काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर देशका विभिन्न ४४ स्थानमा साताव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत्र २ गतेदेखि ८ गतेसम्म सञ्चालित यस अभियानबाट ३,००० भन्दा बढी विद्यार्थी तथा युवाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
बैंकले सातै प्रदेशका स्कुल तथा कलेजका विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा सहभागीहरूलाई
बचतको महत्व र लगानी, आधुनिक बैंकिङ प्रणाली र यसका सुविधाहरू, बढ्दो डिजिटल वित्तीय अपराध र त्यसबाट जोगिने उपायहरू तथा आधारभूत बैंकिङ अवधारणाहरु : ऋण, ब्याज र वित्तीय व्यवस्थापनका बारेमा आवश्यक जानकारी प्रवाह गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकले कोशी प्रदेशको इटहरी, विराटनगर र बिर्तामोडदेखि मधेस प्रदेशको सिमरा र जनकपुरसम्म, तथा बागमतीको पाटन र हेटौंडादेखि सुदूरपश्चिमको धनगढी र महेन्द्रनगरसम्मका ४४ स्थानमा यो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। बैंकका अनुसार कर्णालीको सुर्खेत र चामुण्डा तथा लुम्बिनी र गण्डकी प्रदेशका दुर्गम एवं सहरी क्षेत्रका विद्यार्थीहरूले पनि यसमा उत्साहजनक सहभागिता जनाएका थिए।
विगत ३२ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा पुर्याउँदै आएको नेपाल एसबिआई बैंकले यस्ता सामाजिक उत्तरदायित्व र सचेतनामूलक कार्यक्रमहरू मार्फत वित्तीय साक्षरतालाई तल्लो तहसम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्