गलकोट (बागलुङ) । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक नौ वर्ष बित्दासमेत निर्माण सम्पन्न भएको छैन ।
बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष बित्दासमेत अझै १२ किलोमिटर अलपत्र छ । बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर आर्थिक वर्ष २०७२/७३ मा दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । उक्त दुई खण्डमध्ये बिहूँ–घोडाबाँधेको १३ किलोमिटरको ठेक्का गत वर्ष तोडेर नयाँ ठेकेदारसँग सम्झौता भए पनि कामले गति लिन सकेको छैन ।
बागलुङ बिहूँ खण्डको १३ किलोमिटरमध्ये जम्मा नौ किमी सडक कालोपत्र भए पनि अन्य सडक कालोपत्र हुन नसकेको हो । बागलुङ बिहूँ खण्डको चार किलोमिटर सडक कालोपत्रका लागि तीन महिनाअघि सडकमा हालेको बिटूमिन पानीले बगाएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत कार्यालयका इन्जिनियर कल्पना मिश्रले बताइन् ।
पाँच पटक समय थप गर्दा समेत निर्माण व्यवसायीले काममा चरम लापरबाही देखाएपछि पहिलो कम्पनीसँग ठेक्का तोडिएको थियो । “निर्माण व्यवसायीको चरम लापरबाही छ, बागलुङ बिहूँ खण्डको १३ किमी सडक पाँचपटक म्याद थप गर्दासमेत सकिएन, अहिले निर्माण व्यवसायी कार्यस्थलमा छैन, काम सम्पन्न भइसकेको स्थानमा समेत पुनः मर्मत गर्न आवश्यता छ,” मिश्रले भनिन् ।
दुई वर्षभित्र सम्पन गर्ने सम्झौता भएपनि नयाँ ठेकेदार कम्पनीले जम्मा १० प्रतिशत मात्रै काम गरेको उनको भनाइ छ । “बिहुँ–घोडाबाँधे खण्डको १३ किमी सडक पाँचौँ पटक म्याद थप्दासमेत सम्पन्न नभएपछि ठेक्का तोडेका थियौँ, नयाँ निर्माण व्यवसायीको प्रगतिसमेत कछुवा गतिमा छ, दुई वर्षमा सक्ने भनेको ठेक्का एक वर्षमा १० प्रतिशत मात्रै काम भएको छ,” मिश्रले भनिन् । कालोपत्र भइसकेको १४ किलोमिटर सडकमा समेत खाल्टाखुल्टी परेको छभने थुप्रै संरचना बनाउन आवश्यक देखिएको छ ।
पाँचपटक म्याद थप्दासमेत ठेक्का सम्पन्न नभएको बागलुङ बिहूँ खण्डको दुई किलोमिटरमा तीन महिनाअघि बिटूमिन छरेर निर्माण व्यवसायी फर्केको छैन । “पछिल्लो पाँचौँ पटकको ठेक्का सम्झौताको म्याद समेत सकिएको चार महिना भयो, निर्माण व्यवसायी म्याद थप गर्नसमेत आएको छैन, कालोपत्र सम्पन्न नभइ भुक्तानी गर्न मिल्दैन,” मिश्रले भनिन्, “निर्माण व्यवसायीले काम नगर्दा बजेट ‘फ्रिज’ हुने अवस्था छ, नयाँ ठेक्का लगाएको बिहूँ घोडाबाँधे खण्ड एक वर्षमा १० प्रतिशत काम हुँदा आयोजनाको चालु आर्थिक वर्षको बजेट अधिकांश फिर्ता पठाउने तयारी छ ।”
बागलुङ–बिहूँको १३ किलोमिटर खण्ड २०७३ साल माघ १४ गते भारतरसिद्धिसाइसँग दुई वर्षमा सम्पन्न गर्ने गरी ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । सो ठेक्का पाँचौं पटक म्याद थप्दा ७८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । ठेकेदारले ३४ करोड ३१ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ । साढे दुई करोड भुक्तानी लिन बाँकी भएकाले काम गर्न नसकिएको निर्माण व्यवसायी राजु गौतमले जानकारी दिए । उनले कालोपत्र गर्नका लागि छरेको बिटूमिन पानीले बगाएपछि झनै समस्या भएको कारण देखाएर पन्छिए ।
बिहूँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक सात आठ वर्ष बित्दा कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ/रजिल भगवती जेभीसँग २१ करोड ४९ लाखमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको एक वर्षको प्रगति जम्मा १० प्रतिशत मात्रै भएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्