काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन् । प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रम र संसद्मा उपस्थित नभएको र मौन बसेको भन्दै नेता पाण्डेले यसले देश र शाहकै पार्टीलाई समेत घाटा पुग्ने टिप्पणी गरेका हुन् ।
प्रधानमन्त्री कुनै व्यक्ति मात्र नभई देशकै प्रतिनिधि र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको ऐना भएको उल्लेख गर्दै पाण्डेले भने, ‘देशको प्रधानमन्त्री भनेको संसारभरिका लागि एउटा ऐना हो । देश कुन अवस्थामा छ भन्ने कुरा प्रधानमन्त्रीले नै व्यक्त गर्नुपर्छ । अर्थतन्त्र, जनताका समस्या र सरकारले अगाडि बढ्न खोजेको दिशा प्रधानमन्त्रीले स्पष्ट रूपमा राख्नुपर्छ ।’
बलियो जनमत प्राप्त प्रधानमन्त्री यसरी सार्वजनिक रूपमा आफ्ना धारणा नराखी मौन बस्नुले राम्रो सन्देश नजाने उनको तर्क छ ।‘किन डराएर, किन भागेर, किन नबोलेर बस्ने रु देशको प्रधानमन्त्री संसद्मा नबोल्ने, गणतन्त्र दिवसमा नबोल्ने, सार्वजनिक कार्यक्रममा नबोल्ने कुरा राम्रो हुँदैन,’ पाण्डेले थपे।
पछिल्लो समय चर्चामा रहेको ‘नबोलीकन काम गर्ने प्रधानमन्त्री’ भन्ने भाष्यलाई उनले नाटकीय शैलीको राजनीतिको संज्ञा दिए। यसलाई एउटा नाटकको रूप दिइएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीले जनताको माझमा आएर आफ्ना कुरा राख्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीको यो मौनताले अन्ततः राष्ट्रलाई नै नोक्सानी पुग्ने दाबी गर्दै पाण्डेले भने, ‘त्यो एउटा नाटक जस्तो बनाइएको छ । प्रधानमन्त्रीले जनताको माझमा आएर आफ्ना कुरा राख्नुपर्छ’ उनले अगाडि थपे,‘ आज जनताले उहाँलाई ल्याएका छन्, भोलि अर्को दललाई ल्याउँछन् । तर राष्ट्रलाई घाटा हुनुहुँदैन ।’ काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि बालेन्द्र शाहले गणतन्त्र दिवसको औपचारिक समारोहलाई बहिष्कार गर्दै आएका थिए ।
यसैबीच, आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवसको विशेष समारोहमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने बुझिएको छ। उक्त समारोहमा राष्ट्रपतिले मात्रै सम्बोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतलनिवासमा पत्राचार गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार गणतन्त्रको संवैधानिक प्रतीक राष्ट्रपतिको संस्था भएकाले राष्ट्रपतिबाट नै सम्बोधन हुनु उपयुक्त हुने तर्कसहित मुख्य सचिव सुमनराज अर्यालले सो पत्र बुझाएका हुन् । प्रधानमन्त्री सार्वजनिक कार्यक्रमहरूमा नबोल्ने निर्णय र उनको कार्यशैलीलाई लिएर अहिले राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी र बहस सुरु भएको छ ।

















प्रतिक्रिया दिनुहोस्