images images
images images
images
images

बालेन–रविलाई अमेरिकाबाट व्यवसायी कार्कीको सन्देश: प्रणाली बनाइदिनुहोस्, २० हजार रोजगारीको ग्यारेन्टीसहित स्वदेश फर्किन्छु

images
images

काठमाडौं । अमेरिकामा लामो समयदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेका नेपाली व्यवसायी मार्विन कार्कीले नयाँ बन्ने सरकारले पारदर्शी सिस्टमको थिति बसाइदिए देशमा ठूलो संख्यामा रोजगारी सिर्जना गरिदिने उद्घोष गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोकेको ‘सिस्टम’ र ‘सुशासन’ को एजेन्डामा जोड दिँदै नेपालमा अब पारदर्शी प्रणाली बसाल्ने संयन्त्र चाहिएको र आफूले रास्वपा सभापति र वरिष्ठ नेताबाट त्यसको अपेक्षा राखेको बताएका छन् । उनले देशमा उद्योग व्यवसाय सञ्चालन गर्न चाहनेका लागि फाइल अघि बढाउन कुनै मन्त्रीको हस्ताक्षर नचाहिने पारदर्शी प्रणाली बनाइदिए दुई वर्षभित्र २० हजार नेपाली युवालाई स्वदेशमै रोजगारी दिने दाबी गर्दै रास्वपा नेतालाई सन्देश दिएका छन् ।

यस्तो छ कार्कीको रवि–बालेनलाई सन्देश 

images

सबैभन्दा पहिले, तपाईंहरू दुवैप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आजको नेपाली राजनीतिमा साहस, स्पष्टता र जनउत्तरदायी नेतृत्वको अभाव देखिएको बेला तपाईंहरू नयाँ आशाको प्रतिनिधि बनेर उभिनु भएको छ। परम्परागत सोच, पुराना अभ्यास र जरा गाडेको प्रणालीविरुद्ध आवाज उठाउनु सजिलो छैन। तर, पनि जोखिम मोलेर अघि बढ्नु भएको छ, यसैका लागि धन्यवाद।  आज म यो सन्देश कुनै दल, कुनै पद वा कुनै व्यक्तिगत स्वार्थका लागि लेखिरहेको छैन। म यो सन्देश एउटा नेपालीको हैसियतले, देशलाई माया गर्ने नागरिकको नाताले र भविष्यमा नेपालमै लगानी गरेर केही फर्काउन चाहने उद्यमीको दृष्टिकोणबाट लेखिरहेको छु।

रवि–बालेन कृपया एकजुट रहनुहोस्

इतिहासले हामीलाई पटक–पटक सिकाएको छ–नेतृत्व विभाजित हुँदा देश कमजोर हुन्छ। बाहिरी दबाब, अफवाह, सामाजिक सञ्जालका हल्ला र स्वार्थ समूहको उक्साहटले धेरै सम्भावनाशील आन्दोलनहरू विफल भएका छन्। तपाईंहरू नयाँ पुस्ताका नेता हुनुहुन्छ। यतिबेला तपाईंहरू पुरानो शैलीका नेता कम्तीमा होइन÷ बन्नुहुन्न भनेर नै जनताले विश्वास गरिरहेका छन्। त्यसैले म विनम्र अनुरोध गर्न चाहन्छु—कृपया एकजुट रहनुहोस्। मतभेद हुन सक्छन्, दृष्टिकोण फरक हुन सक्छन्, तर तपाईंदुई बीच सुशासन, पारदर्शिता र सक्षम राष्ट्र निर्माण गर्ने लक्ष्य एउटै हुनुपर्छ। जितेपछि आपसमा नलड्नुहोस्। जित भनेको पद पाउनु मात्र होइन, प्रणाली बदल्नु हो, जुन यतिबेला राज्यका लागि आवश्यक छ ।

देश फर्किने वातावरण बनाइदिनुस् 

म नेपालमा जन्मिएर हुर्किएको तर, विगत १८ वर्षदेखि संयुक्त राज्य अमेरिकामा खुद्रा व्यवसाय गर्दै आएको एक व्यवसायी मात्र हुँ । यहाँको टेक्सास, मिनेसोटा, उत्तरी क्यारोलिना र आयोवामा होटल रेस्टुरेन्ट व्यवसायमा ३७ वटा आउटलेटहरुको स्वामित्व र सञ्चालन गर्दै आएको छु । होटल तथा रेस्टुरेन्टका साना पसलदेखि लिएर ठूला आपूर्ति सञ्जालसम्मको अनुभव बटुलेको म जस्ता धेरै नेपाली यहाँ अन्य व्यवसायमा संलग्न हुनुहुन्छ । म देश छोडेर विदेशमा व्यवसाय सञ्चालन गर्ने एक्लो व्यक्ति पनि होइन। म जस्तै धेरै नेपालीहरू आज विश्वका विभिन्न देशहरूमा व्यवसाय र उद्यमशीलतामा संलग्न छन्। रोजगारीकै लागि लाखौंको संख्यामा विदेश पलायन हुनुभएका युवा जनशक्तिलाई स्वदेश फर्किने वातावरण अब देशमा बन्नैपर्छ । हामीले विदेशमा पसिना बगाएर कमाएको पूँजी, सीप र अनुभव नेपालमै प्रयोग गर्न चाहन्छौं। तर, त्यो गर्ने वातावरणको समस्या छ।

हामी किन लगानी गर्न डराउँछौं ?

सिधै भन्नुपर्दा, आजको नेपालमा लगानी गर्नु जोखिमपूर्ण देखिन्छ। कारण पूँजीको अभाव होइन, अवसरको कमी पनि होइन । अस्थिर नीति र प्रणालीकै कारण नेपालमा लगानी गर्ने आँट धेरैले गर्न सकेका छैनन् । त्यो चाहे विदेशी लगानी भित्र्याने सन्दर्भमा होस्, वा एनआरएनएहरुको । हामीलाई बारम्बार, कानून लागू हुन्छ कि हुँदैन ? हाम्रा फाइल अघि बढाउन कसलाई चिन्नुपर्छ ? कहाँ सोर्स लगाउनुपर्ने हो ? व्यवसायका लागि अनुमति लिन कति महिना वा वर्ष लाग्छ ? नियम आज एकथरी, भोलि अर्कोथरी हुन्छ कि ? सिफारिस कतिचोटी कहाँबाट ल्याउनुपर्ने हो जस्ता प्रश्नहरुले रोकिरहन्छन् । यिनै प्रश्नहरूले धेरै लगानीकर्ताहरूलाई नेपालबाट टाढा राखेको मेरो बुझाइ छ। लगानीकर्तालाई आश्वासन होइन, सुरक्षा र स्वाभिमान चाहिएको । हामी लगानी गर्न डराएको पूँजी नभएर होइन, बरु अस्थिरता र अदृश्य शक्तिहरूको जञ्जाल सँग हो। पारदर्शी प्रणालीमा काम गरेर फर्कन चाहने एउटा उद्यमीका लागि नेपालको वर्तमान ‘फाइल संस्कृति’ र ‘सोर्स–फोर्स’ को भुलभुलैयाले शसंकित बनाएको छ ।

हामीलाई के चाहिएको हो ?
हामीलाई विशेष सुविधा चाहिएको होइन। कर छुट मात्रै चाहिएको होइन। व्यक्तिगत भेटघाट, पहुँच वा नेताको ढोका ढकढक्याउने संस्कृति पनि चाहिएको छैन्। हामीलाई चाहिएको केवल पारदर्शी डिजिटल प्रणाली हो। हामीले चाहेको के हो भने देशमा कानुन सबैका लागि समान होस्। नाम, पहुँच र शक्तिका आधारमा फरक व्यवहार कसैप्रति पनि नहोस्। हामी जस्ता विदेशमा रहेका उद्यमीहरूले खोजेको ‘देश फर्क’ भन्ने आह्वान मात्र होइन, बरु स्वदेश फर्किएर काम गर्ने आधार हो। १८ वर्षको अनुभव र विदेशी बजारको दक्षतालाई नेपालको माटोमा सिञ्चित गर्न म आतुर छु, म जस्ता अरु उद्यमी व्यवसायीहरु पनि हुनुहुन्छ होला । तर, त्यसका लागि राज्यले झन्झटिलो प्रशासनिक प्रक्रियाको अन्त्य, नीतिगत स्थिरता, र लगानीको सुरक्षा सुनिश्चित गर्नैपर्छ। जबसम्म सीप र पूँजी बोकेका नेपालीलाई स्वदेशमै सम्मानजनक र सुरक्षित लगानीको वातावरण बन्दैन, तबसम्म ‘देश फर्क’ भन्नु केवल नारामा मात्र सीमित रहनेछ। अब गफ होइन, काम गर्ने वातावरण निर्माण गरेर लाखौँ नेपालीको सीपलाई देश विकासको मेरुदण्ड बनाउन ढिला भइसकेको छ। अब देशमा केही गर्छु भन्ने एक नागरिकले नेताहरू वा शक्तिशाली व्यक्तिसम्म पुग्नुपर्ने आवश्यकता नपरोस् । सिस्टमले काम गरोस्, व्यक्ति र उसको शक्तिले होइन।

पहिला प्रणाली चाहियो

नेपालीलाई चाहिएको नेताको आश्वासन होइन, एउटा पारदर्शी प्रणालीको विकास हो, कानुनी शासन हो । १८ वर्ष विदेशको व्यवस्थित बजारमा काम गर्दा मैले सिकेको सबैभन्दा ठूलो पाठ यही हो कि-जहाँ व्यक्ति होइन पद्धति बलियो हुन्छ, त्यहाँ समृद्धि आफैँ दौडिएर आउँछ। जबसम्म एउटा उद्यमीले कम्पनी दर्ता गर्न वा लगानी भित्र्याउन कुनै ‘शक्तिशाली’ व्यक्तिको दैलो चहार्नुपर्छ, तबसम्म देशको विकास सम्भव छैन। हामीलाई यस्तो नेपाल चाहिएको छ ।

डिजिटल द्वार : उद्योग व्यवसाय गर्न चाहनेको लागि सबै प्रक्रिया अनलाइन होस्, जहाँ फाइल अड्किँदा ‘कसलाई भनुँ?’ होइन, ‘किन अड्कियो ?’ भन्ने स्पष्ट कारण देखियोस्।

स्वचालित प्रक्रिया:  कागजात पुगे काम होस्, नपुगे अस्वीकृत होस् तर, सोर्स–फोर्सको ठाउँ कतै नहोस्।

कानुनी सर्वोच्चता:  लगानीकर्ता वा व्यवसायीप्रति शंका लागे राज्यले छानबिन गरोस्, तर इमान्दार हिसावले काम गर्ने व्यवसायीलाई ‘प्रक्रिया’ कै नाममा हतोत्साहित नगरियोस्। मेरो स्पष्ट माग छ, सरकारले लगानीकर्ताका लागि रातो कार्पेट ओछ्याउनु पर्दैन, मात्र ‘सिस्टमको ट्रयाक’ बनाइदिए पुग्छ। जब देशमा फोन हानेको भरमा होइन, फारम भरेको आधारमा काम हुन थाल्छ, तब म जस्ता हजारौँ प्रवासी नेपाली र विदेशी लगानीकर्ताहरू ढुक्क भएर नेपाल भित्रिनेछन्। प्रणाली बनाइदिनुहोस्, लगानी त आफैँ आउँछ।

यदि कसैले कम्पनी खोल्न चाहन्छ भने उसलाई स्वच्छ र डिजिटल प्रणालीमार्फत काम गर्न दिइयोस्। कागजात अधुरा भए स्पष्ट अस्वीकार गरियोस्। शंका भए कानुनी रूपमा जाँच गरियोस्। तर पहुँच, सिफारिस, दबाब र फोनको भरमा प्रणालीलाई नचलाइयोस् । यस्तो वातावरण बनेपछि कसैलाई लगानी गर्न बोलाइरहनु पर्दैन, लगानी आफैँ स्वदेश आउँनेछ। नेपालले आफैँ आफ्नो विश्वसनीयता विश्वमाझ निर्माण गर्छ।

मेरो प्रतिबद्धता– दुई वर्षमा २० हजार रोजगारी सिर्जना 

यो दृष्टिकोण केवल एउटा व्यवसायीको माग मात्र होइन, यो विदेशमा रहेका लाखौँ दक्ष नेपालीहरूको सामूहिक आवाज हो भन्ने मैले ठानेको छु । मसँग झन्डै दुई दशकको खुद्रा व्यवसाय अनुभव छ। मसँग योजना छ, क्षमता छ र दीर्घकालीन सोच छ। यदि नेपालमा तपाईंहरुले पारदर्शी र व्यवसायमैत्री वातावरण बनाउन सक्नुभयो भने म दुई वर्ष भित्रै २० हजार रोजगारी सिर्जना गर्ने गरी लगानी गर्न प्रतिबद्ध छु ।मेरो यो आग्रह कुनै व्यक्तिगत स्वार्थका लागि होइन, बरु दुई दशकको अन्तर्राष्ट्रिय अनुभव र २०,००० नेपाली परिवारलाई स्वदेशमै रोजगारी दिने एउटा ठोस प्रतिबद्धता हो। म सीप, पूँजी र २० हजार जागिर बोकेर आउँछु के राज्यले ‘डिजिटल ट्रयाक’ बनाइदिन्छ?

प्रणालीको जग बसाल्नुहोस्, देश निर्माणमा इँटा थप्न आउँछौं  

म र म जस्ता हजारौँ प्रवासी नेपालीहरू केवल ‘पर्ख र हेर’को अवस्थामा छौँ-हामीसँग पूँजी छ, प्रविधि छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, आफ्नै माटोमा केही गर्ने दृढ इच्छाशक्ति छ। म जस्ता धेरै नेपालीहरू हेरिरहेका छन्, पर्खिरहेका छन् । अब नेपालमा पहुँच होइन, पद्धति बोलून्, पारदर्शिता नै लगानीको जग होस्, साहसी नेतृत्वले पुराना र झन्झटिला ऐन–कानुनको घेराभन्दा बाहिर निस्किएर, ‘बक्स बाहिर’ सोच्ने र अलोकप्रिय भए पनि सही निर्णय लिन सक्ने राज्य संयन्त्र निर्माण गर्न सकुन् । नेपाल सम्भावनाले भरिएको देश हो। यदि राज्यले केवल ‘स्वच्छ, पारदर्शी र झन्झटमुक्त वातावरण’ को ग्यारेन्टी मात्र गरिदिने हो भने, हामी लगानी मात्र होइन, विश्वस्तरीय सीप र हजारौँको संख्यामा रोजगारी लिएर फर्कनेछौँ। रवि बालेनलाई मेरो अन्तिम अनुरोध-तपाईँहरू पारदर्शी प्रणालीको जग बसाल्नुहोस्, देश निर्माणको एउटा बलियो इँटा थप्न हामी तयार छौँ। (लेखक कार्कीले अमेरिकाको विभिन्न राज्यमा होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।) 

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्