काठमाडौं । चैत १५ राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा १४ ठाउँमा आगजनी भएको छ।
काठमाडौं प्रहरी परिसरले सार्वजनिक गरेको विवरण अनुसार, प्रदर्शनकारीहरूले ९ वटा सरकारी सवारी साधन तथा ६ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी गरेका छन्। शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिइएको भए पनि प्रदर्शनकारीहरूले निषेधित क्षेत्रसमेत तोड्दै निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्र र यातायातका साधनमाथि तोडफोड गरेका थिए।
प्रहरीको कारबाहीमा दुई जनाको मृत्यु
हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लाग्दा कीर्तिपुर–४ का सविन महर्जनको मृत्यु भएको छ। उनलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका लागि लगिएको भए पनि बचाउन सकिएन।
त्यस्तै, तीनकुनेमै प्रदर्शनकारीले आगजनी गरेको घरमा एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजक जलेको अवस्थामा मृत भेटिएका छन्।
११० सुरक्षाकर्मी घाइते
काठमाडौं प्रहरी परिसरका अनुसार हिंसात्मक झडपका क्रममा नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ जना तथा प्रदर्शनकारीतर्फ ३५ जना गरी ११० जना घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रशासनले तीनकुने क्षेत्रमा शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।















प्रतिक्रिया दिनुहोस्