काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित पूर्वन्यायाधीश तथा उनका आफन्त र निकटस्थ व्यक्तिहरूको निवासमा छापा मारेको छ।
विभाग स्रोतका अनुसार जबरासहित पूर्वन्यायाधीश नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा अनुसन्धान टोली परिचालन गरी खानतलासी गरिएको हो। त्यस्तै, जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको निवासमा समेत विभागको टोली पुगेको छ।
अनुसन्धानका क्रममा विभिन्न स्थानबाट महत्त्वपूर्ण कागजात तथा अन्य सामग्री बरामद गरिएको स्रोतले जनाएको छ। गैरकानुनी रूपमा सम्पत्ति आर्जन तथा त्यसको शुद्धीकरण भएको आशंकामा सम्बन्धित व्यक्तिहरूको सम्पत्ति र आर्थिक कारोबारबारे अनुसन्धान थालिएको बताइएको छ।
यसअघि असोज ११ गरे राती काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिई करिब १२ घण्टापछि छाडेको थियो। उक्त घटनापछि जबरासँग सम्बन्धित व्यक्तिहरूमाथि समेत अनुसन्धान र निगरानी बढाइएको थियो।















प्रतिक्रिया दिनुहोस्