Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

 अन्तरराष्ट्रिय मार्ग बन्ने लक्ष्यसहित स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार तीव्र गतिमा

 अन्तरराष्ट्रिय मार्ग बन्ने लक्ष्यसहित स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार तीव्र गतिमा
विज्ञापन
Advertisement

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी खण्डमा सडक स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। नेपाल–चीन व्यापार, पर्यटन र सीमावर्ती क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको यस सडकलाई अन्तरराष्ट्रियस्तरको मार्ग बनाउने लक्ष्य राखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोजना प्रमुख कृष्णनाथ ओझाका अनुसार सडक सुधारअन्तर्गत नयाँ कटिङ, पहिरो जोखिम क्षेत्रमा टेवा पर्खाल, नाली व्यवस्थापन, कालोपत्रे र दुई दर्जनभन्दा बढी पक्की पुल निर्माणको काम अघि बढाइएको छ। सडक पूर्ण रूपमा स्तरोन्नति भएपछि काठमाडौँदेखि रसुवागढी पुग्ने समय घट्ने र व्यापार लागत कम हुने अपेक्षा गरिएको छ।

यद्यपि, केही खण्डमा ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण काम प्रभावित भएको छ। विशेष गरी मैलुङ–स्याफ्रुबेँसी खण्डमा ठेक्का तोडिएपछि पुनः ठेक्का प्रक्रिया सुरु गर्नुपरेकाले निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ।

धादिङको गल्छीदेखि रसुवागढीसम्म करिब ८० किलोमिटर लामो सडकखण्डमध्ये केही भागमा नेपाली सेनाले ट्र्याक खोलेको छ भने चीन सरकारको सहयोगमा निर्माण गरिएका खण्डहरूको पनि स्तरोन्नति भइरहेको छ। हिमाली भौगोलिक कठिनाइका बाबजुद काम अगाडि बढाइएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।

यो सडक नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढीसँग जोडिएकाले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। भन्सार कार्यालयका अनुसार यस नाकाबाट वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन हुँदै आएको छ भने दैनिक सयौँ मजदुरले रोजगारी पाएका छन्।

सडक निर्माणसँगै टिमुरे, घट्टेखोला लगायतका क्षेत्र व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएका छन्। स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आएको छ भने जग्गाको मूल्यसमेत उल्लेख्य रूपमा बढेको छ।

हाल सडक सुधार र सवारी सञ्चालनलाई सन्तुलित रूपमा अघि बढाउने काम भइरहेको छ। आयोजना पक्षले निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि केही स्थानमा ढिलासुस्ती देखिएको स्थानीयको गुनासो छ।

सडक स्तरोन्नति सम्पन्न भएपछि नेपाल–चीन आर्थिक सहकार्य, व्यापार विस्तार र हिमाली क्षेत्रको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit