Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भोजपुरमा अर्बौँको रुद्राक्ष कारोबार, एउटै दानाको मूल्य ६० लाखसम्म !

भोजपुरमा अर्बौँको रुद्राक्ष कारोबार, एउटै दानाको मूल्य ६० लाखसम्म !
विज्ञापन
Advertisement

भोजपुर। नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर, विशेषगरी दिङ्ला क्षेत्रका किसानका लागि रुद्राक्ष खेती ‘नगदे बाली’ मात्र नभई समृद्धिको बलियो आधार बनेको छ।परापूर्व कालदेखि नै धार्मिक महत्व बोकेको रुद्राक्षले अहिले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाउन थालेपछि यहाँका किसानहरूको आर्थिक अवस्थामा निकै सुधार आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अर्बौँको कारोबार, किसानलाई लाखौँको आम्दानी

रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरबाट मात्रै वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको रुद्राक्ष कारोबार हुने गरेको छ। गत वर्ष भोजपुरबाट झन्डै २१ लाख किलो रुद्राक्ष बिक्री भएको तथ्याङ्क छ। यस खेतीबाट दिङ्लाका एकै किसानले वार्षिक न्यूनतम १ लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। राम्रो गुणस्तर, आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्यधिक हुने भएकाले किसानले यसबाट पर्याप्त आर्थिक लाभ लिनसक्ने अवस्था रहेको चापागाईंको भनाइ छ ।

दुर्लभताले निर्धारण गर्छ मूल्य: २१ मुखेको ६० लाख !

रुद्राक्षको मूल्य यसको मुख (प्राकृतिक धर्सा), आकार र गुणस्तरमा भर पर्छ। व्यापारीहरूका अनुसार २१ मुखे रुद्राक्षको एउटै दानाको मूल्य ५५ देखि ६० लाख रुपैयाँ सम्म पर्छ । यस्तै, २९ मुखे रुद्राक्ष पनि निकै मूल्य पर्ने अध्यक्ष चापागाईं बताउँछन् । उनका अनुसार यो वर्ष दिङ्लामा २९ मुखे रुद्राक्ष समेत फलेको जानकारी प्राप्त भएको छ, जसलाई अत्यन्तै दुर्लभ र महँगो मानिन्छ। भोजपुरमा उत्पादित रुद्राक्षमध्ये करिब ६ लाख किलो चीन र बाँकी भारत निर्यात हुने गरेको छ। पछिल्लो समय यसको माग युरोप र अमेरिकामा पनि बढ्दो रहेको उनको भनाइ छ ।

किमाथाङ्का नाकाले फेरेको रुट

किसानका अनुसार पहिले काठमाडौं वा भारत हुँदै चीन जाने रुद्राक्ष अहिले सङ्खुवासभाको किमाथाङ्का नाका भएर सिधै तिब्बत र बेइजिङ पुग्न थालेको छ। यसबाट ढुवानी खर्चमा प्रति किलो झन्डै ४०० रुपैयाँ बचत भएको र समय पनि जोगिएको व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीलाई सुरक्षा चुनौती

रुद्राक्ष खेतीबाट राम्रो आम्दानी भए पनि किसानहरू ढुक्क भने छैनन्। बहुमूल्य दानाहरू बोटबाटै चोरी हुने र रिसइबीका कारण बोट नै काटिदिने जस्ता समस्या बढ्दै गएका छन्। ‘यसको संरक्षण, व्यवस्थित बजार र सरकारी स्तरबाट प्रवर्द्धन हुन सके भोजपुरको आर्थिक मुहार अझै फेरिने निश्चित छ,’ स्थानीय किसानहरू बताउँछन्।

भोजपुरमा १९३२ देखि रुद्राक्ष खेती सुरु भएको मानिन्छ । बालागुरु षडानन्द अधिकारीले भारतको काशीबाट बिरुवा ल्याएर दिङ्लामा रुद्राक्ष रोपेका थिए । अहिले षडानन्द नगरपालिकाका नेपालेडाँडा, कुदाकाउले, देउराली र मुलपानी लगायतका क्षेत्र रुद्राक्ष उत्पादनका मुख्य केन्द्र बनेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit