Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा
विज्ञापन
Advertisement

महोत्तरी । नयाँवर्ष २०८२ प्रारम्भ भएसँगै महोत्तरीका बासिन्दाले यो वर्ष सहकाल हुने आशा गरेका छन् । नववर्षको पूर्वसध्या र वैशाख लागेपछि पनि वर्षात् भएपछि अन्नबाली लगाउन उनीहरुमा उत्साह भरिएको छ भने बाली सप्रने उमङ्ग पनि उनीहरुमा छाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत चैतको सुरुदेखि नै खानेपानीको समस्या झेल्दै आएका जिल्लाको उत्तरी क्षेत्रका बासिन्दामा पानी परेसँगै खानेपानीको अभाव हटेको छ । पर्याप्त वर्षा भएपछि पानीका मुहान रसाउन थालेका छन् ।

पानी परेपछि बर्दिवास–१४ का रामनरेश महतो दङ्ग छन्, ‘यसपाली सहकाल आउने आशा जाग्यो ।’ ‘नयाँ वर्षले राम्रै लक्षण देखाएको छ, वर्ष सुरु हुनपूर्वदेखि नै पानी परेको छ’ महतोकै छिमेकी ७५ वर्षीय चन्देश्वर साह भन्छन, ‘दिनको सङ्केत बिहानीले गर्छ भन्छन्, यो वर्षको सुरुमै परेको वर्षाले आशा पलायो ।’

बर्दिवास चोकमाथिका पानीखोल्सी, दूधमारा खोल्सी र दाहाल्नी खोल्सीका मुहानमा पनि पानी रसाएको छ । चौध वडा भएको बर्दिवास नगरपालिकामा ५० जति बस्ती छन् ।

तीमध्ये अधिकांशमा नदी, खोल्साखोल्सीको पानी भण्डारण गरेर धाराबाट वितरण गरिने पानी नै खानेपानीको मुख्य स्रोत हो । बर्दिवासका वडा नं ६, ७, ९, १२ र १३ मा भने खानेपानीको स्रोत इनार छन् । बर्दिवास–१२ का मेघरोल, जुडी र चल्कीमा इनारसँगै चापाकल पनि प्रयोगमा छन् ।

यसैगरी, १२ वटा वडा भएको गौशाला नगरपालिकाका आधा बस्तीमा खोल्साखोल्सी र बोरिङबाट ट्याङ्कीमा भण्डारण गरिएको पानी धाराबाट वितरण प्रणालीबाट आपूर्ति हुँदैछ । गौशालाका अन्य आधा बस्तीमा इनार र चापाकल प्रयोगमा छन् । खानेपानीको समस्या व्यहोर्दै आएको भङ्गाहाका ४ र ५ का वडाका बस्तीमा इनार छन् । ती इनारमा पनि पानी रसाएको छ । ती फागुनदेखि नै सुकेका थिए । इनारमा पानी रसाएपछि गाउँलेहरु दङ्दास छन् ।

पानी परेसँगै किसानका खेतबारीमा उखु, मकै, सागसब्जी लहलहाएका छन् । आँप, लिची र रुखकटहरमा चिचिला पोटिन थालेका छन् । बर्दिवास–७ प्रेमनगरका ७० वर्षीय किसान रामउद्गार महतो जिल्लामा सहकाल प्रारम्भ भएको ठान्छन् । खेतीपाती, व्यापार–व्यवसाय र अन्य काममा लाग्न आफूहरुलाई सहज भएको उनले बताए ।

महोत्तरीको ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये अधिकांश खेती आकासे पानीका भरमा गर्नुपर्दा किसान अब पानी राम्ररी पर्ने आशामा छन् । जिल्लामा खेतीयोग्य जमिनमध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ सुविध छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit