काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी बैशाखमा काठमाडौंमा आयोजना हुने तय भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आयोजक रहने उक्त सम्मेलन आयोजनाबारे चेम्वर अर्फ कमर्श र नेपालबिजनेश इन्स्टिच्युट (एनबिआई) बीच सम्झैता भएको हो । सम्मेलन आगामी २०८२ साल बैशाख ७ गते (अप्रिल २०) मा आयोजना हुनेछ ।
सोमबार समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्दर्भमा आयोजना हुन लागेको यो सम्मेलनले तीनै तहका सरकार र समग्र निजी क्षेत्रको बिचमा विश्वास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने विश्वास ब्यक्त गरे ।
यस्तै, नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)का कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी चीन र भारतबीच गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन र बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकास मार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्व–उद्यमशीलता तथा स्टार्टअप व्यवसायहरु, भेन्चर क्यापिटल, इक्यूवेशन लगायतका क्षेत्रमा व्यापक लगानी विस्तार गर्दै दिगो र फराकिलो आर्थिक विकासका लागि समिट प्रस्थानबिन्दु बन्ने धारणा राखे ।
‘दिगो र लचिलो भविष्यको लागि अर्थतन्त्र’ भन्ने मुल नाराका साथ आयोजना हुने यो वर्षको सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग/व्यवसायीक तथा अधिक संभावना बोकेका क्षेत्रहरुमा देखिएका जल्दाबल्दा विषयहरुमा केन्द्रित रहेर सम्बन्धित विषय/क्षेत्रका स्वदेशी तथा विदेशी प्राज्ञ÷विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुकोबीचमा सघन छलफल हुनेछ ।
सो बहस सत्रहरुबाट प्राप्त हुने दुरगामी महत्वका बहुपयोगी सुझावहरु समावेश गरी निष्कर्ष प्रतिवेदन बनाएर त्यसको कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्