काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुको कारणबारे गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खनालले विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि तथा अस्थिरताले विकास र आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव पारेको बताए । उनले भने, ‘देशमा राजनीतिक असन्तुष्टि जसरी पनि प्रकट भए पनि यहाँ जो कोहीले गरेको सम्पत्ति सिर्जना नेपालको सम्पत्ति नै हो भन्ने बुझाइ सबैतिर हुनुपर्छ ।’
मन्त्री खनालले बढ्दो प्रविधि प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावबारे सचेत हुनुपर्ने आवश्यकता औँल्याए । सञ्चार क्षेत्रमा आउने गलत तथा अप्रमाणित सूचनाले अन्तर्राष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल प्रभाव पार्न सक्ने भन्दै उनले सञ्चार माध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
‘उचित सन्देश तथा सही सूचनाले निजी क्षेत्रमा सकारात्मक सोच विकास हुन्छ, लगानीकर्ताको मनोबल बलियो बन्छ। त्यसैले सूचना प्रवाहको संवेदनशीलता बुझ्नैपर्छ’, मन्त्री खनालले भने । पछिल्लो समय सरकार ठूला पूर्वाधार आयोजनामा बजेट थप्दै काम अगाडि बढाइरहेको उनको भनाइ थियो । साथै, पुँजी बजारका विद्यमान समस्या समाधान गर्न तथा पूर्वविशिष्ट पदाधिकारीको सेवा–सुविधालाई कानुनी ढाँचामा ल्याइ नियमन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
अर्थमन्त्री खनालले नेपालको अर्थतन्त्रले भोगेका आरोह–अवरोहमा सेजनले मार्गदर्शकको भूमिकामा रहेर जिम्मेवार र पेशेवर पत्रकारितालाई प्रवर्द्धन गर्दै आएको प्रशंसासमेत गरे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आउने दिनमा आर्थिक सबलीकरण, आन्तरिक उत्पादन वृद्धि, उत्पादकत्व विस्तार तथा रोजगारी सिर्जना सरकारका प्रमुख लक्ष्य हुने बताए । ‘सरकार तोकिएको समयमा निर्वाचन गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहलाई केन्द्रमा राखेर अघि बढिरहेको छ’, मन्त्री सिन्हाले भने । यस्तै, उनले आर्थिक गतिविधि वृद्धि गर्न निजी क्षेत्रलाई सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा लिई काम भइरहेको तथा जेनजी आन्दोलनको मर्मलाई नबिर्सी सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिए । गत भदौमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने तथा घाइते परिवारलाई सरकारले जिम्मेवारीपूर्वक हेरिरहेको बताए ।
।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिएको गलत सूचनाले नेपालमा लगानी वातावरण र निजी क्षेत्रको मनोबलमा प्रतिकूल असर परेको बताए । उनले जेनजी आन्दोलनका क्रममा गलत सूचनाका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै भने, ‘गलत सूचना कस्तो विनाशकारी हुन सक्छ भन्ने उदाहरण हामीले हालै जेनजी आन्दोलनमा भोग्यौँ ।’
अध्यक्ष ढकालका अनुसार आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ। लगानीलाई प्रोत्साहन दिने वातावरणका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज सेवा प्रवाह अनिवार्य रहेको भन्दै उहाँले सरकारसँग निजी क्षेत्र लामो समयदेखि यिनै माग राख्दै आएको जानकारी दिए ।
‘निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन हो। तर हरेक राजनीतिक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने क्रमले लगानी उत्साह घटाएको छ’, ढकालले भने । अध्यक्ष ढकालले देशमा केही पनि काम नभएको जस्ता नकारात्मक धारणा चिर्नुपर्ने आवश्यकता औँल्याउँदै राज्यबाट व्यक्त गरिएका नीति तथा प्रतिबद्धता कार्यान्वयनमा जोड दिए । उनले भूतप्रभावी कानुन तथा अनिश्चितता सिर्जना गर्ने प्रावधानले लगानी वातावरण कमजोर पारेको टिप्पणी गरे ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले लगानीकर्ताको खस्किएको मनोबल उकास्न राज्यले तुरुन्त कदम चाल्नुपर्ने बताए । ‘बाह्य क्षेत्र राम्रो छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, ब्याजदरमा सुधार छ । तर लगानी बढ्न सकेको छैन’, उनले चिन्ता व्यक्त गर्दै भने, ‘समग्र अर्थतन्त्रलाई असर नपुगोस् भन्न आर्थिक क्षेत्रका सबै समस्याको समाधान गर्नुपर्छ ।’ पाण्डेका अनुसार आर्थिक समृद्धिका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, र लगानीमैत्री वातावरण अपरिहार्य छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कोभिड–१९ पछि देशको आर्थिक अवस्था पूर्णरूपमा सुधार हुन नसकेको उल्लेख गर्दै पछिल्लो समय औद्योगिक प्रतिष्ठान सुरक्षाका दृष्टिले संवेदनशील बन्दै गएको बताए । उनले निजी क्षेत्रको मनोबल दिनप्रति दिन खस्किरहेको बताउँदै लगानी सुरक्षाको प्रत्याभूति राज्यले अनिवार्य गर्नुपर्नेमा जोड दिए । युवाको ठूलो सङ्ख्यामा विदेश पलायन, उद्यमी व्यवसायी कालोसूचीमा पर्नु र कर्जा प्रवाह तथा कर प्रणालीका कठिनाइले व्यवसायी निराश बनिरहेको उनको विश्लेषण छ ।
अध्यक्ष अग्रवालले सरकारलाई यस क्रममा केही तत्कालीन कदम चाल्न सुझाव पनि दिएका छन् । कर्जाको पुनःसंरचना प्रभावकारी रूपमा लागू गर्नुपर्ने, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन खारेज गर्नुपर्ने, मूल्य अभिवृद्धि करमा बहुदर कायम गरी सरल बनाउनुपर्ने, नकारात्मक सूचीका वस्तुबाहेक अन्य वस्तुमा अन्तःशुल्क दर घटाउनुपर्ने, निर्यात अनुदान निरन्तरता दिनुपर्ने, सहकारी सङ्कट समाधानका लागि उधारो असुलीसम्बन्धी कानुन बनाउनुपर्नेलगायतका सुझाव उनले दिएका हुन् ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्