Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

बुवाले मलाई कहिल्यै सिधैं उच्च पद दिनु भएन :मेघा चाैधरी ( अन्तर्वार्ता)

बुवाले मलाई कहिल्यै सिधैं उच्च पद दिनु भएन :मेघा चाैधरी ( अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं ।मेघा चौधरी आफ्नै संघर्ष र मेहनतले विएलसी होल्डिस् प्रा.लि नेतृत्व सम्हाल्दै आएकी छन् । जेन जी आन्दोलनबाट व्यक्तिगत क्षति समेत बोहोर्न बाध्य भइन् । हालै मात्र उनी नेपालका लागि मोरक्को अवैतनिक महावाणिज्य दूत नियुक्ती भएकी थिइन् । उनको नियुक्ती, जीवन शैली र आगामी रणनीतिको विषयमा उनीसँग कर्पोरेट यात्राका लागि भोजराज भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) को घटनामा व्यक्तिगत रूपमा तपाईंहरु माथि पनि प्रहार भयो। त्यो दुखद क्षणलाई कसरी सम्झनुहुन्छ?
त्यो दिन मेरो जीवनमै कहिल्यै नबिर्सिने दिन हो। हाम्रो आफ्नै पुर्खौली घर जलाइयो, जुन व्यक्तिगत रूपमा अत्यन्तै पीडादायक अनुभव थियो। तर मैले त्यसलाई केवल मेरो व्यक्तिगत दुःखको रूपमा मात्र हेरेकी छैन, यो देशकै लागि पनि एकदमै दुखद दिन थियो भन्ने लाग्छ। यत्रो वर्षदेखि मानिसहरूले सहेर बसेका पीडा, असन्तुष्टि र निराशा अन्ततः एक दिन विस्फोट ढिलोचाडो हुनु नै थियो। जसरी दूध तताउँदा एउटा समयमा उम्लिएर एक दिन पोखिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

निसन्देह, त्यो घटनाले ठूलो क्षति पु¥यायो, जुन कहिल्यै पनि राम्रो भन्न सकिँदैन। तर यसले एउटा सन्देश पनि दिएको छ । अब जनता चुप लागेर बस्ने अवस्थामा छैनन्। मैले त्यो घटनालाई दुःखसँगै आशाको रूपमा पनि लिएको छु। यदि यो आक्रोशले देशमा सकारात्मक परिवर्तन ल्याउँछ भने, त्यो पीडाको अर्थ पनि केही हदसम्म स्थापित हुन्छ भन्ने मेरो विश्वास छ।
धेरै निजी क्षेत्र र व्यवसायलाई त्यसले घटनाले निराशा र आक्रोसित बनाएको छ, लगानी नै अन्त लैजाने कुरा उठ्न थाल्दा तपाइँ भने यो परिवर्तनकै लागि भएको हो भन्नु हुन्छ?
हामी चार पुस्तादेखि नेपालमै बसेका छौं, र अहिले पाँचौं पुस्ता पनि यहीं हुर्किरहेको छ। यस्तो अवस्थामा, एउटा घटनाले हामीलाई देश छाड्न बाध्य बनाउँछ भन्ने मैले कहिल्यै सोचिनँ। हामीसँग बाहिर जाने विकल्प हुँदाहुँदै पनि हामी यहीं बसेका छौं, किनकि हाम्रो जरा यहीँ छ।

हामीले यहीँ लगानी गरेका छौं, यहीँ व्यवसाय गरेका छौं, र आफ्ना बच्चाहरूलाई पनि यहीँ पढाएका छौं। देशप्रतिको विश्वास अझै पनि हामीभित्र जीवित छ। म सधैं भन्छु आशा मरेको छैन भने देश पनि अघि बढ्छ। हामी भाग्ने होइन, यहीँ बसेर परिवर्तनको हिस्सा बन्ने सोचमा छौं।

तपाईंको व्यावसायिक यात्रा कसरी सुरु भयो?
मेरो यात्रा कुनै ठूलो पदबाट सुरु भएको होइन। म सानैदेखि व्यापारिक वातावरणमा हुर्केकी हुँ, घरमै व्यवसायको कुरा सुन्दै, हेर्दै ठूलो भएँ। तर बुवाले मलाई कहिल्यै सिधै उच्च पद दिनु भएन। मलाई ट्रेनीको रूपमा राखेर विभिन्न विभागमा काम गर्न लगाइयो।

म फार्मेसीमा बसेर औषधि बेच्ने कामदेखि सुरु गरेर, अफिसको हरेक पाटो बुझ्ने प्रयास गरेँ। मिटिङहरूमा बस्ने, कसरी कुरा गरिन्छ, कसरी निर्णय लिइन्छ भन्ने सबै कुरा अवलोकन गर्दै सिकेँ। यसरी तलैबाट सुरु गरेर सिक्दै आएको अनुभवले मलाई आजको अवस्थामा पु¥याएको हो। त्यसैले म पदभन्दा पनि प्रक्रिया र सिकाइलाई बढी महत्व दिन्छु।

महिला भएर व्यवसायिक क्षेत्रमा काम गर्दा के चुनौतीहरू भोग्नुप¥यो?
सुरुका दिनहरू सजिला थिएनन्। म उमेरले पनि सानो थिएँ र अनुभव पनि कम थियो, त्यसमा पनि पुरुषप्रधान वातावरणमा काम गर्नुपर्दा धेरै चुनौतीहरू आए। मिटिङमा बोल्नै गाह्रो हुन्थ्यो, मैले बोलेका कुरा पनि धेरैजसोले गम्भीरतापूर्वक लिँदैनथे।

कहिलेकाहीँ त निराश भएर बुवासँग गएर ‘म काम गर्दिन’ भनेर रुने गर्थें। तर उहाँले मलाई एउटा कुरा सधैं सम्झाउनु हुन्थ्यो। ‘सम्मान कसैबाट मागेर पाइँदैन, काम गरेर कमाउनुपर्छ।’ त्यो कुरा मैले मनमा राखे र निरन्तर मेहनत गरिरहेको छु । समयसँगै परिवर्तन आयो। आज म जब मिटिङ चेयर गर्छु, त्यहाँ सबैले ध्यान दिएर सुन्छन्। यो परिवर्तन एकै दिनमा आएको होइन, यसका लागि धेरै समय, धैर्य र निरन्तर प्रयास चाहिन्छ भन्ने मैले बुझेँ।

तपाइँले उठाउने मुद्धामा महिलाको सशक्तीकरणबारे पनि हुन्छन्, तपाईंको धारणा के छ?
हामी वर्षमा एक दिन ‘वुमेन्स डे’ मनाउँछौं र सामाजिक सञ्जालमा शुभकामना साट्छौं, तर व्यवहारमा महिलालाई कति सम्मान दिन्छौं भन्ने कुरा अझै प्रश्नकै विषय छ। महिलाहरू आज पनि घर र बाहिर दुवै जिम्मेवारी सम्हालिरहेका छन्, तर उनीहरूको योगदानलाई पूर्ण रूपमा स्वीकार गरिएको छैन। मलाई लाग्छ, महिलालाई अवसर दिनु सबैभन्दा महत्वपूर्ण कुरा हो। उद्योगहरूले निश्चित प्रतिशत महिला रोजगारी सुनिश्चित गर्ने नीति लिनुपर्छ। त्यस्तै, घरमै बसेका महिलाहरूलाई साना व्यवसायिक अवसरहरू दिन सकिन्छ। जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ । सशक्तीकरण भनेको केवल नारा होइन, व्यवहारमा लागू हुनुपर्छ भन्ने मेरो विश्वास छ।

हालै मात्र तपाईँ मोरोक्को अवैतनिक महावाणिज्य नियुक्त हुनु भएको छ नेपालको सम्बन्ध मजबुत बनाउन तपाईंका प्राथमिकता के छन् ?
मेरो मुख्य लक्ष्य नेपालमा मोरोक्कोलाई चिनाउने र मोरोक्कोमा नेपाललाई चिनाउने हो। अहिले काठमाडौं धेरै कन्सुलरहरू भए पनि दुई देशबीचको वास्तविक सम्बन्ध विस्तारमा खासै काम भएको मैले देखिनँ। म पर्यटन, व्यापार, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा काम गर्न चाहन्छु। ट्राभल एजेन्टहरूसँग सहकार्य गरेर प्याकेजहरू तयार गर्ने, दुवै देशका नागरिकलाई सहज रूपमा यात्रा गर्न सक्ने वातावरण बनाउने, र आपसी व्यापार बढाउने योजना छ।
आगामी पाँच वर्षमा तपाईं आफूलाई कहाँ देख्न चाहनुहुन्छ?
अहिलेसम्म धेरैले मलाई ‘बसन्त चौधरीको छोरी’ भनेर चिन्ने गरेका छन्, जुन मेरो लागि गर्वको कुरा पनि हो। तर आगामी पाँच वर्षमा म चाहन्छु कि मानिसहरूले मेरो आफ्नै पहिचान बनोस्। म यस्तो स्थानमा पुग्न चाहन्छु जहाँ मानिसहरूले ‘बसन्त चौधरी मेघाको बुवा हुन्’भनेर चिनून्। त्यो दिन मेरो लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit