्रचार–प्रसार र प्रस्तुतीकरण कमजोर हुनु हो। यदि हामीले जनकपुरलाई अयोध्यासँग, पशुपतिनाथलाई काशीसँग, र लुम्बिनीलाई अन्य बौद्ध स्थलहरूसँग जोडेर प्रचार गर्न सक्यौँ भने नेपालको पर्यटन धेरै बढ्न सक्छ। त्यसैले, सही नीति, राम्रो पूर्वाधार, प्रभावकारी मार्केटिङ र बलियो स्टोरी टेलिङमा ध्यान दिएमा नेपालले आफ्ना पर्यटन सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न सक्छ।
पछिल्लो समय कुन क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ?
पछिल्लो समय हामीले मुख्यतः उत्पादन र आतिथ्य अर्थात् होटल क्षेत्रमा लगानी बढाइरहेका छौं। उत्पादनतर्फ, हाम्रो धागो (स्पिनिङ) उद्योगलाई आधुनिकीकरण गर्दै विस्तार गरिरहेका छौं, जसमा उल्लेखनीय रकम लगानी भइरहेको छ।
यससँगै, भक्तपुरको ठिमीमा ‘जेडब्लु म्यारियट’ नामक नयाँ लक्जरी होटल निर्माण गर्ने योजना अघि बढाइएको छ। हाल यो परियोजना डिजाइन चरणमा छ, र डिजाइन तथा नक्सा पास हुने प्रक्रियापछि करिब ७–८ महिनाभित्र निर्माण कार्य सुरु गर्ने लक्ष्य छ। यस होटलमा करिब ८ अर्ब रुपैयाँ लगानी हुने अनुमान छ। नयाँ सरकारप्रति हामी उत्साहित छौं र अर्थतन्त्र सुधार हुने आशामा लगानीलाई निरन्तरता दिइरहेका छौं।
युवा उद्यमीहरूका लागि सन्देश दिँदै, अहिलेको पुस्ता निकै व्यवस्थित, प्रविधिमैत्री र पारदर्शी ढंगले काम गर्न चाहने देखिन्छ। पहिलेको जस्तो भनसुन र कागजी प्रक्रियाभन्दा अहिले डिजिटल प्रणालीतर्फ झुकाव बढेको छ। यदि सरकारले प्रविधिमैत्री र पारदर्शी वातावरण सिर्जना गर्न सकेमा, यसले भ्रष्टाचार घटाउने र कामलाई छिटो तथा प्रभावकारी बनाउनेछ।
उदाहरणका रूपमा, रजिस्ट्रार कार्यालयमा सेवा अनलाइन भएपछि भ्रष्टाचार कम भएको र काम छिटो भएको देखिन्छ। यस्तै प्रणाली अन्य क्षेत्रमा पनि लागू गर्न सकियो भने, युवाहरू अझ उत्साहित भएर व्यवसायमा लाग्नेछन् र देशको आर्थिक विकासमा सकारात्मक योगदान पु¥याउने छन्।
व्यवसायीको फरक पाटो
तपाईं व्यवसायी मान्छे, बिहानदेखि बेलुकासम्म के सोच्नुहुन्छ?
मान्छेको सोच भनेको धेरै फराकिलो हुन्छ। म अफिसमा बसेर कुरा गरिरहे पनि मेरो सोच अमेरिका, दिल्ली वा अन्य कुनै ठाउँमा पुग्न सक्छ। अर्थात्, सोच सधैं गतिशील हुन्छ। तर दैनिक जीवन भने सामान्य मानिसजस्तै नै हुन्छ। म बिहान करिब साढे ७ बजे उठ्छु। त्यसपछि डेढ घण्टा जति मर्निङ वाक गर्छु र करिब आधा घण्टा योग गर्छु। त्यसपछि केही समय समाचार सुन्छु, कहिलेकाहीँ किताब र अखबार पनि पढ्छु।
बिहानको नास्तापछि अफिस जान्छु। दिउँसो २–३ बजेतिर लन्च गर्छु। त्यसपछि फेरि काममा व्यस्त हुन्छु। बेलुका करिब ६ बजेपछि काम सकिन्छ र साथीहरूसँग भेटघाट, गफगाफ र रमाइलो हुन्छ। कहिलेकाहीँ हल्का ड्रिंक पनि हुन्छ। करिब ९ बजेतिर घर फर्किन्छु। समग्रमा दिन धेरै व्यस्त नभए पनि व्यवस्थित र सन्तुलित हुन्छ।
पढाइप्रति कत्तिको रुचि छ? कस्ता पुस्तक मनपर्छन्?
मलाई पढ्न मन पर्छ, विशेष गरी व्यक्तित्वहरूको जीवनी (बायोग्राफी) पढ्न रुचि लाग्छ। यसले धेरै कुरा सिक्न मद्दत गर्छ। त्यस्तै, ट्राभल म्यागजिनहरू पनि रुचिका विषय हुन्। म नियमित रूपमा नेपालको दैनिक ५ वटा जति अखबार पढ्छु। सबै कुरा विस्तारमा नपढे पनि मन परेका हेडलाइन र विषयहरू भने ध्यान दिएर पढ्छु।
परिवारका लागि समय कसरी छुट्याउनुहुन्छ?
सामान्य दिनमा बिहान १० बजे घरबाट निस्कन्छु र बेलुका साढे ९ बजेतिर फर्किन्छु। त्यसैले दैनिक धेरै समय दिन सम्भव हुँदैन। तर शनिबार र बिदाको दिनमा परिवारसँग समय बिताउँछु । बच्चाहरूसँग खेल्ने, सिनेमा जाने, रेस्टुरेन्ट जाने वा घरमै साथीभाइ बोलाएर रमाइलो गर्ने जस्ता गतिविधि हुन्छन्। हामी वर्षमा २–३ पटक विदेश र नेपालभित्र पनि विभिन्न रमणीय ठाउँमा घुम्न जान्छौं। यसले परिवारसँग गुणस्तरीय समय बिताउन मद्दत गर्छ।
यवसायी साथीहरूसँग भेट हुँदा के कुराकानी हुन्छ?
व्यवसायी साथीहरूसँग भेट हुँदा सधैं व्यापारकै कुरा हुँदैन। धेरैजसो सामाजिक, राजनीतिक, मनोरञ्जन वा सामान्य जीवनका विषयमा कुराकानी हुन्छ। कहिलेकाहीँ भने सरकारी नीति, कर व्यवस्था वा व्यवसायसँग सम्बन्धित विषयमा पनि छलफल हुन्छ । जस्तै नयाँ सरकारको नीति कस्तो हुन्छ, कर प्रणालीमा के सुधार आवश्यक छ आदि। तर व्यक्तिगत व्यापारका विषयमा भने धेरै चर्चा हुँदैन, सामान्य मित्रतापूर्ण कुराकानी नै बढी हुन्छ।

















प्रतिक्रिया दिनुहोस्