Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै
विज्ञापन
Advertisement

मध्यविन्दु (नवलपरासी) ।  एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।

रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्रीमान्सँग सम्बन्धविच्छेद गरेर छ वर्षीय छोरी आमाको जिम्मा लगाएर मलेसिया जानुभएकी तिलमायाको पाकिस्तानी नागरिकले हत्या गरेका थिए ।

छोरी तिलमायाको हत्या भएको खबर पाएदेखि नै शव नेपाल ल्याउनका लागि ७० वर्षीय आमा धनमाया सार्की विभिन्न निकाय धाएका थिए ।तर पनि हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाबाट शव नेपाल पठाउन आनाकानी गरिएको थियो । शव ल्याउन ढिलाइ हुँदा परिवारले पाएको दुःखबारे विभिन्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन भएपछि यस विषयले प्राथमिकता पाएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले बताए ।

‘लामो प्रयासपछि शव नेपाल ल्याउन लागिएको छ । तिलमायाको शव बोकेको विमान सोमबार दिनको साढे १२ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गर्ने जानकारी पाएका छौँ’, उनले भने,‘शव बुझ्नका लागि तिलमायाकी दिदी नीलमाया सार्की आइतबार काठमाडौँ जानुभएको छ ।’

मलेसियादेखि काठमाडौँ शव ल्याउँदाको खर्च मलेसियन कम्पनीले नै व्यहोर्ने भएको छ । शव सोमबार साँझसम्ममा तिलमायाको माइतीघर नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–४ हसौरामा आइपुग्ने लम्सालले जनकारी दिए । ।‘वैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने निःशुल्क शवबहानमार्फत काठमाडौँबाट घरसम्म शव ल्याइने छ’, उनले भने ‘आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएकाले सोमबार नै शव घर आइपुग्ने छ ।’

लामो समयसम्म प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा तिलमायाकी वृद्धा आमा र नाबालिका छोरी तड्पिरहनुभएको थियो । जसरी भए पनि छोरीको शव नेपाल ल्याउन आमा धनमाया ११ महिनादेखि वडा कार्यालय र नगरपालिका धाउने गर्नुभएको थियो । तिलमायाको हत्या भएको खबरलगत्तै तत्काल सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि ढिलाइ भएपछि राससमार्फत समाचार प्रकाशन गरिएको थियो ।

मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुने भएकाले अनुसन्धान सकेर शव पठाउन ढिलाइ भएको जानकारी आएको सुरक्षित आप्रवासन केन्द्र परामर्शदाता लम्सालले बताए । वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ ।

‘तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजपत्र शवसँगै आउने हुँदा पछि बुझाइने छ’, लम्सालले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit