काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को नवनिर्वाचित अध्यक्षमा सुरेन्द्रकुमार उप्रेतीले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बिहीबार बसेको नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष उप्रेतीले आफ्नो कार्यकालमा नाडालाई थप सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘हामी नाडाको विधान र मूल्य मान्यता अनुरूप व्यवसायीहरूको हकहित संरक्षण गर्न र अटोमोबाइल क्षेत्रको विकासका लागि सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य गर्नेछौँ।’

पदभार हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष चौधरीले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै उप्रेतीको नेतृत्वमा नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । बैठककै अवसरमा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २० को उपदफा १ ‘ङ’ बमोजिम कार्यसमितिमा तीन सदस्यहरू मनोनयन गरेका छन् । तीन मनोनित सदस्यहरुमा महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी रहेका छन् ।

अध्यक्षले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी योजनाहरूमा सक्रिय भूमिका खेल्न आग्रह समेत गरे । केन्द्रीय कार्यसमितिको बैठकले नाडाको अन्य पदाधिकारीहरूको चयनका लागि निकट भविष्यमै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको जारी विज्ञप्तिमा उल्लेख छ। आगामी दिनमा नीतिगत सुधार र व्यवसायीका समस्या समाधानमा नाडाले थप सुदृढ ढंगले काम गर्ने विज्ञप्तिमा भनिएको छ ।






कर्पोरेट समाचार 


















प्रतिक्रिया दिनुहोस्