काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि एक वर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’ उपकरण प्रयोग गरी बुधबार २०अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो।
यसको बोलकबोल आज (पुस २३) मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने केन्द्रीय बैंकले सूचनामार्फत जनाएको छ । आज निष्कासन हुने ऋणपत्रको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिने केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकले साँवा आगामी २०८३ पुस २३ गते गर्नेछभने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने जनाएको छ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने उल्लेख छ । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने बताइएको छ ।
ऋणपत्रको परिपक्व मितिअगावै सोबापतको रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले सूचनामार्फत स्पष्ट गरेको छ । यसअघि राष्ट्र बैंकले पुस १४ मा एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो । त्यसपछि पुस १६ मा एकवर्षे अवधिकै २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’, पुस २० मा २५ अर्ब रुपैयाँकै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ र पुस २२ गते मंगलबार पनि २५ अर्बको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गरेको थियो। केन्द्रीय बैंकले ऋणपत्रमार्फत पुसमा चार पटक गरी बजारबाट एक खर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । बुधबार पाँचौ पटक केन्द्रीय बैंकले ऋणपत्र जारी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न राष्ट्र बैंकले पुसदेखि एक वर्षे अवधिको ऋणपत्र निष्कासन गरी तरलता प्रशोचन गर्दै आएको छ ।






कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्