काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको शेयर स्वामित्व हस्तान्तरण तथा आगामी सञ्चालन र व्यवस्थापनका विषयमा छलफल गर्न वार्ता समितिको पुनर्गठन गरेको छ । प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित यस समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी र कर भुक्तानी लगायतका महत्त्वपूर्ण विषयमा प्रवद्र्धक कम्पनी हिमाल पावर लिमिटेडसँग आवश्यक वार्ता गर्ने जिम्मेवारी पाएको छ ।
निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडल अन्तर्गत निर्माण भएको यस आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । विद्यमान सम्झौता अनुसार उत्पादन सुरु भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने भए तापनि विभिन्न प्राविधिक कारणले उक्त प्रक्रिया अझै टुंगो लाग्न सकेको छैन ।
यसैगरी, प्राधिकरण सञ्चालक समितिले विद्युत् महसुल, जरिवाना तथा अन्य प्रशासनिक निर्णयहरूसँग सम्बन्धित विवादहरूको पुनरावलोकन र समाधानका लागि अर्को एक समिति पनि गठन गरेको छ । सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा गठित उक्त ’प्रशासकीय पुनरावलोकन समिति’ले प्राधिकरणका प्रशासनिक तथा महसुल सम्बन्धी समस्याहरूको अध्ययन गरी समाधानको पहल गर्नेछ ।
यसका साथै, प्राधिकरणमा हाल रिक्त रहेका विभिन्न पदहरूमा पदपूर्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउन सञ्चालक समितिले विशेष निर्णय गरेको छ । जसअन्तर्गत प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको छ । शाक्यको नियुक्तिले प्राधिकरणको जनशक्ति व्यवस्थापन र पदपूर्ति प्रक्रियामा थप प्रभावकारिता आउने विश्वास गरिएको छ ।

















प्रतिक्रिया दिनुहोस्