Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निजी क्षेत्र माग राख्ने ‘दबाब समूह’ बाट नीति निर्माणकै सारथी बन्यो : अध्यक्ष ढकाल

निजी क्षेत्र माग राख्ने ‘दबाब समूह’ बाट नीति निर्माणकै सारथी बन्यो : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो तीन वर्षे कार्यकालमा निजी क्षेत्रलाई राज्यको वास्तविक साझेदारका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कोभिड महामारीको असर, अर्थतन्त्रको मन्दी जस्ता चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच जिम्मेवारी सम्हालेको उल्लेख गरेका ढकालले कार्यकालका लागि अघि सारेको आफ्नो पाँच बुँदे प्राथमिकतामा केन्द्रित रही उल्लेख्य उपलब्धि हासिल गरेको बताएका हुन् । ‘मैले पदभार ग्रहण गर्दै गर्दा ५ वटा मुख्य प्राथमिकता अघि सारेको थिए। पहिलो तत्कालिन अवस्थामा रहेको आर्थिक संकट समाधानका लागि पहल गर्ने, दोस्रो स्वदेशी एवं विदेशी लगानीको वातावरण बनाउने, तेस्रो राज्य र निजी क्षेत्र बीचको सार्वजनिक निजी साझेदारी सुदृढ गर्ने, चौथो दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने र पाँचौमा व्यवसायीहरूको मनोबल उच्च बनाउन व्यवसाय तथा व्यवसायीको सम्मान र सुरक्षाका विषय रहेका थिए’ अध्यक्ष ढकालले बुधबार साँझ आयोजित एक कार्यक्रममा भने,‘तीन वर्षको अवधिमा मैले अघि सारेका सबै विषयमा उल्लेखनीय कामहरू गर्न हामी सफल भएका छौं।’

नीतिगत सुधार गर्न ‘हाई लेभल’ हस्तक्षेप
अध्यक्ष ढकालका अनुसार महासंघ अब माग राख्ने निकायमा मात्र सीमित नभई नीति निर्माणको सक्रिय साझेदार बनेको छ। उनले आफ्नो कार्यकालमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको, लगानीको वातावरण सुधार्न ३० भन्दा बढी पुराना कानुनहरू संशोधनका लागि सिफारिस गरिएको तथा नयाँ सरकारको पहिलो क्याबिनेट बैठकले नै महासंघको प्रस्ताव अनुसार ‘निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति’ स्वीकृत गराउन विशेष भूमिका खेलेको बताए । ‘नीतिगत सुधार र हस्तक्षेपमा महासंघले नयाँ उचाइ हासिल गरेको छ । परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएका छौं। राष्ट्रिय आर्थिक बहसको आयोजना गर्दै सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने काम गरियो’ अध्यक्ष ढकालले भने।

लगानी प्रवर्द्धन र नयाँ अभ्यास
स्वदेशी र विदेशी लगानी आकर्षित गर्न महासंघले नयाँ मोडल अघि सारेको अध्यक्ष ढकालको भनाइ छ । उनले छरिएर रहेको सानो पुँजी एकीकृत गरी १० अर्ब रुपैयाँको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरिएको सुनाए । यस्तै, महासंघको पहलमा तयार भएको बिआइएको मस्यौदा अहिले परराष्ट्र मन्त्रालयमार्फत विभिन्न देशहरूसँग सम्झौताका लागि प्रक्रियामा रहेको पनि उनको भनाइ छ। अध्यक्ष ढकालले भने,‘महासंघकै पहलमा दुई पक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार भई परराष्ट्र मन्त्रालयमार्फत नेपाली दुतावासहरुले विभिन्न मुलुकहरुसँग सम्झौताका लागि अघि बढाएको अवस्था छ।’

यसैगरी, भारत, चीन, यूएई, कतार र बेलायत जस्ता देशहरूमा लगानी सम्मेलन आयोजना गरी नेपाललाई लगानी गन्तव्यका रूपमा प्रस्तुत गरिएको उनले उल्लेख गरे। यसले लगानीको वातावरण थप सुदृढ बनाउँदै मुलुकको आर्थिक विकास र सम्मृद्धिमा निजी क्षेत्रको भूमिकालाई थप विस्तार र व्यापक बनाउने उनको विश्वास छ। राज्य–निजी क्षेत्र सम्बन्धलाई सहकार्यमा रूपान्तरण गर्ने काम आफ्नो कार्यकालको दोस्रो महत्वपूर्ण उपलब्धि भएको ढकालको भनाइ छ।

विवाद समाधान र सुरक्षाको ग्यारेन्टी
लामो समयदेखि अल्झिएको डेडिकेटेड र ट्रङ्कलाइन महशुल विवाद समाधानका लागि महासंघले प्रभावकारी मध्यस्थता गरेको उनले स्मरण गरे । यस्तै, उद्योग र व्यवसाय क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गरिनु र निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावलाई परिमार्जन गराउनुलाई उनले ठुलो उपलब्धिको रूपमा लिएको बताए । उनले भने, ‘निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय तथा कलकारखानाहरुलाई समेत शान्ति क्षेत्रको रुपमा घोषणा गरिएको छ । हालै निर्वाचनपछि बनेको करिब दुईतिहाई बहुमतको सरकारको पहिलो क्याबिनेट बैठकले हाम्रो प्रस्ताव अनुसार निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत गरी निजी क्षेत्र, लगानी र व्यवसायको सुरक्षा र सम्मानको ग्यारेण्टी गरेको छ ।’

संस्थागत रूपान्तरण
यस्तै, महासंघको आन्तरिक संरचनामा पनि ठुलो सुधार आएको ढकालको भनाइ छ । विशेषगरी, लामो समयको विवाद अन्त्य गर्दै अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था र महिला सहभागिता सुनिश्चित गरिएको छगर्न भएको विधान संशोधनलाई उनले संस्थागत रुपान्तरणको रुपमा लिएका छन्। पहिलो पटक ‘निजी क्षेत्रको अवस्था’ सम्बन्धी प्रतिवेदन प्रकाशित गरी अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई तथ्याङ्कमार्फत प्रमाणित गरिएको उनको भनाइ छ। ‘निजी क्षेत्रलाई केवल दबाब समूह होइन, राष्ट्रको आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्न हामी सफल भएका छौं’ उनले भने, ‘पहिलो पटक मुलुकमा निजी क्षेत्रको योगदान बारेमा अनुसन्धान गरी ‘निजी क्षेत्रको अवस्था’बारे रिपोर्ट प्रकाशित गरेका छौँ । यसले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारे तथ्यगत विवरण प्रस्तुत गरेको छ । जसले हामीलाई सरकार तथा अन्य निकायसँग तर्क, बहश र पैरवी गर्न थप सबल बनाएको छ ।’

आफ्नो कार्यकाल सफल बनाउन आर्थिक पत्रकारहरूको भूमिका अतुलनीय रहेको भन्दै अध्यक्ष ढकालले पत्रकारिताले नीतिगत सुधारका लागि मार्गदर्शक शक्तिको काम गरेको र आगामी दिनमा पनि सञ्चार क्षेत्रसँगको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit