काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले मन्त्रालय र प्राधिकरणबीच चर्किएको विवादले नेपालसँग पर्याप्त बिजुली नरहेको प्रस्ट भएको बताएका छन् ।
आइतबार काठमाडौंमा अयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीचको विवादलाई हेर्दा नेपालसँग पर्याप्त बिजुली नरहेको स्पष्ट भएको बताएका हुन् । नेपालमा लोड सेडिङ हुन्छ की हुँदैन भनेर दुई निकायले विवाद गर्नु नै पर्याप्त बिजुली नहुनुको प्रमाण भएको कार्कीको भनाइ छ ।
‘आजका दिनमा थुप्रै डिबेटहरु छन् । यति हुँदाहुँदै पनि हामी लोडसेडिङ हुन्छ, हुँदैन र भारतले दिनभरको बिजुली मात्रै दिन्छ भनेर छलफल गरिरहेका छौँ । के भन्छ सरकार र विद्युत प्राधिकरण भन्नेकुरामा डिबेट गरिरहेका छौँ,’ कार्कीले भने ।
उनले जलविद्युतमा लगानीकर्ताहरु दिनप्रतिदिन बढिरहेको भन्दै विद्युतविना उर्जा उत्पादन सम्भव नभएको उल्लेख गरे । २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढ्नुपर्नेमा कार्कीले जोड दिए । जलविद्युत क्षेत्रमा लगानी बढाएर काम गर्नसके मात्र नेपालमा केही राम्रो काम गर्न सकिन्छ भन्ने सन्देश बाहिर दिन सकिने उनको भनाइ छ ।
अध्यक्ष कार्कीले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने कुरामा आफूहरु अघि बढिरहेको भन्दै आवश्यक करिव २० वटा सुझाव समेत आफूहरुले सरकारलाई दिएको जानकारी दिए । उर्जा उत्पादन बढाउनका लागि शक्तिशाली उर्जा मन्त्रालय हुनुपर्ने र एकद्वार प्रणाली कायम हुनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष कार्कीले भने, ‘ हामी २८ हजार ५ सयको कुरामा अघि बढिरहेका छौँ । त्यो पूरा गर्न भनेर हामीले २० वटा जति कुराहरु लेखेर हामीले मन्त्रालयमा दिएका छौँ । शक्तिशाली उर्जा मन्त्रालय हुनुप¥यो । एकद्वार प्रणाली हुनुपर्छ । वनमा छिर्नै नपाउने नीति छ। भर्खरै नेपाल सरकारले वा नेपालका सांसदहरुले बनाएको एउटा ऐनलाई अदालतले खारेज गरिसकेको छ ।’
यस्तै, कार्कीले संसदमा अड्किएको विद्युत विधेयकले नै जनताले जलविद्युतमा लगानी गर्ने कि नगर्ने भनेर निर्धारण गर्ने बताए ।

















प्रतिक्रिया दिनुहोस्