काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले तत्कालिन एमालेबाट आफूहरू अलग भएपछि चार वर्षको अवधिमा भएका कामले पार्टी विभाजनको औचित्य पुष्टि भएको बताएका छन् ।
आजदेखि सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा उनले विद्रोहको औचित्य पुष्टि भएन भन्नू केपी शर्मा ओलीसामु ‘लम्पसार पर्नु’ भएको टिप्पणी गरे । नेपालले भने, ‘एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएन भन्नु केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्ने बाहेकको कुरा हुँदैन ।’
यस्तै, नेपालले मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए । तर, नेपालले आन्दोलनपछि नयाँ बनेको शुशीला कार्की नेतृत्वको सरकारको आयुमाथि प्रश्न उठाएको बताए। प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उब्जिएको नेपालको भनाइ छ । नेपालले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पनि चुनौतीको सामना गर्छु भनिरहनुभएको छ। तर दिक्दारी पनि बेलाबखतमा पोख्ने गर्नुभएको छ। यही सरकार रहिरहन्छ कि के हुन्छ ?भन्ने प्रश्न पनि उठेका छन् ।’
यद्यपि नेपालले निर्वाचनमा जानुको विकल्प अरु नरहेको बताए। उनले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भए वर्तमान सरकारलाई आफ्नो पार्टीले साथ दिने स्पष्ट पारे। ‘अब चुनावमा जाने बाहेक विकल्प छैन । तर चुनाव सम्भव होला ? चुनाव गराउन यो सरकारले सक्ला? प्रश्न गम्भीर रुपमा उठेको छ,’ अध्यक्ष नेपालले संशय व्यक्त गरे ।
अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। सो पार्टीका सम्मानित नेता झलनाथ खनालले विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरे । नेकपा एस र नेकपा माओवादीबीच पार्टी एकता हुने विषय बाहिरिएको छ ।
पार्टी महासचिव घनश्याम भुसालले विभिन्न पार्टीसँग भएका वार्ता र एकता कार्यदलको प्रतिवेदन बैठकमा पेस हुने जानकारी दिए ।बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकतालगायत विषयमा छलफल हुने जनाइएको छ ।
















प्रतिक्रिया दिनुहोस्