काठमाडौं। नेपाल सरकार र निजी क्षेत्रको सहकार्यमा छवटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच रोजगार मेला सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको हो।
बिहीबार मन्त्रालयमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले र महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा मन्त्रालयका सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालनको जिम्मेवारी मन्त्रालयले लिनेछ । महासंघले भने मेलाको समग्र व्यवस्थापन, सञ्चालन र कार्यान्वयनको नेतृत्व गर्नेछ। यसका लागि महासंघले सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, पूर्वाधार व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ ।
मेलामार्फत रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गरिनेछ । उद्योग तथा प्रतिष्ठानका वास्तविक रिक्त पद र जनशक्ति आवश्यकताको विवरण संकलन गरी सोही आधारमा रोजगार खोजकर्ताबाट आवेदन लिइनेछ । मेलास्थलमै अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिने महासंघले जनाएको छ ।
त्यस्तै, श्रम बजारको मागअनुसार प्रत्येक प्रदेशमा विभिन्न विधाका १० वटा प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गरिनेछ । तालिम सञ्चालनका लागि महासंघले आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराउनेछ । महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेका अनुसार सरकारले आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई रोजगार प्रवर्द्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारी विस्तार र सीपयुक्त जनशक्ति उत्पादनमा मेलाले योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
मेलाबाट सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रमपछि पनि निरन्तरता दिन मन्त्रालय, महासंघ, श्रम तथा रोजगार कार्यालय, स्थानीय तह र रोजगारदाताबीच समन्वय गरिने जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्