दाङ । वैदेशिक रोजगारीबाट फर्किएर गाईपालन व्यवसाय गर्दै आएका घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले मनग्य आम्दानी गर्दै आएका छन् ।
उनले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेर नेपाल आएपछि यहीँ गाइपालन व्यवसाय रोजेको बताए । उनले भने, ‘विदेशमा १८ घण्टा काम गर्छौं, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।’
बिहानै ४ बजे उठेर गाई दुहुने, गाउँका अन्य किसानको समेत दूध लिएर घोराही बजारको डेरीमा पु¥याएपछि घर फर्केर फेरि गाईको हेरचाहमा उनको दैनिकी बित्छ। उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम नछुटाई गर्दै आएको सुनाए । ‘म एक दिन बिरामी भएँभने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ’ उनले भने । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पु¥याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन् । सुरुमा दुईवटा गाईबाट यो पेसामा लागेका उनको हाल १७ वटा गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाको भनाइ छ ।
विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे । अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएको बताउँछन् ।
उनले भने, ‘मैले मासिक एक लाख बढी आम्दानी गर्दै आएको छु । मेहनत गरे आफ्नै देशमा पैसा फल्दोरहेछ ।’ गाईपालनबाट पाँच वर्षमा थापाले करिब ५० लाख आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसानको छबि बनाएका छन ।
















प्रतिक्रिया दिनुहोस्