कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँ फर्केर व्यावसायिक सागसब्जीखेतीमा जुटे ।
‘साउदीबाट रित्तो हात फर्किएको पीडाले गाउँमै उद्यम गर्ने सोच पलायो’, उनले भने, ‘जग्गा भए पनि खेती गर्ने ज्ञान थिएन, गाउँका अगुवा किसानसँग प्रविधि, विषादी प्रयोगदेखि मल व्यवस्थापनसम्मका खेतीका अत्यावश्यक तरिका सिकेँ।’
परम्परागत रूपमा खेती गर्दा मुस्किलले परिवारको भरणपोषण गर्न पुग्ने जग्गामा हाल उनले सागसब्जीखेती गरेर वार्षिक १२ लाख रुपैयासम्म आम्दानी गर्दै आएका छन् । हाल चौधरी बालुवाफाँटाका सफल व्यावसायिक किसानका रूपमा परिचित छन्। उनले दुई विघामा बाह्रै महिना सागसब्जीखेती गर्दै आएको बताए । उनको बारीमा काउली, खुर्सानी, गोलभेँडालगायत सागसब्जी लटरम्म फलेका छन् । विदेश जान मरिहत्ते गर्ने युवा पुस्तालाई स्वदेशमा नै परिश्रम गर्न उनले सुझाउँदै आएका छन् ।
पौरखी चौधरीबाट प्रेरणा पाएर सोही स्थानका जितबहादुर चौधरी पनि व्यावसायिक सागसब्जीखेतीमा लागेका छन् । अन्नबालीभन्दा सागसब्जीबाट कुस्त कमाइ भएपछि उनले त्यसमा नै आफूलाई केन्द्रित गरेको बताए । रासस















प्रतिक्रिया दिनुहोस्