काठमाडौं । पछिल्लो छ महिनामा नेपालमा विद्युतीय गाडी (ईभी) आयातमा कमी आएको छ। वर्षा र बाढी पहिरोका कारण चीनसँगको मुख्य दुई व्यापारीक नाकामा भएको अवरोधका कारण ईभी आयात घटेको सरोकारवालाहरुले बताएका छन् ।
भन्सार विभागले बुधबार जारी गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसानतसम्म व्यवसायीहरुले ५ हजार ७१ थान चार पांग्रे विद्युतीय गाडी (ईभी) आयात गरेका छन् । जसको कूल मूल्य १२ अर्ब ५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
यो आयात गत आवको समीक्षा अवधिको तुलनामा एक अर्ब रुपैयाँले कम हो । गत आवको सोहि अवधिमा नेपालमा कूल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको ५ हजार ४८० थान ईभी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
गत असार २३ मा तिब्बतको ल्हेन्दे खोलामा गएको बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी खोलको पुल बगाएपछि रसुवा नाका ठप्प भएको थियो । यस्तै, असोजको बाढी पहिरोका कारण केहि समय तातोपानी नाका समेत ठप्प हुँदा यसवर्ष ईभी आयातमा कमी आएको रसुवा भन्सारका अधिकृत ठाकुर गौतमले जानकारी दिए । यद्यपी, चीनले मितेरी पुलको विकल्पमा अस्थायी बेलिब्रिज निर्माण गरेपछि करिब ६ महिनापछि गत पुस दोस्रो साता देखि मात्र उत्तरी नाका पुनः सुचारु भएको थियो ।
लामो समय नाका बन्द रहँदा ईभी सँगै अन्य मालवस्तु आयातमा कमी आएको गौतमले जानकारी दिए । उनका अनुसार अहिले रसुवा नाकाबाट सातामा ५० वटा सम्म ईभी आयात भैरहेको छ। आयात भएका ईभीहरू भन्सार क्षेत्रमा राखी बिलिङ तथा पास प्रक्रिया पूरा भएपछि बजारतर्फ पठाइने गरिएको उनले बताए । हाल रसुवामा नयाँ ड्राइपोर्ट निर्माणको काम भने सुरु भइसकेको छैन् । अहिले उपलब्ध ड्राइपोर्ट क्षेत्रलाई सरसफाइ तथा व्यवस्थापन गरेर नै प्रयोगमा ल्याइरहेको भन्सार कार्यालयले जनाएको छ ।
५८ करोड बढीको माइक्रो ओभन र इन्डक्सन आयात
चालु आवको पुस सम्ममा ५८ करोड २३ लाख ४६ हजार रुपैयाँको २ लाख ८६ हजार ३३७ थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको भन्सारको तथ्यांकले देखाएको छ । गत आव र चालु आवको यस अवधिमा माइक्रो ओभन, इन्डक्सन र राइसकुकरको आयात तुलना गर्दा आयातमा खासै फरक देखिएको छैन् । अघिल्लो आवको पुस सम्म ५८ करोड ३२ लाख रुपैयाँको २१ लाख ९६ हजार ७ सय थान माइक्रो ओभन, इन्डक्सन र राइसकुकर आयात भएको थियो ।
३२ अर्ब ६१ करोड बढीको स्मार्ट फोन आयात
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुस)मा करिब ३२ अर्ब ६१ करोड रुपैयाँको मोबाइलको कारोबार भएको छ। यो समयमा १२ लाख ५२ हजार थान मोबाइल नेपाल भित्रिएको छ । विभागका अनुसार उक्त मोबाइलको भन्सार मूल्य २३ अर्ब २९ करोड रुपैयाँ रहेको छ। यसमा नेपाली बजारमा हुने बिक्री मूल्य ४० प्रतिशतसम्म जोडिने हुँदा थप ९ अर्ब ३१ करोड रुपैयाँ मूल्य थपिने भएकाले ३२ अर्ब रुपैयाँको मोबाइल कारोबार भएको हो।
१२ लाख वटा स्मार्ट फोन आयात हुँदा ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोहि अवधिमा १६ अर्ब ७१ करोड रुपैयाँको ११ लाख ११ हजार थान स्मार्टफोन आयात भएको तथ्यांकमा रहेको छ । विशेषगरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायी बताउँछन् । साथै, अनलाइन गेम, भिडियो स्ट्रिमिङ र मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढेसँगै उच्च क्षमताका फोनको माग झन् तीव्र बन्दै गएको छ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्