Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

करदेखि विकास योजनासम्मका विवरण समेटेर सार्वजनिक भयो पहिलो नागरिक बजेट

करदेखि विकास योजनासम्मका विवरण समेटेर सार्वजनिक भयो पहिलो नागरिक बजेट
विज्ञापन
Advertisement
Citizens Budget 2083 84
Download

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सर्वसाधारण नागरिकले सहजै बुझ्न सक्ने गरी पहिलोपटक ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अर्थ मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित हालै सार्वजनिक गरेको नागरिक बजेट पुस्तिकामा सरकारको आम्दानी, खर्च, करका व्यवस्था, विकासका प्राथमिकता र नागरिकले पाउने सुविधाबारे सरल भाषामा जानकारी समेटिएको छ ।

नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रस्तुत तथा पारित भएको बजेटका प्राविधिक विवरण सर्वसाधारणलाई बुझ्न सहज बनाउने उद्देश्यले अर्थ मन्त्रालयले नागरिक बजेट तयार पारेको हो। यो छुट्टै वा थप बजेट नभई संसद्बाट पारित बजेटलाई नागरिकमैत्री भाषामा व्याख्या मात्र गरिएको पुस्तिका हो । अर्थ मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको पुस्तिकाले बजेट निर्माण, कार्यान्वयन र खर्चको निगरानी प्रक्रियालाई नागरिकसमक्ष स्पष्ट पार्ने प्रयास गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यको स्रोतसाधनको बाँडफाँट र खर्च प्रक्रियामा पारदर्शिता, सुशासन तथा जवाफदेहिता बढाउन नागरिक बजेट उपयोगी हुने बताएका छन् ।

सरकारसँग कति स्रोत छ, कहाँ खर्च हुन्छ र नागरिकले के पाउँछन् ?

नागरिक बजेटले मुख्यतः तीन प्रश्नको जवाफ दिने प्रयास गरेको छ-सरकारसँग कति स्रोत उपलब्ध छ, उक्त स्रोत कहाँ र कसरी खर्च हुन्छ तथा त्यसबाट नागरिकले के सुविधा पाउँछन् ? यसअन्तर्गत सरकारका आम्दानीका स्रोत, सार्वजनिक ऋण, बजेटको आकार, मन्त्रालयगत खर्च र विकासका प्राथमिकताबारे जानकारी प्रस्तुत गरिएको छ ।

पुस्तिकामा बजेट निर्माण प्रक्रियालाई छ चरणमा विभाजन गरी समष्टिगत आर्थिक खाका तयार गर्ने, बजेट तर्जुमा गर्ने, स्वीकृति लिने, कार्यान्वयन गर्ने, अनुगमन तथा प्रतिवेदन तयार गर्ने र लेखापरीक्षण गर्ने प्रक्रियाबारे उल्लेख गरिएको छ। बजेट निर्माण तथा कार्यान्वयनका विभिन्न चरणमा सम्बन्धित निकायको जिम्मेवारी र समयसीमासमेत बुझाउने प्रयास गरिएको छ । त्यस्तै, नागरिकले आफ्ना गाउँठाउँका सडक, खानेपानी, सिँचाइ तथा अन्य विकासका आवश्यकता बजेटमा समावेश गराउन कसरी पहल गर्न सक्छन् भन्ने विषय पनि समेटिएको छ। स्थानीय तहका वडा कार्यालयबाट सुरु हुने योजना माग तथा प्राथमिकताक्रम निर्धारणको प्रक्रियादेखि माथिल्लो तहमा योजना पुर्‍याउने विधिबारे पुस्तिकाले मार्गदर्शन गर्ने उद्देश्य राखेको छ ।

यसमा बजेटका लाभग्राहीलाई लक्षित गरी ‘कसले के पाउँछन्’ भन्ने शीर्षकअन्तर्गत विभिन्न समूहका लागि गरिएका व्यवस्थाबारे जानकारी समेटिएको छ। किसान, विद्यार्थी, महिला, ज्येष्ठ नागरिक, श्रमिक तथा उद्यमीलाई लक्षित कार्यक्रम र सुविधालाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ । यसका अतिरिक्त लैङ्गिक समानता, जलवायु परिवर्तन र पूर्वाधार विकासका दृष्टिकोणबाट बजेटको विश्लेषण गर्दै सरकारले विभिन्न क्षेत्रमा गरेको विनियोजनबारे जानकारी दिने प्रयास गरिएको छ । पुस्तिकामा मूल्य अभिवृद्धि कर, आन्तरिक अन्तःशुल्क तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी तीन तहका सरकारबीच कसरी बाँडफाँट हुन्छ भन्ने विषय पनि समेटिएको छ। यसले संघ, प्रदेश र स्थानीय तहबीचको वित्तीय सम्बन्ध तथा राजस्व बाँडफाँटको आधार बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२१ खर्ब २४ अर्बको बजेट, आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत

चालु आर्थिक वर्ष २०८३र८४ का लागि सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त रकममध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ छुट्याइएको छ । सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र उपभोक्ता मुद्रास्फीतिलाई ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ। नागरिक बजेटमा यी आर्थिक लक्ष्यसँगै सरकारी खर्चको प्राथमिकता, सार्वजनिक ऋण र राजस्व परिचालनका स्रोतबारे पनि जानकारी दिइएको छ ।

सरकारी बजेटको ठूलो हिस्सा चालु खर्चमा छुट्याइएको अवस्थामा विकास निर्माण, सार्वजनिक सेवा र सामाजिक सुरक्षामा विनियोजित रकम कसरी परिचालन हुन्छ भन्ने विषय नागरिकका लागि चासोको विषय हो। त्यसैले बजेटका शीर्षक र रकमलाई सरल रूपमा प्रस्तुत गर्नु सार्वजनिक खर्चबारे नागरिकको बुझाइ बढाउने महत्त्वपूर्ण माध्यम बन्न सक्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit