काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार परिवर्तन हुनु भनेको राज्यका अघिल्ला नीति र निरन्तरताबाट विच्छेद हुनु नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूसँगको शिष्टाचार भेटमा उनले राजनीतिक स्थायित्व कायम राख्दै नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाउन सरकार दृढ प्रतिबद्ध रहेको ब्रिफिङ गरेका छन् ।
प्रधानमन्त्री शाहले नेपालको विकास, व्यापार, लगानी, जलवायु अनुकूलनका कार्य तथा जनस्तरको सम्बन्धजस्ता बहुआयामिक क्षेत्रमा विश्वसमुदायसँग सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको बताएका छन्् ।
सरकारले सन्तुलित वैदेशिक नीति लिन्छ
भेटका क्रममा प्रधानमन्त्रीले नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको बताउँदै नेपालको बाह्य सम्बन्ध ‘साझा समृद्धि’को लक्ष्यद्वारा निर्देशित रहेको बताएका छन् । नियोग प्रमुखहरूलाई प्रधानमन्त्री शाहले सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुका साथै विश्वासका आधारमा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
‘नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ । हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,’ प्रधानमन्त्री शाहले भने,‘नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’
नेपालको साझा प्राथमिकता शान्ति
खाडी लगायतका राष्ट्रहरुमा जारी द्वन्द्वहरूप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्तिलाई साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिएका छन् । द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति नै साझा प्राथमिकता हुनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री शाहले भने, ‘चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता रहनुपर्छ । यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु ।’
यस्तै, सरकारले लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न ठोस कदम चाल्ने प्रतिबद्धता समेत जनाएको छ। राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा अझ मजबुत रूपमा समेट्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको प्रधानमन्त्रीले नियोग प्रमुखहरुलाई उल्लेख गरेको उनको निजी सचिवालयले जनाएको छ । सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्री शाहसँग भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत एवं नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार भेटमा उपस्थित राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूले नेपालको विकास प्रयास र कूटनीतिक सम्बन्ध सुदृढीकरणका लागि प्रधानमन्त्रीले राखेको स्पष्ट धारणाको स्वागत गरेका थिए । परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थितिमा भएको ब्रिफिङमा प्रधानमन्त्रीले सबै राजदूतहरूको भनाई सुनेका थिए ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्